स्वास्थ्य र शिक्षाको हब बन्दै गएको नेपालगन्ज उपमहानगरपालिकामा सरकारी र निजी स्तरमा खुलेका स्वास्थ्य संस्थाले उपचार र प्रविधिमा दिनदिनै फड्को मारिरहेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, भेरी अञ्चल अस्पतालका साथै हाड जोर्नी, प्रसूति, नाक कान, घाँटी, आँखा, छाला, बालबालिका र टिबी लगायत थुप्रै अस्पतालले प्रदान गर्ने उपचार सेवाले नेपालगन्जमा बिरामीको चाप बढ्दो छ। यहाँ नेपालका मात्र होइन भारतबाट समेत बिरामीहरु उपचार गर्न आउँछन्।
स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको हब बनिरहेको नेपालगन्जमास्वास्थ्य क्षेत्रको विकास र विस्तारका काम के भइरहेका छन् तथा उपमहानगरपालिकाले कस्ता योजना अघि सारेको छ भन्ने विषयमा उपमहानगरपालिका प्रमुख डा धवल सम्सेर राणासँग कृष्ण अधिकारीले गरेको कुराकानीः
नेपालगन्जको स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि उपमहानगरपालिकाले कस्ता योजना अगाडि सारेको छ ?
उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई महत्व दिएको छ । नगरबासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सर्वप्रथमतः नगरक्षेत्र सफा र हराभरा हुनुपर्छ । नगरक्षेत्रको फोहरमैलाको व्यवस्थापनका लागि थप साधन–स्रोत र जनशक्तिको व्यवस्था मिलाएको छु।
अझै पनि नेपालगन्ज उपमहानगरपालिका खुल्ला दिशामुक्त क्षेत्र हुन सकेको छैन । नेपालगन्जलाई ३ महिनाभित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा हामी लागेका छौं ।
नगरक्षेत्रको सरसफाइका लागि मुख्य क्षेत्रमा डस्टबिन राख्ने, प्रदुषण घटाउने र खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गरेर नगरबासीलाई स्वस्थ बनाउन पहल गर्ने योजना अगाडि सारेका छौं ।
त्यसैगरी, नेपालगन्जको राँझा चोकदेखि जमुनाहासम्मको चार लेन सडकको ग्रिन बेल्टमा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर वृक्षारोपण गरी मुख्य सहर क्षेत्रमा हरियाली बढाउन लागिपरेको छु।
नगर क्षेत्रमा रहेका विभिन्न सडकको मर्मतसंहार, स्तरोन्नति र कालोपत्रे गरेर सहरी क्षेत्रलाई क्रमशः धुलोमुक्त गराउने योजना अगाडि बढाएको छु । करिब ३ अर्ब ७० करोडको लागतमा करिब ६० किलोमिटर सडक मर्मतसंहार, स्तरोन्नति र कालोपत्रे गर्ने योजना छिट्टै सुरु हुँदैछ । सहर हरियाली भयो र धुलुधुवाँ नियन्त्रण गरियो भने त्यसको फाइदा सरहबासीको स्वास्थ्यमा पर्नेछ ।
विगतमा नेपालगन्जमा हैँजा समेत फैलिएको थियो । नगरक्षेत्रमा वितरण गरिने खानेपानीको गुणस्तर कायम राखी पानीजन्य रोग हुन नदिन पहल सुरु गरेको छु ।
बोर्ड बैठकबाट स्वास्थ्यका क्षेत्रमा के–के योजना ल्याइयो त ?
नेपालगन्ज उपमहानगरपालिकाका सहरी क्षेत्रका बासिन्दालाई सहज रुपमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उपमहानगरपालिकाका थप ३ वटा वडामा सहरी स्वास्थ्य केन्द्रहरु निर्माण गर्दैछौं। सहरी स्वास्थ्य केन्द्रका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र बजेटको व्यवस्था मिलाउनेछौं ।
त्यसैगरी, सरकारी स्तरबाट सञ्चालित भेरी अञ्चल अस्पतालको भौतिक पूर्वाधारमा सुधार र नयाँ पूर्वाधार निर्माणका लागि आवश्यक पहल भइरहेको छ । गर्भवती चेकजाँचका साथै बाल तथा मातृ मृत्युदर कम गर्नका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढेका छौं ।
उपमहानगरका निजी अस्पताल र स्वास्थ्य संस्थाको व्यवस्थापन कसरी गर्दै हुनु हुन्छ नि ?
