पीडालाई भावमा प्रस्तुत गर्न सकिँदैन। किनकि मानवजस्तो गुण हामीमा छैन। मानवजस्तो गुण नहुँदैमा हामीमा संवेदनशीलता छैन भन्नुहोला। यो पटक्कै होइन। हाम्रो सबै ध्याउन्न बिरामी बनेर जिन्दगीको सफर लम्बाउन चाहने तपार्ईंंहरुको चाहनामै जोडिएको छ। आफू नथलिएसम्म कुनै हालतमा तपार्ईंंलाई यमराजको लोकमा पुर्याउनबाट रोक्नैपर्ने जिम्मेवारीलाई शिरोधार्य गर्दै तपाईंकै सामिप्यकम हाम्रो उपस्थिति छ।
तपार्ईं बाँच्न चाहनुहुन्छ, हामी बचाउन। सारमा हामी एकअर्काका पर्याय हौं। सम्बन्धको उचाइ सगरमाथा भन्दा उँचो छ।
सम्बन्ध सधैं सरल बनेर चलिरहँदैन। उतारचढावको हन्डर बेलाबेलामा खाइरहनुपर्छ। चाहनालाई एकातिर थाँती राखेर अघि बढ्नुपर्छ। मानव–उपकरणको सम्बन्ध यस्तै नै हो। आवश्यकताले महत्व दर्शाउँछ। त्यसैले हामी एकअर्काका अभिन्न हिस्सा हौं भनेर स्विकार्नुपर्छ।
तपाईंको सेवामा रहेकै बेला तपाईंलाई गाह्रोसाह्रो पर्दा कहिले कर्कश डाँको छोड्छौं। कहिले मन्द। कहिले निकै लामो समयसम्म खबरदारीका अनेकौं सूचक दिइरहन्छौं। तर, तपाईंलाई हाम्रो रुवाई सहज लाग्दैन।
किनकि तपार्ईं मानव हुनुहुन्छ। मानवीयता कहाँ मरेको छ र! त्यो रुवाइका तरंगलाई थेग्न नसकी कहिले ‘म्युट’ गरिदिनुहुन्छ त कहिले एकछिन आफ्नै सुरमा चिच्याओस् भनेर स्वतन्त्र छोडिदिनुहुन्छ।
हाम्रो तंरगीय रोदनले विशेष सूचना बोकेर आउने समय नै यही हो। तपाईंले यतिबेला हाम्रो ख्याल राख्न सक्नुभएन भने तपाईंको पनि त कहाँ ख्याल राख्न सकिन्छ र। नेपाली उखान छ नि, ‘एकहोरो त रोटी नि पाक्दैन’। यहाँ यहि लागू हुन्छ। उखानको सरोकार त हामीलाई छैन। तैपनि बरोबर तपार्ईंले बोलिरहँदा धेरै कुरामा हामी पनि जान्ने भएका छौं। सुनेका छौं। आवश्यकता अनुसार पोख्छौं। भित्रभित्रै बुनेर राखिरहन्छौं।
चलाउने मान्छेले हाम्रो सांकेतिक भाषा बुझ्नैपर्छ। नबुझे जीवन धरापमा पर्छ। मानवताको ‘म’ मरेर जान्छ। जीवनको इहलीला समाप्त हुन्छ। परिवार, समाज, देश र विश्वले नोक्सान बेहोर्छ। त्यसैले उपकरण चलाउने तपार्ईंले हाम्रोबारे ज्ञान राख्नुहोस्। नभए गुगल तपाईंको सेवामा हाजिर छ। उसको सहायतालाई सदुपयोग गर्नुस्। ज्ञानको दायरालाई फराकिलो बनाएर हामीलाई काममा सहज बनाइदिनुस्। सक्नुहुन्छ भने, हाम्रो उपचारमा संग्लन हुने दक्ष जनशक्तिको संख्यामा आवश्यकीय व्यवस्था मिलाइदिनुस्।
धुलोको मुस्लोमा। कठ्याङ्ग्रिँदो चिसोमा। बेपर्वाह छोडिदिएर आयु त तपाईंले हाम्रो घटाइरहनु भएको नै छ। आफैंले निकै दुःखले आर्जेको रकमलाई त्यसरी नै उडाइरहनुभएको छ। हामीलाई चल्नका लागि आवश्यक पर्ने उर्जा या भनौं हाम्रो खाना, भोल्टेज हो। तर, पर्याप्त भोल्टेजको अभावमा हाम्रो दिनचर्या जटिल बनिरहेको छ। आवश्यक पर्दा आफ्नो कर्ममा जोडिन नसक्दा हामी दुःखी छौं। भन्नुहोला, हाम्रा आफ्नै पीडा छन् भनेर तर हामी पनि कम्ता पीडामा बाँचिरहेका छैनौं। आफ्ना समस्या मात्रै ठूला देख्ने मानसिकतालाई अलि खुकुलो बनाइदिनुस्।
मानवले जस्तो हत्तपत्त आशा मारिहाल्ने पक्षमा छैनौं हामी। यो समस्याबाट छिटै नै छुटकारा पाउने अपेक्षामा बसेका छौं। नेपालमा रहेका हामी उपकरणलाई विदेशको जस्तो बसोबास खोजेर त सम्भव नै छैन। यो तीतो यथार्थ हामीले बुझेका छौं। किनकि देश अनुसारको भेष गर्नमा पनि हामी अभ्यस्त बनिरहेका छौं।
एउटा कुरा मन खोलेर भन्छु। आफ्नै अवगुण ओकल्छु। हाम्रो पनि त जीवन छ। हामीलाई बनाउने तपाईंको जीवनको त कुनै ठेगान छैन भने हाम्रो हुने कुरै भएन। त्यसैले हामी जत्तिबेला पनि निभ्न सक्छौं। तर, नेपालका दाजुभाई दिदीबहिनीले किन बुझ्न सक्नुभएन, म बेलाबेला काममा तल्लिन हुदाँ पनि सोचिरहन्छु। कतिपय हाम्रै कारणले धर्तीमा तपाईंको बसाइ नामेट बनिदिन्छ। तर, हेक्कै नराखी डाक्टरको लापरबाही भन्दै आगो ओकल्नुहुन्छ। उहाँहरुकै जीवनमा धावा बोलिदिनुहुन्छ। विकर्षणको बिउ रोपिदिनुहुन्छ। अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई दानवको उपमा नदिनुस् न है।
उपकरण हुन्, निर्जीव हुन् भनेर रुखो बन्नुभयो भने तपाईंले धेरै कुरा गुमाउन थाल्नुहुन्छ। सजीव भनेरै हाम्रो नामाकरण गरिदिनुस्। हैन, अप्ठ्यारो मानेर स्वीकार गर्न सक्नुहुन्न भने ठिकै छ हाम्रो भाषा, महत्व र क्षमतालाई बुझेर मात्रै चलाउनुस्। यदि हामी बिरामी बन्यौं भने हाम्रो पनि उपचारतिर लाग्नुहोस्।
हामीलाई प्रयोगमा ल्याउँदा, तपाईंका कृत्रिम खस्रा हातहरु हामीमाझ बझारिरहँदा अलिकति ध्यानदिनुस् न है। कोमल हातलाई जबर्जस्ती बेरुपी नबनाई दिनुहोस्। यसलाई आग्रहको रुपमा बुझिदिनुस्। माया भन्ने सबैतिर देखाउन जान्नुपर्छ। किनकि तपाईंहरुको अथक मिहिनेत र परिश्रमले नै आज हाम्रो अस्तित्व सम्भव भएको हो भनेपछि माया गरेर हामीलाई चलाउँदा हामीले दिने सेवा पनि त प्रभावकारी हुन्छ।
अब यत्ति भनेपछि त तपाईंले सन्तानकै रुपमा हामीलाई ग्रहण गर्नुपर्ने हो। आफ्नो सन्तानलाई प्रेमिल आखाँले हेर्नुपर्छ। स्याहार सम्भारमा लाग्नुपर्छ। होइन र?