ललितपुर- नेपालमा क्यान्सर उपचारको अवस्था सुधार गर्ने उद्देश्यसहित ललितपुरमा आयोजित एक विशेष चिकित्सकीय कार्यक्रममा आधुनिक प्रविधि, सुदृढ नीति र पूर्वाधार विकासको आवश्यकता औंल्याइएको छ। ललितपुरको कुमारिपाटीस्थित थसाङ घरमा आयोजित “हेड एण्ड नेक क्यान्सर: हामी कहाँ छौं?” शीर्षकको कार्यक्रममा चिकित्सकहरूबीच ज्ञान आदानप्रदान मात्र नभई नेपालमा क्यान्सर उपचारको वर्तमान अवस्था र चुनौतीबारे गम्भीर बहस समेत भएको थियो।
यस बहसको केन्द्रमा थिए, डा. सुमन श्रेष्ठ। विश्वका प्रतिष्ठित संस्थाबाट प्रशिक्षण प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुँदैन। अझ त्यस्तो अवसरपछि विकसित देशमै बसोबास गर्ने बाटो रोज्नु धेरैका लागि स्वाभाविक विकल्प बन्छ। तर डा. श्रेष्ठले फरक बाटो रोजे।
उनले विदेशमा सिकेको ज्ञान र अनुभव नेपालमै प्रयोग गर्ने निर्णय गरे। “हामीजस्ता जनशक्ति विदेशमै बसिरह्यौं भने देशभित्र परिवर्तन कसले ल्याउने?” भन्ने प्रश्नले उनलाई फर्कायो। उनका सहपाठीहरू विभिन्न विकसित देशमा स्थापित भइसकेका छन्। तर उनी भने नेपाल फर्किए, जहाँ चुनौतीहरू धेरै छन्, तर सम्भावना पनि त्यत्तिकै छन्।
कार्यक्रमको क्रममा उनले उठाएको महत्वपूर्ण विषय थियो, साइक्लोट्रोन। क्यान्सरको पहिचान र उपचारका लागि अत्यावश्यक मानिने यो प्रविधि नेपालमा अझै स्थापना हुन सकेको छैन। यसको अभावमा आवश्यक रेडियोधर्मी पदार्थ विदेशबाट ल्याउनुपर्छ, जुन महँगो मात्र होइन, समयमै उपलब्ध नहुन सक्छ।
“यसले बिरामीलाई दोहोरो मार परेको छ, समय र खर्च दुवैमा,” उनले भने। उनले मंगोलियाको उदाहरण दिए, 'जहाँ नेपालभन्दा कम जनसंख्या भए पनि साइक्लोट्रोन स्थापना भइसकेको छ। हामीसँग आवश्यकता बढी छ, तर पहल कम।'
नीति र नेतृत्वको प्रश्न

कार्यक्रममा सहभागी सांसद तथा पूर्व मन्त्री महावीर पुनसँग डा. श्रेष्ठको पुरानो संवाद पनि स्मरणीय रह्यो। जापानमा भएको भेटमा पुनले उनलाई सोधेका थिए, “नेपाल फर्किने हो?”
उनको उत्तर थियो, “यदि देशमा साइक्लोट्रोन ल्याउने पहल हुन्छ भने किन नफर्किने?”
