काठमाडौं- नेपाल मेडिकल काउन्सिलले बुटवल क्षेत्रको एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा एक गर्भवती महिलाको मृत्यु भएको घटना प्रति सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय टोली गठन गरिएको हो।
काउन्सिलको व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार डा. सम्राट पराजुलीको संयोजकत्वमा विशेषज्ञ टोली खटाइएको छ। टोलीमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश पाण्डे सहभागी छन्।
टोलीलाई बुटवलस्थित सम्बन्धित स्वास्थ्य संस्थाहरूमा स्थलगत अनुगमन तथा निरीक्षण गर्न, घटनाको वास्तविकता पत्ता लगाउन र विस्तृत प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ। छानबिन प्रक्रिया स्थानीय जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढाइने काउन्सिलले जनाएको छ।
घटनाले स्वास्थ्य सेवाको गुणस्तर, चिकित्सकीय आचरण तथा सुरक्षा मापदण्डप्रति गम्भीर प्रश्न उठाएको छ। काउन्सिलले दोषी भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ।