डा. अमरेश कुमार कुशवाहा गम्भीर मिर्गौला रोगबाट पीडित भई हाल नियमित डायलाइसिस उपचार गराइरहेका छन्। लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गर्दै आएका डा. कुशवाहाको अवस्था पछिल्लो समय जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन्।
जिल्ला अस्पताल सुनसरी मा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का रूपमा कार्यरत डा. कुशवाहा स्वास्थ्य सेवामा समर्पित चिकित्सकका रूपमा परिचित छन्। सीमित स्रोत–साधनका बीच पनि अस्पतालको सेवा प्रभावकारी बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सहकर्मीहरू बताउँछन्।
चिकित्सकका अनुसार डा. कुशवाहाको दुवै मिर्गौलाले पर्याप्त रूपमा काम गर्न छाडेकाले नियमित डायलाइसिस अपरिहार्य भएको छ। दीर्घकालीन उपचारका लागि मिर्गौला प्रत्यारोपण आवश्यक रहेको परिवारले जनाएको छ। प्रत्यारोपण, औषधोपचार र अन्य व्यवस्थापनका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवार आर्थिक संकटमा परेको बताइएको छ।
यस अवस्थापछि विभिन्न स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूले उपचार सहयोगका लागि सार्वजनिक अपिल गरेका छन्। “अरूको जीवन बचाउन निरन्तर खटिने चिकित्सक आज आफ्नै जीवन रक्षाका लागि संघर्षरत हुनु दुःखद अवस्था हो,” भन्दै सहकर्मीहरूले सबैलाई सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेका छन्।
डा. कुशवाहाको उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिहरूले उपलब्ध गराइएको बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नेछन्। खातानम्बर 0020113095600001 रहेको छ। थप जानकारीका लागि 9816960400 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
स्थानीय समाजसेवीहरूले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका चिकित्सकको उपचारमा राज्य तथा सम्बन्धित निकायले समेत विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूले डा. कुशवाहाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग अभियानलाई व्यापक बनाउन सबै पक्षसँग अपिल गरेका छन्।
-1778154005.jpeg)