काठमाडौं– कलेजो प्रत्यारोपणमा पहिलो हुने दौडमा लागेको भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र धरमराउने अवस्थामा पुगेको छ। अस्पतालका निर्देशक डा पुकारचन्द्र श्रेष्ठका कारण केन्द्रबाट प्रत्यारोपण विज्ञहरु बाहिरिन थालेका छन्। यसै क्रममा प्रत्यारोपण विज्ञ डा छेतेन योञ्जन तामाङले केन्द्र छाडेकी छिन्।
केही दिनअघि नै राजीनामा दिएकी डा छेतेनले बुधबार औपचारिक रुपमा बिदा लिएकी हुन्। केन्द्र छाडेपछि चितवन मेडिकल कलेज भरतपुरमा आबद्ध हुन लागेको उनले जानकारी दिइन्। केन्द्र छाड्नुको कारण भने उनले खुलाउन चाहिनन्।
केन्द्रका निर्देशक डा श्रेष्ठका कारण डा छेतेनले केन्द्र छाडेको अस्पतालका एक चिकित्सक बताउँछन्। ती चिकित्सकका अनुसार, प्रत्यारोपण सिकेर आएकी डा छेतेनले सेफ ल्यान्डिङ लागि मात्र चितवन मेडिकल कलेज रोजेकी हुन्।
पढ्नुस् 'अनियमितता शृंखला- १'-
मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सलाई ‘डाक्टर बनाएर’ निदानमा ओपिडी र ल्याब जाँच
‘प्रत्यारोपण विज्ञमाथि निर्देशकज्यूको अनावश्यक हस्तक्षेप र कामको जस आफू मात्रै लिन खोज्ने बानीका कारण धेरै डाक्टरहरु आजित छौं। डा छेतेनको पनि यसमै चित्त दुखाइ हुन सक्छ’, अस्पतालका एक डाक्टरले भने, ‘अन्यथा नेपालमा कलेजो प्रत्यारोपण गर्ने सपनासहित तालिम लिएकी डा छेतेनले तत्काल त्यसको सम्भावना नै नरहेको चितवन मेडिकल कलेज जानुको कारण अरु के हुन सक्छ?’
जसले टारेकी थिइन् केन्द्रको दुर्घटना
मानव अंग प्रत्यारोपण केन्द्रमा गत वर्ष मंसिर २२ गते कोरियन डा डेबिड कोनको नेतृत्वमा २० जनाको टोलीले भक्तपुरका ३६ वर्षीय बलराम नागामा कलेजो प्रत्यारोपण गरेका थिए। करिब ८ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको थियो। बिरामी नागालाई उनकै दिदीले कलेजो दान गरेकी थिइन्।
उक्त टोली नेपालमा ल्याउन केन्द्रकै डाक्टर प्रवीण जोशीले महत्वपूर्ण भूमिका खेलेका थिए। दक्षिण कोरियाबाटै कलेजो प्रत्यारोपणमा तालिमप्राप्त डा जोशीको विश्वासमा आएको कोरियाली चिकित्सक टोली कलेजो प्रत्यारोपण गरेर फर्किएको थियो। तर, केन्द्रका निर्देशक डा श्रेष्ठले पहिलो कलेजो प्रत्यारोपणमा भूमिका खेलेका डा जोशीलाई ‘बाइपास’ गर्न थाले। डा श्रेष्ठले आफूलाई नै प्रत्यारोपण विज्ञका रुपमा प्रस्तुत गर्न थाले।
प्रत्यारोपणको जस लिए पनि डा श्रेष्ठले प्रत्यारोपणपछि आवश्यक पर्ने अन्य तयारी भने गर्न सकेनन्। त्यसले गर्दा कलेजो प्रत्यारोपण गराएका बिरामीमा जटिलता देखिएको थियो। बिरामीको अवस्था नाजुक बन्दै गएपछि डा जोशीसँग सहयोग लिनुको साटो उनले काठमाडौं मेडिकल कलेजमा काम गरिरहेकी प्रत्यारोपण विज्ञ डा छेतेनलाई गुहारेका थिए।