नेपालगन्जका निजी अस्पताल तथा निजी स्वास्थ्य संस्थासँग सहकार्य गरेर उपमहानगरपालिकाले उनीहरुको सेवालाई थप प्रभावकारी बनाउनका पहल गर्नेछ । अनुगमनलाई प्रभावकारी बनाएर मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई निश्चित समय दिएर मापदण्ड पूरा गर्न लगाउँछौं । अनेकौं बहाना बनाएर बिरामीसँग चर्काे शुल्क लिने र बिरामी ठग्ने कार्यलाई रोक्ने हाम्रो योजना छ ।
सरकारी स्वास्थ्य संस्थामा औषधि हँुदैन भन्ने जनताको गुनासो छ ?
सरकारी स्बास्थ्य संस्था त्यसमा पनि सहरी स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन नदिन बजेटको व्यवस्था गरेका छौं। स्वास्थ्यकर्मीहरुको हेलचेक्राइँ तथा साधन–स्रोतको अभावका कारण नगरबासीले आधारभूत तहको स्वास्थ्य सुविधा नपाउने अवस्था अब हुनेछैन।
नेपालगन्जको प्रमुख समस्या भनेको सरसफाइ, ढल निकाश र डुबान हो । यी समस्या सामाधानका लागि कस्तो योजना अगाडि सार्नु भएको छ ?
स्वास्थ्यका लागि मुख्य चुनौती भनेकै फोहरमैला हो । फोहरमैला व्यवस्थापनका लागि जनचेतना अभिवृद्धिसँगै साधन–स्रोत र जनशक्ति बढाएका छौं ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि हामीले हिरमुनियामा आफ्नै डम्पिङ साइड निर्माण गरिरहेका छौं । करिब १० बिघा क्षेत्रमा निर्माण भइरहेको डम्पिङ साइडलाई थप व्यवस्थित गर्नका लागि हामीले तत्कालै थप १९ कट्ठा जग्गा थप्दै छौं । २०७५ असार मसान्तभित्रै डम्पिङ साइड सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । डम्पिङ साइड सञ्चालन सुरु भएसँगै सहरको फोहरमैला धेरै हदसम्म व्यवस्थापन हुन्छ ।
विगत ४–५ वर्षदेखि नै ढल निकाशका संरचनाहरु निर्माण र सडक विस्तारका क्षेत्रमा काम भइरहेको छ । अबको २ वर्षपछि नेपालगन्जको सरसफाइ, ढल निकाश र डुबानको समस्यामा धेरै सुधार हुन्छ ।
वडाहरूमा स्वास्थ्यको कस्तो अवधारणा लागू गर्दै हुनुहुन्छ ?
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडा कार्यालयमा आवश्यक बजेट पठाइसकेका छौं ।प्रत्येक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था संचालन गर्ने अवधारणाका साथ अगाडि बढेका छौं ।
उपमहानगरपालिकाका ६ वटा वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भइसकेका छन् । आवश्यकताका आधारमा क्रमशः सहरी स्वास्थ्य केन्द्र थप्दै जाने लक्ष्य राखेका छौं ।
संविधानले स्थानीय तहमा स्वास्थ्यलाई दिएको अधिकार पर्याप्त छ त ?
अहिलेसम्म हेर्दा संविधानले स्वास्थ्यको क्षेत्रमा दिएको अधिकार पर्याप्त नै देखिन्छ । हाम्रो पहिलो काम भनेको संविधानले दिएका अधिकारको प्रयोग गरी सहज रुपमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हो । अबको हाम्रो प्रयास त्यसैतर्फ केन्द्रित हुनेछ ।