लन्डन - वरिष्ठ मुटु शल्यचिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ शनिबार लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गरिएको छ।
के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पुर्याउने उद्देश्यले ह्यारोस्थित ब्लु रुममा आयोजना गरेको उक्त च्यारिटीमा सांस्कृतिक प्रस्तुतिका साथै राफल ड्र र अक्सन (लिलाम बढाबढ) समेत गरिएको थियो।
काठमाडौँबाट भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गर्दै डा. भगवान कोइरालाले सन् २०१७ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालभरका बालबालिकाका लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए। उनले गएको तीन दशकमा मातृ मृत्युदर तथा शिशु मृत्युदरमा उल्लेख्य सुधार भए पनि विकसित मुलुकहरूको तुलनामा नेपालमा बाल मृत्युदर अझै उच्च रहेको उल्लेख गरे।
उनले गुणस्तरीय मात्र होइन, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यले नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको जनाए। उनले विगत तीन वर्षदेखि कोशी प्रदेश अन्तर्गत दमकमा बाल अस्पताल सञ्चालन भइरहेको र काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, हेपाली हाइटमा केन्द्रीय अस्पताल निर्माणाधीन रहेको जानकारी दिए। उनले अस्पताल निर्माणमा सघाइरहेका एनआरएन लगायत सबै संघसंस्थालाई हार्दिक धन्यवाद पनि दिए।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले बाल स्वास्थ्य सुधारका लागि थुप्रै लगानी र कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थजस्ता संस्थाहरूले देशका विभिन्न भागमा बालबालिकाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको प्रयास प्रशंसनीय रहेको बताए। उनले प्रवासमा बसेर नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याइरहेका युके लगायत संसारभरका नेपालीहरूलाई धन्यवाद समेत दिए।
कार्यक्रममा डा. सुदर्शन गुरुङले लोकप्रिय गीतहरू गाएका थिए भने कलाकारहरू डा. प्रतिष्ठा त्रिपाठी, कविता रानामगर, दीप्ति खोजु, अरिशा शाक्य र आइशा मोक्तानले नृत्य प्रदर्शन गरेका थिए।
सो अवसरमा कीर्तिमानी पर्वतारोही हरि बुढामगर, के-पाल्स युकेका सल्लाहकार डा. डेभिड स्टोनहाउस, एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर (वा राजेन्द्र पुडासैनी) लगायतका वक्ताहरूले शुभकामना दिएका थिए।
सहभागीहरूलाई स्वागत गर्दै के–पाल्स यूकेका ट्रष्टी डा. दुर्गा सिग्देलले बेलायतमा च्यारिटीका रूपमा दर्ता भएको के–पाल्स यूकेले आर्थिक तथा चिकित्सकीय उपकरणका साथै नेपालका डाक्टर, नर्स र अन्य जनशक्तिलाई प्रशिक्षण तथा सीप हस्तान्तरणको काम गरिरहेको जानकारी दिए। अर्का ट्रष्टी शिवजी श्रेष्ठले प्रायोजक लगायत सबैलाई धन्यवाद दिए।
के–पाल्स यूकेकी ट्रष्टी तथा एनआरएनए आइसीसीकी सचिव प्रसुना कँडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गर्ने लक्ष्यसहित के–पाल्स यूके स्थापना गरिएको उनले बताइन्।