डा छेतेन तुरुन्तै केन्द्रमा पुगेर पुनः बिरामीको शल्यक्रिया गरेकी थिइन्। जसले गर्दा सम्भाव्य दुर्घटना टरेको थियो। त्यसपछि डा श्रेष्ठले डाक्टर छेतेनलाई केन्द्रमै काम गर्न आग्रह गरेका थिए। केन्द्रमा आबद्ध भएको एक वर्ष नबित्दै उनी बाहिरिएकी छिन्।
डा छेतेनले पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन्। भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)बाट जनरल सर्जरीमा एमडी गरेकी उनले मेदान्त द मेडिसिटीबाट कलेजो प्रत्योरोपण सम्बन्धी साढे दुईवर्षे कोर्स गरेकी छिन्।
अलपत्र पर्दै छ प्रत्यारोपण
केन्द्रले कलेजो प्रत्यारोपण थालेको एक वर्ष दुई महिना भएको छ। तर, यस बीचमा मुस्किलले दुई वटा प्रत्यारोपण मात्रै गर्न सकेको छ। तेस्रो प्रत्यारोपणको तत्काल कुनै सम्भावना नरहेको त्यहीँ कार्यरत डाक्टरहरु बताउँछन्।
नाम उल्लेख नगर्ने सर्तमा एक डाक्टर भन्छन्, ‘अर्को प्रत्यारोपणका लागि कुनै बिरामी तयार गरिएको छैन। त्यसैले तत्काल प्रत्यारोपणको सम्भावना छैन।’
आफूलाई प्रत्यारोपण विज्ञका रुपमा देखाउने गरेका केन्द्रका निर्देशक श्रेष्ठले अहिलेसम्म प्रत्यारोपणका लागि विदेशका कुनै विज्ञ चिकित्सकको समूहसँग सम्झौता गरेका छैनन्। केन्द्रमा पहिलो प्रत्यारोपण कोरियन डाक्टरको समूहले र दोस्रो भारतको म्याक्स अस्पतालका डा सुवास गुप्ताको समूहले गरेको थियो।
‘अझै केही प्रत्यारोपणका लागि ब्याकअपमा विदेशी चिकित्सकको टोली नै रहनुपर्छ’, अस्पताका ती डाक्टर भन्छन्, ‘तर, आफू छायामा पर्ने डरले डा श्रेष्ठ कसैसँग त्यस्तो सम्झौता गर्न चाहँदैनन्।’
प्रत्यारोपणको तालिम लिएका केन्द्रका अर्का डाक्टर प्रवीण जोशी पनि निर्देशक डा श्रेष्ठसँग सन्तुष्ट नरहेको बुझिएको छ। उनले सहकर्मीहरुसँग अहिलेकै अवस्थामा काम गर्न नसकिने गुनासो गर्न थालेका छन्। अस्पतालका वरिष्ठ फिजिसियन डा दिपेश गुरुवाचार्य पनि कलेजो प्रत्यारोपणले निरन्तरता नपाएको भन्दै असन्तुष्ट छन्। यही अवस्था कायम रहे बैशाखपछि डा गुरुवाचार्य पनि केन्द्रमा नरहने बुझिएको छ।
प्रत्यारोपण यसरी अलपत्र परेपछि सरकारले प्रत्यारोपणका लागि पूर्वाधार र उपकरणमा गरेको करोडौं लगानी खेर जाने भएको छ। तर, डा श्रेष्ठ भने कमिसनको चक्करमा लागेर प्रत्यारोपण केन्द्रलाई ‘उपकरण केन्द्र’ बनाउने ध्याउन्नमा छन्।
कलेजो प्रत्यारोपणलाई नै निरन्तरता दिन नसकेका बेला डा श्रेष्ठ पछिल्लो समय मुटु प्रत्यारोपण थाल्ने भन्दै उपकरण जम्मा पार्न थालेका छन्। केही दिनअघि मात्रै उनले ‘क्याथ ल्याब’ सुरु गरे। उनले मुटु प्रत्यारोपणका लागि क्याथ ल्याब सुरु गरेको मिडियाबाजी पनि गरे।
अस्पतालमा जनरल इमर्जेन्सी सेवा समेत नभएको अवस्थामा क्याथ ल्याब पनि अलपत्र पर्ने देखिएको छ। अस्पतालका एक चिकित्सक भन्छन्, ‘केन्द्रमा अहिलेकै जस्तो व्यवस्थापनको तौरतरिका रहेमा मुटु प्रत्यारोपण अबको दस वर्षमा पनि सम्भव छैन।’