राजविराज- ‘पति मात्रै होइन, छोराछोरी सबै रोगी भए। होस गुमाएर जहानै घर छोडेर हिँड्न थालेपछि कसरी मन थामेर बसेकी हूँला?’ राजविराज ४ की ४० वर्षीया रामपरीदेवी शर्मा गहभरि आँसु बोकेर वेदना सुनाउँछिन्, ‘न मार्न सक्छु न मर्न।’
रामपरीका पति ४५ वर्षीय गणेश, छोरा २२ वर्षीय मनोज र छोरीहरु १९ वर्षीया पुनमकुमारी र १७ वर्षीया कोशिलाकुमारी ‘सिजोफ्रेनिया’बाट ग्रस्त छन्। ६ वर्षअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा आयोजित स्वास्थ्य शिविरमा जाँच गर्दा उनीहरूलाई सिजोफ्रेनिया भएको पुष्टि भएको थियो। वीरगन्ज मेडिकल कलेजका नसा तथा मानसिक रोग विशेषज्ञ भरतकुमार गोइतले उनीहरुलाई जाँच गरेका थिए।
गोइतका अनुसार वंशाणुगत रूपमा सर्ने यो रोग अत्यन्त जटिल प्रकारको मानसिक रोग हो। विश्वका करिब एक प्रतिशत मानिसमा पाइने यो रोग नेपालमा एक दशमलव ५ प्रतिशतभन्दा बढी व्यक्तिमा पाइएको छ। ३३ प्रतिशतसम्म रोगी मात्र उपचारपछि ठिक हुने गरेको उनी बताउँछन्।

रामपरीका श्रीमान् गणेश शर्मा
डा गोइतले नै सिफारिस गरेको औषधि उनीहरूले केही समय नियमित सेवन गरे। औषधि सकिएपछि रामपरी अन्योलमा परिन्। जानेबुझेका छिमेकीको सल्लाह अनुसार चारै जनालाई भारतको सिलिगुडी लगियो। मानसिक रोग विशेषज्ञ डा च्याङले जाँच गरेर औषधि दिए। थप उपचार र औषधिका लागि खर्चको अभाव देखिएपछि फेरि सिलीगुडी जाने हिम्मत उनमा आएन।
‘सम्पत्तिको नाममा एउटा झुप्रोबाहेक केही छैन, अर्काको घरमा काम गरेर कमाएको पैसाले कति दिन धान्नु?’ रामपरी बिलौना गर्छिन्।

जेठी छोरी कोशिलाकुमारी
सिलिगुडीबाट आएपछि उनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार सुरु गरिन्। २०७४ भदौ २१ गतेदेखि उनीहरुले त्यहीँको औषधि सेवन गरिरहेका छन्। ‘औषधि छुट्ला कि भन्ने चिन्ताले सताउँछ,’ उनले भनिन्, 'कहिलेसम्म औषधि खुवाइरहनुपर्ने हो, रोग निको हुन्छ कि हुँदैन भन्ने पीर लागिरहन्छ।'
आर्थिक अवस्था निकै कमजोर शर्मा परिवारको। रामपरीका पति लोहारको काम गर्छन्। ‘मुड चलेको बेला २/४ सय कमाउनुहुन्छ, नत्र दिनभर के गर्नुहुन्छ र कहाँ जानुहुन्छ ठेगान हुँदैन,’ उनी सुनाउँछिन्।

कान्छी छोरी पुनम
उनी पनि मासिक ६ हजार रुपैयाँ पाउनेगरी काम गर्छिन्। तर, अधिकांश समय परिवारको स्याहार–सुसारमै व्यस्त हुनुपर्ने भएकाले महिना मर्दा मुस्किलले २ हजार हात पर्ने बाध्यता उनको छ।
करिब ५ धुर जग्गामा बनेको झुप्रोमा जीवनयापन गर्दै आएका उनीहरूको दैनिक गुजारासमेत कठिन छ। रामपरीका अनुसार छोरा मनोज मानसिक रूपमा पूर्ण अशक्त छन्।

छोरा मनोज
‘पछिल्लो समय रोगले च्याप्दै लगेको छ, कहिलेकाहीँ त कपडा खोलेर बजारमा हिँडेको सुन्नुपर्छ,’ उनले भनिन्, 'इज्जत बचिहाल्छ कि भनेर कति दिन त हातमा कपडा बोकेर छोरो खोज्दै बजारमा भौंतारिएकी छु। अब त सम्हाल्नै नसक्ने गरी बिग्रियो।’
कपडा खोलेर हिँड्ने र दिसापिसाब ओछ्यानमै गर्नेबाहेक पुनमको अवस्था पनि दाजुको भन्दा फरक छैन। पति र छोरी कोशिलाकुमारी केही सामान्य छन्। उनीहरूको समेत बेलाबखत सोच्ने, कुरा गर्ने र काम गर्ने कुरामा एकरूपता छैन।

शर्मा परिवारको झुपडी
उपचारका लागि पैसा नहुँदा यतिबेला रामपरीलाई चिन्ता थपिएको छ। 'अब त बिहान-बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेको छ,' उनले गुनासो गरिन्, 'भएको घडेरी र झुप्रो पनि बेचिदिऊँ भने सद्दे भएकालाई पनि कहाँ लगेर थन्क्याउनु।'