काठमाडौं- सेवाग्राहीको बढ्दो चापसँगै वीर अस्पतालमा ल्याब परीक्षणका लागि स्वचालित रिपोर्ट मुद्रण प्रणाली सञ्चालनमा आएको छ।
वीर अस्पतालमा बढ्दो सेवाग्राहीको चाप तथा भीडभाड व्यवस्थापन गर्न गत सातादेखि यस्तो प्रणाली लागू गरिएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले जानकारी दिए।
‘ल्याब परीक्षणपछि रिपोर्ट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता थियो,’ निर्देशक डा. शर्माले भने, ‘त्यसलाई सहज बनाउन तथा भीड व्यवस्थापन गर्न गत हप्तादेखि स्वचालित रिपोर्ट मुद्रण प्रणाली लागू गरिएको हो।’
बिरामीले शुल्क तिरेर रगत परीक्षणका लागि दिएको बिलमा रहेको क्यूआर कोड स्क्यान गर्नेबित्तिकै रिपोर्ट प्राप्त गर्न सकिने डा. शर्मा बताउँछन्। मेसिनको प्रयोगबाट बिहान रगत परीक्षण गराएका बिरामीले सोही दिन साँझसम्म रिपोर्ट स्क्यान गरेर निकाल्न सक्नेछन्।
यस प्रणालीले रिपोर्टका लागि लामो समय लाइन बस्नुपर्ने, कुर्नुपर्ने तथा भीडभाड हुने समस्या समाधान हुनेमा आफू आशावादी रहेको उनले बताए।
वीर अस्पतालमा दैनिक करिब १५ सयभन्दा बढी बिरामी ल्याब परीक्षणका लागि आउने गरेका छन्। अब सबै बिरामीले सोही दिन मेसिनको सहयोगमा रिपोर्ट प्राप्त गर्न सक्ने उनले जानकारी दिए।
यसअघि ल्याब रिपोर्टका लागि बिरामीले कम्तीमा एक दिन कुर्नुपर्ने अवस्था थियो। अब केही रिपोर्टका लागि १–२ घन्टा कुर्नुपर्ने अवस्था समेत अन्त्य भएको छ।
यसका साथै, आगामी दिनमा बिरामीले यूजर नेम र पासवर्डका आधारमा घरबाटै पनि रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ।
भीड व्यवस्थापनका लागि सरकार, स्वास्थ्य मन्त्रालय र वीर अस्पताल प्रशासनको संयुक्त प्रयासमा यो प्रणाली लागू गर्न सम्भव भएको निर्देशक डा. शर्माले बताए।