काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले उपप्राध्यापक एवं कलेजो प्रत्यारोपण विशेषज्ञ डा. एकानन्द सिंहलाई सह-प्राध्यापक पदमा पदोन्नति (प्रमाणीकरण) गर्ने निर्णय गरेको छ। उच्च अदालत पाटनको फैसलापछि आईओएम पद प्रमाणीकरण समितिको वैशाख ७ गते बसेको बैठकले डा. सिंहलाई ११ जेठ २०८२ देखि नै लागू हुने गरी सह-प्राध्यापक कायम गरेको हो।
के थियो कानूनी विवाद?
किस्ट मेडिकल कलेजमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. सिंहले सह-प्राध्यापक पदका लागि आवेदन दिएका थिए। छनोट प्रक्रियाका क्रममा उनले अन्तर्वार्ताको कुल २५ पूर्णाङ्कमध्ये १० अंक (४० प्रतिशत) प्राप्त गरेका थिए।
विवादको मुख्य जड आईओएमको आन्तरिक कार्यविधि र त्रिविको विनियमबीचको बाझिएको प्रावधान थियो:
त्रिवि विनियम (२०७५): अन्तर्वार्तामा उत्तीर्ण हुन ४० प्रतिशत अंक ल्याए पुग्ने व्यवस्था।
आईओएम कार्यविधि (२०८०): आन्तरिक रूपमा ५० प्रतिशत अंक अनिवार्य चाहिने नियम।
आईओएमले आफ्नो आन्तरिक कार्यविधिलाई आधार मान्दै ४० प्रतिशत अंक ल्याएका डा. सिंहलाई अनुत्तीर्ण घोषणा गरेपछि यो मुद्दा अदालत पुगेको थियो।
अदालतको फैसला र आईओएमको कदम
डा. सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै गत चैत ३० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले डा. सिंहको पक्षमा फैसला सुनाएको थियो। अदालतले 'विश्वविद्यालयको प्रचलित विनियम विपरीत हुने गरी संस्थानले आन्तरिक कार्यविधि बनाउन नमिल्ने' ठहर गरेको छ।
अदालतले डा. सिंहले प्राप्त गरेको अंक सह-प्राध्यापक पदका लागि पर्याप्त रहेको भन्दै आईओएमको पुरानो नतिजा बदर गरिदिएको थियो। सोही आदेशको पालना गर्दै आईओएम डीन कार्यालयले गत वैशाख ७ गते सूचना जारी गरी डा. सिंहलाई ११ महिना अगाडिकै मिति (२०८२ जेठ ११) बाट लागू हुने गरी सह-प्राध्यापक पदमा प्रमाणीकरण गरेको जानकारी दिएको छ।