बालबालिकाको आँखाको कालो भागमा सेतो देखिने, डेढो हुने, धेरै रातो हुने, दुख्ने, दृष्टि कम हुने, सुन्निनेजस्ता लक्षण देखिन्छन् भने बेवास्ता नगर्नुस्, आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ हुन सक्छ । यसले दुवै आँखालाई २५ देखि ३५ प्रतिशतसम्म असर गरेको पाइन्छ । यो क्यान्सर बच्चा १२ देखि १८ महिनाको उमेर हुदाँ पत्ता लगाइन्छ ।
यो क्यान्सर एउटा या दुवै आँखामा देखिन सक्छ । हाम्रो शरीरको जिनमा हुने मभाचत का कारण यस्तो क्यान्सर उत्पन्न हुन्छ । यसैले रेटिनोब्लाष्टोमा वंशाणुगत कारणले पनि हुने सम्भावना हुन्छ ।
सुरुवातमा धेरै रातो हुने, दुख्ने, डेढो हुनेजस्ता परिवर्तन देखिन थालेपनि बच्चा स्वस्थ नै देखिन्छ । उसको हाँस्ने, खेल्ने व्यवहार कायम नै रहन्छ । तर बिस्तारै उसको दृष्टिमा भने कमी आइरहेको हुन्छ । आँखा रातो हुदाँ दुखाईले चिडचिडाहट हुने, झगडा गर्ने गरिहन्छन् । सुरुवाती लक्षणका बेला खासै परिवर्तन नआउदाँ धेरै आमाबुबालाई थाहा हुन सक्दैन र उपचारमा ढिलाई हुन्छ ।
फ्ल्यास क्यामेराले फोटो खिच्दा बच्चाको आँखाको नानीमा सेतो भएमा प्रष्ट देखिन्छ । समस्या भए–नभएको थाहा पाउने यो सजिलो तरीका हो । ढिलाई भएर उपचार नभए नानीमा देखिएको सेतो भाग फैलदैँ जान्छ भने पछि बिस्तारै डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा ठूलो हुदैँ जान्छ ।
सानो उमेरका बालबालिकामा यस्ता लक्षण देखिए छिट्टै उपचार थाल्नुपर्छ । किनभने जतिसक्दो सुरु अवस्थाको क्यान्सरको उपचार विधि सरल हुनाको साथै क्यान्सर भएको आँखाको दृष्टि पनि बचाउन सकिन्छ । छिट्टै उपचार गर्न सके क्यान्सर अन्य भागमा फैलन पाउँदैन र बच्चालाई ज्यानको खतराबाट पनि मुक्त गर्न सकिन्छ ।
रेटिनोब्लाष्टोमा धेरै ढिलो अवस्थामा पत्ता लागेको खण्डमा आँखा नै निकाल्नु पर्ने र बच्चाहरु दृष्टिविहीन भएर बाँच्नुपर्ने स्थिति सिर्जना हुन सक्छ । यतिमात्र नभई जीवन नै गुमाउन पर्ने अवस्था पनि आउन सक्छ । त्यसैले नवजात शिशुदेखि बालबालिकामा यस्ता लक्षण देखिए जतिसक्दो चाँडो उपचार गर्नु आवश्यक छ ।
उपचारका क्रममा बालबालिकालाई बेहोस पारेर क्रमबद्ध तरिकाबाट जाँच गरिन्छ र परेको खण्डकामा आँखाको भिडियो एक्स–रे, टाउको र आँखाको सिटी स्क्यान÷एमआरआईजस्ता परीक्षण पनि गर्न सकिन्छ । यसबाट रेष्टिनोब्लाष्टोमा कुन अवस्थाको रहेछ भनेर थाहा हुन्छ र उपचार सुरु गरिन्छ ।
उपचार विधि
रेटिनोब्लाष्टोमा सुरुकै अवस्थामा पत्ता लागे औषधि, लेजरप्रविधि वा केमो दिएरै पनि निको पार्न सकिन्छ । रोग देखिएपछि केमोथेरापी दिएर दृष्टि बचाउन सकिन्छ । तर निकै ढिला भएका वा आँखाबाहिर निस्केकाहरुको भने शल्यक्रिया गर्नुपर्छ । आँखाको ट्युमर सानो छ वा पहिल्यै थाहा भएमा ठूलो हानी नहुने गरि लेजरजस्ता साधारण प्रकृयाद्वारा उपचार गर्न सकिन्छ ।
रोग ढिला भइसकेकोपछि भने आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र जटिल हड्डी निकाल्ने शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आँखाको ज्योति गुम्छ । जटिल समस्या नभई अस्पताल नजाने र केही नभएपनि आँखाको जाँच नगर्ने प्रवृत्तिका कारण रोगका बारेमा थाहा पाउँदा निकै ढिला भइसक्छ ।
त्यसैले आफ्नो र आफ्ना साना नानीहरूको आँखाको जाँच हरेक ६ महिनामा गर्नु बुद्धिमानी हुन्छ । त्यो सम्भव नभए पनि वर्षमा एकपटक अवश्य चिकित्सकलाई आँखा देखाउनुस् ।
डा. श्रेष्ठ वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जका बाल नेत्र रोग विशेषज्ञ हुन्