त्यही संवादले पछि नीतिगत तहमा पनि बहस सुरु गराएको थियो। कार्यक्रममा पुनले स्वीकारे, ;क्यान्सर उपचार सुधारका लागि प्रविधि मात्र होइन, स्पष्ट नीति र दृढ राजनीतिक इच्छाशक्ति पनि आवश्यक छ।'
सहभागी सांसद तथा पूर्व मन्त्री महावीर पुनले आफ्ना अनुभवहरू साझा गर्दै नेपालमा वैज्ञानिक प्रविधि भित्र्याउने प्रयासका सुरुवाती दिनहरू सम्झिए।
उनका अनुसार, आफू मन्त्री रहेका समयमा सचिवालयमार्फत “आणविक आविष्कार केन्द्र” भन्ने अवधारणाबारे पहिलो पटक जानकारी पाएको क्षण अझै स्मरणमा ताजा छ। त्यसबेला उनले तत्कालै सम्बन्धित विज्ञसँग भेट गर्न चाहेका थिए।
त्यही क्रममा डा. सुमन श्रेष्ठसँगको भेट भएको थियो। भेटका क्रममा उनले सम्भावनाबारे सोध्दा डा. श्रेष्ठले नेपालमै “मेडिकल साइक्लोट्रोन” स्थापना गर्न सकिने स्पष्ट धारणा राखेका थिए।
त्यो भेटपछि अर्को दिन नै आफूले सचिवालयमार्फत औपचारिक चिठी तयार गरी काम अघि बढाउने प्रयास गरेको उनले स्मरण गरे।
महावीर पुनका अनुसार, साइक्लोट्रोन केवल उपकरण होइन (यो क्यान्सर रोगको पहिचान र उपचारमा प्रयोग हुने अत्यन्त संवेदनशील रेडियोधर्मी पदार्थ उत्पादन गर्ने प्रविधि हो, जसको विशेषता यसको अत्यन्त छोटो आधा आयु हो) करिब छ घण्टा मात्र।
उनले बताए अनुसार, नेपालमा हालसम्म यस्तो प्रविधि नहुँदा आवश्यक सामग्री भारतबाट ल्याउनुपर्ने बाध्यता छ। यसले उपचार महँगो बनाउने मात्र होइन, सेवा निरन्तर पनि हुन नसकेको अवस्था छ। परिणामस्वरूप, धेरै नेपाली बिरामीहरू अझै पनि भारत जान बाध्य छन्।

उनका अनुसार, यस विषयलाई अघि बढाउन तत्कालीन अर्थमन्त्रीसँग समेत छलफल गरिएको थियो र प्रारम्भिक पहल अघि बढेको थियो। तर पछि राजनीतिक परिस्थितिका कारण आफूले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनतर्फ लाग्नुपरेपछि प्रक्रिया निरन्तर अघि बढ्न सकेन। “अब के गर्न सकिन्छ, फेरि पहलकदमी गर्नुपर्छ,” उनले भने, “यो विषय देशका लागि अत्यन्त आवश्यक छ।”
कार्यक्रममा विभिन्न विशेषज्ञ चिकित्सकहरूले आफ्नो अनुभव र चुनौतीहरू प्रस्तुत गरे। थाइराइड क्यान्सरजस्ता जटिल रोगको व्यवस्थापनदेखि मुख क्यान्सरसम्मका विषयमा छलफल भयो। तर सबैको निष्कर्ष एउटै थियो, नेपालमा क्यान्सर उपचार अझै व्यवस्थित हुन सकेको छैन।
डा. प्रभात चन्द्र ठाकुरले जटिल थाइराइड क्यान्सर व्यवस्थापनबारे प्रस्तुति दिए। उनका प्रस्तुति त्यहाँ उपस्थित नाक, कान र घाँटीका शल्यचिकित्सकहरूका लागि विशेष चासोको विषय थियो ।
युवा चिकित्सकहरूका लागि भने यो कार्यक्रम सिकाइको अवसर मात्र होइन, प्रेरणाको स्रोत पनि बन्यो। उपस्थित चिकित्सकले आयोजक र डा. प्रभातप्रति आभार व्यक्त गरे।
भक्तपुर क्यान्सर अस्पतालका नाक, कान तथा घाँटी शल्य चिकित्सक डा. सन्देश मैनालीले नेपाल सरकारको मुख क्यान्सर नीतिबारे प्रकाश पारे। आफ्ना विचार र सुझावहरू सरकार समक्ष सांसद महावीर पुनमार्फत् पुग्ने अपेक्षा व्यक्त गरे।
वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा. सुदिप श्रेष्ठले थप नेपालका क्यान्सर नीतिमा सुधार आवश्यक रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराउन सांसद पुनसँग आग्रह गरे।
नेपालमा हरेक वर्ष क्यान्सरका बिरामीहरूको संख्या बढ्दै गएको छ। तर उपचारको पहुँच अझै सीमित छ। धेरै बिरामी उपचारका लागि भारत जान बाध्य छन्। जो जान सक्दैनन्, उनीहरू ढिलो उपचार वा अधुरो उपचारमै सीमित हुन्छन्। यस सन्दर्भमा साइक्लोट्रोन जस्तो प्रविधि केवल उपकरण मात्र होइन, बिरामीको जीवनसँग जोडिएको विषय भएको डा श्रेष्ठ बताउँछन्।