काठमाडौं - क्लिनिकको लापर्बाहीका कारण गर्भपतनका क्रममा महिलाको मृत्यु भएपछि खत्री नर्सिङ होमका सञ्चालक डा डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा सतिष रुपाखेती प्रहरीकोमा पुगेका छन्।
गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटना जोडिएका उनीहरु असुरक्षित महसुस भएपछि आफैं प्रहरीको शरणमा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले स्वास्थ्यखबरलाई बताए ।
‘हामीले उहाँहरुलाई नियन्त्रणमा लिएका होइनौं, असुरक्षित महसुस गरेपछि उहाँहरु आफैं हामी समक्ष आइपुग्नु भएको हो,’‘डीएसपी श्रीवास्तवले भने, 'घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
घटनापछि मंगलबार नै परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीन जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ भने आफैं सम्पर्कमा आएका चिकित्सकहरूमाथि सोधपुछ र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
के थियो घटना?
मृतकका श्रीमान् प्रकाश पाण्डेका अनुसार १२ हप्ताको गर्भ रहेकी गीता नियमित परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँ भिडियो एक्स-रे गर्दा भ्रुण असामान्य देखिएको भन्दै स्वास्थ्यकर्मीले गर्भपतनको सल्लाह दिएका थिए। सोही अनुसार वैशाख ५ गते उनीहरू नर्सिङ होम पुगेका थिए, तर त्यहाँबाट उनीहरूलाई औषधि खरिद र थप प्रक्रियाका लागि 'लोकेसन कार्ड' दिएर जोनल फार्मेसीमा पठाइएको थियो।
जोनल फार्मेसीमा १६ हजार शुल्क लाग्ने भन्दै दुई हजार बैना लिएर गर्भपतनका लागि औषधि दिइएको थियो। औषधि सेवनपछि स्वास्थ्य अवस्था जटिल बनेकी गीतालाई इन्दुलेखा क्लिनिक पुर्याइएको थियो, जहाँ उनी अचेत भएकी थिइन्। अचेत अवस्थामै लुम्बिनी सिटी अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
परिवारको आरोप र कानूनी माग
मृतकका परिवारले मुलुकी अपराध संहिता, २०७४ को इलाजसम्बन्धी कसूर अन्तर्गत कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। इजाजत प्राप्त नगरेका व्यक्तिहरूले उपचारमा संलग्न भएको र आर्थिक लाभका लागि बिरामीलाई एक क्लिनिकबाट अर्कोमा पठाउँदै गम्भीर लापरबाही गरेको उनीहरूको आरोप छ। मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। मृतक पाण्डेको ५ वर्षका एक छोरा छन्।