काठमाडौं– सरकारले चितवनमा जापानीज इन्सेफलाइटिस विरुद्ध खोप अभियान सञ्चालन गरेको छ।
गत चैत २५ गतेदेखि चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिका वडा नं. १९ मा गरी करिब २७ देखि ३० हजार आसपासको जनसंख्यालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिएको हो।
जोखिम बढी भएका स्थानमा थप संक्रमण नफैलियोस् भन्ने लक्ष्यका साथ चितवनमा जापानीज इन्सेफलाइटिसको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन्।
उनका अनुसार पछिल्लो ५ वर्षको तथ्यांक विश्लेषण गर्दा जापानीज इन्सेफलाइटिसको संक्रमण सबैभन्दा बढी देखिएको नवलपुरपछिको दोस्रो स्थानमा चितवन पर्छ। चितवनको माडी र भरतपुर-१९ मा बढी संक्रमण देखिएकाले त्यहाँ अभियान सञ्चालन गरिएको उनले बताए। यसअघि नवलपुरमा यो अभियान सम्पन्न भइसकेको छ।
३० वर्षभन्दा माथिका सबै तथा खोप लगाउन छुटेका १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो। जापानीज इन्सेफलाइटिसको संक्रमण असारदेखि असोजसम्म बढ्ने भएकाले त्यतिबेलासम्म खोप लगाएर तयारी अवस्थामा रहन सके जोखिम कम हुने डा. गौतमको दाबी छ।
संक्रमण उच्च देखिएका ३ जिल्लाको स्थिति
नवलपरासी: सन् २०२२ मा ७ जना, २०२३ मा १३ जना, २०२४ मा ३ जना र २०२५ मा १५ जनामा संक्रमण देखिएको थियो।
चितवन: सन् २०२२ मा ११ जना, २०२३ मा ६ जना, २०२४ मा ४ जना र २०२५ मा १६ जनामा संक्रमण देखिएको खोप शाखाले जनाएको छ।
कैलाली: जापानीज इन्सेफलाइटिसको संक्रमण बढी देखिएको तेस्रो जिल्ला कैलालीमा सन् २०२२ मा ३ जना, २०२३ मा २ जना, २०२४ मा ९ जना तथा २०२५ मा १० जनामा संक्रमण देखिएको थियो।
मृत्यु हुनेको संख्या
नवलपरासीमा सन् २०२२ मा ४ जना, २०२३ मा ३ जना र २०२५ मा ६ जनाको मृत्यु भएको थियो। सन् २०२४ मा भने यहाँ कसैले पनि ज्यान गुमाउनु परेन।
चितवनमा सन् २०२२ र २०२३ मा संक्रमणका कारण मृत्यु भएको तथ्यांक छैन। तर, २०२४ मा १ जना र सन् २०२५ मा ५ जनाको मृत्यु भएको खोप शाखाले जनाएको छ। त्यस्तै, कैलालीमा सन् २०२३ मा १ जना, २०२४ मा ३ जना तथा २०२५ मा २ जनाले यस रोगका कारण ज्यान गुमाएका थिए।
कुन प्रदेशमा कति?
सन् २०२५ मा देशभरका ४५ जिल्ला र ११९ स्थानीय तहमा जापानीज इन्सेफलाइटिसको संक्रमण देखिएको थियो। कोशी प्रदेशका ६ जिल्ला, गण्डकीका ७ जिल्ला, लुम्बिनीका ११ जिल्ला, कर्णालीका ३ जिल्ला र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका विभिन्न स्थानीय तहहरूमा संक्रमित भेटिएका छन्।
के हो जापानीज इन्सेफलाइटिस?
जापानीज इन्सेफलाइटिस भाइरसका कारण लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक संक्रामक रोग हो। सुँगुर, हाँस जस्ता जनावरलाई टोकेको 'क्युलेक्स' नामक लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्छ। यो रोग विशेषगरी कृषि पेसामा संलग्न मानिसहरूमा बढी देखिने गर्छ।
यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ। संक्रमण भएपछि कडा ज्वरो आउने, घाँटी कडा हुने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षणहरू देखा पर्छन्।
कसरी जोगिने?
खोप लगाउने।
लामखुट्टेको टोकाइबाट बच्ने (झुलको प्रयोग गर्ने, झ्याल-ढोकामा जाली लगाउने)।
साँझ र बिहानीपख बाहिर निस्कँदा शरीर पूरै ढाक्ने गरी लामो बाहुला भएको लुगा लगाउने।
घर वरिपरि खाल्डाखुल्डीमा पानी जम्न नदिने।
सुँगुर, बंगुर र पन्छी पाल्ने ठाउँलाई घरभन्दा टाढा र सफा राख्ने।
लामखुट्टे भगाउने धुप वा क्रिमहरू प्रयोग गर्ने।
यदि कडा ज्वरो आउने, टाउको दुख्ने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ।