काठमाडौं- बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्य संस्थाको लापरबाही औँल्याउँदै काउन्सिलमा टेलिफोनबाट जानकारी र सञ्चारमाध्यममा समाचार आएपछि छानबिन प्रक्रिया सुरु भएको हो।
काउन्सिलका रजिस्ट्रार डा. सतिष देवका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विशेषज्ञ चिकित्सकको नेतृत्वमा एक छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ। 'हामीले यो विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएका छौँ,' डा. देउले भने, 'काउन्सिलमा घटनाका विषयमा फोन मार्फत र सञ्चारमाध्यमबाट जानकारी आएपछि हामीले प्रक्रिया अगाडि बढाउन लागेका हौं। यस विषयमा हामी छलफल गर्दै उच्चस्तरीय छानबिन अगाडि बढाउँछौं।'
भ्रुण असामान्य रहेको भन्दै एकपछि अर्को क्लिनिकमा पठाइएकी पाण्डेको मृत्युका पछाडि 'आर्थिक लाभको जालो' र 'उपचारमा गम्भीर लापरबाही' भएको आरोप लगाइएको छ।
घटनापछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ भने दुई जना चिकित्सक आफैं प्रहरीकोमा पुगेका छन्।
के थियो घटना?
मृतकका श्रीमान् प्रकाश पाण्डेका अनुसार १२ हप्ताको गर्भ रहेकी गीता नियमित परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँ भिडियो एक्स-रे गर्दा भ्रुण असामान्य देखिएको भन्दै स्वास्थ्यकर्मीले गर्भपतनको सल्लाह दिएका थिए। सोही अनुसार वैशाख ५ गते उनीहरू नर्सिङ होम पुगेका थिए, तर त्यहाँबाट उनीहरूलाई औषधि खरिद र थप प्रक्रियाका लागि 'लोकेसन कार्ड' दिएर जोनल फार्मेसीमा पठाइएको थियो।
जोनल फार्मेसीमा १६ हजार शुल्क लाग्ने भन्दै दुई हजार बैना लिएर गर्भपतनका लागि औषधि दिइएको थियो। औषधि सेवनपछि स्वास्थ्य अवस्था जटिल बनेकी गीतालाई इन्दुलेखा क्लिनिक पुर्याइएको थियो, जहाँ उनी अचेत भएकी थिइन्। अचेत अवस्थामै लुम्बिनी सिटी अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।