सन् १९८० को सोभियत संघ। बाटोमा हिउँ खसिरहँदा हावाको वेग पनि मुटु कमाउने थियो। म चिसोको सामना गर्दै हिँडिरहेको थिएँ।
केही दिनयता स्वास्थ्य केही बिग्रिँदै गएको थियो। पढाइको व्यस्तताका कारण स्वास्थ्यमा ध्यान दिन सकेको थिइनँ। चिसोले समातेछ। टाउको, घाँटी र छाती दुख्नुका साथै ज्वरो आयो र रुघाखोकीले पनि च्याप्यो।
इन्स्टिच्यूटभित्रै एक डाक्टरलाई भेट्दा अस्पतालमै बसेर उपचार गर्न सल्लाह पाएँ। अब पढाइ छुट्ने भयो भन्ने चिन्ता लाग्यो। तर, उपचार नगरी सञ्चो हुने उपाय पनि थिएन।
डाक्टरले अस्पतालमा फोन गरेर एम्बुलेन्स बोलाइदिए। एक घन्टापछि एम्बुलेन्स होस्टलमै आइपुग्ने भयो। डाक्टरसँग बिदा भएर हिउँ र हावासँग कुस्ती खेल्दै सरासर होस्टलतर्फ लागेँ। होस्टल पुग्दासम्म हिउँले कपाल सेताम्मे भएको थियो भने चिसो हावाले सेकेर मुख रातै भएको थियो।
होस्टल सुनसान थियो। इन्स्टिच्युटमा छुट्टी भइसकेको थिएन। तीन बज्न पाँच मिनेट बाँकी थियो। ४०–४५ मिनेटपछि त साथीहरु पनि आइपुग्छन्। भ्यालबाहिर हेरेँ, उराठलाग्दो वातावरण थियो। मनमा अनेक कुरा खेल्न थाले।
केही दिनअघिसम्म कति रमाइलो थियो यो ठाउँ! रुख-बिरुवाको हरियाली, शहरको सुन्दरता र स्वच्छ प्राकृतिक वातावरणमा कति रमाएको थियो मेरो मन। यो आनन्दमयी वातावरणमा रुमल्लिन नपाउँदै गर्मीयाम सकियो। आज हिउँ र हावाको चड्कन खाएर सबै वनस्पति नाङ्गै र उजाड हुन पुगे।
जाडोमा कठ्याङ्ग्रिँदै, दिनदिनै हिउँ र हावाको निर्दयी व्यवहार सहेर सुखका दिनहरुको प्रतीक्षामा बसिरहेका छन् रुख-बिरुवाहरु। यिनीहरुको जीवनमा पनि महत्वपूर्ण पाठ लुकिरहेको चाल पाएँ। मानिसको जीवन पनि त यस्तै त हो । भविष्यमा गुलियो रस चुस्न र उज्यालो संसारमा बाँच्न उसले पनि अनेक चोट सहेर संघर्ष गर्दै जान्छ। बाटोमा आइपर्ने ढुंगा र काँडा जस्ता अवरोधहरुलाई एक-एक गरेर हटाउँदै आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढ्दै जानुपर्छ।
अस्पतालबाट एम्बुलेन्स आइपुगेको थिएन। ज्वरोले जिउ पोलिराखेको थियो। एक कप चिया पिएर ओछ्यानमा पल्टिएँ। सोचेँ, अब त केही दिनसम्म पढाइबाट पनि बिदा पाइने भयो, हलुंगो हुने भयो। कुनै ठूलै रोगको शंका गर्योब भने त अस्पतालमै धेरै दिनको बास पनि हुन सक्थ्यो। जुका परे १२ दिन, रुघा लागे एक हप्ता, टिबीको शंका गरे ४–५ महिनै!
ढोकामा कसैले ढकढक गरेको आवाज सुनियो। अस्पतालबाट मलाई नै लिन आएका रहेछन्। जाने तयारी गरेँ। रुम पार्टनरहरु अझै आइपुगेका थिएनन्। साथमा कुनै सामान नलिई हिँडेँ। होस्टलबाट बाहिर निस्किएर एम्बुलेन्सभित्र पसेँ। एम्बुलेन्सको कुदाइलाई उछिनेर मेरो मन अस्पताल पुगिसकेको थियो। तर, एम्बुलेन्स त्यति छिटो अस्पताल पुगेन। मलाई शहरको केन्द्रबाट टाढा पुगेको जस्तो लाग्यो। साँच्चै नै अस्पताल टाढै रहेछ।
डाक्टरलाई सबै कुरा बताएँ। ज्वरो आइरहेको थियो। मलाई अस्पताल भर्ना गरियो। लगाएका सबै लुगा फुकालेर अस्पतालको सफा लुगा लगाइदिए। हलुका अनुभूति गरेँ। नर्सको पछि-पछि लागेँ। पाँच मिनेट हिँडेपछि बिरामीहरु देखा पर्न थाले। आफूलाई उनीहरुभन्दा स्वस्थ भएको देखाउने प्रयत्न गर्दै हिँडिरहेँ। गीत गुनगुनाउँदै अघि बढेँ।
एउटी महिलाले हातमा गिलास र चम्चा थमाइदिइन्। गिलासलाई चम्चाले हिर्काउँदा निस्कने आवाजमा रमाउँदै अगाडि बढेँ। मेडिकल वार्डभित्र प्रवेश गरेँ। आँखा अगाडि नयाँ अनुहार देखा परे। सबैलाई एकै पल्ट अभिवादन गरेँ।
कोठाको चारैतर्फ आँखा दौडाएँ। पाँच वटा खाट, दुई वटा साइड टेबुल, एउटा ठूलो टेबुल। चार जना बेडमा पल्टिरहेका छन्। एउटा बिछ्यौना खाली थियो, गएर बसेँ। ती चार जनामध्ये एक मजदुर रहेछन्, अरु तीन विद्यार्थी।
मजदुर उमेरले अलि पाकै भए पनि निकै फूर्तिला र रमाइला मिजासका थिए। समय-समयमा कहिले केटाकेटी जस्तै बिछ्यौनमा उफ्रेर त कहिले गीत गाएर र कहिले चुट्किला सुनाएर सबैलाई हँसाउँथे।
सबै जनाले मप्रति बढी नै उत्सुकता देखाएकाले मैले पनि आफ्नो परिचय दिएँ।
'नेपाली हुँ। मेडिकल इन्स्टिच्युटको पहिलो वर्षको विद्यार्थी।'
'मेरो देश नेपाल हो' भनेर देशको नाम दोहोर्याचउनुपर्योे।
'ए, सुडान !'
‘होइन, नेपाल!'
एक जनाले पहिलो पल्ट सुनेको जस्तो गरेर छक्क पर्दै हेरे। मलाई रुन मन लाग्यो। गहिरो चोट पर्यो- मेरो देश कति पिछडिएको रहेछ, संसारलाई नामसम्म पनि थाहा नहुने भनेर।
मैले नेपाल चिनाउन ढिलाइ गरिनँ।
‘चीन र भारतको बीचमा रहेको, बुद्ध जन्मिएको, सगरमाथालाई छातीमा उभ्याइरहेको, नदीनाला, लहरा पहरा छहरा र प्राकृतिक सौन्दर्यले भरिएको देश’ भन्दै मैले नाक फुलाएर बयान गर्दा उनीहरुले 'ए, ए' भन्दै टाउको हल्लाए।
म अझै भन्दै थिएँ, ‘मेरो देशमा राजाको शासन, भोक, रोग, गरिबी र अशिक्षा पनि छ।’
उनीहरु अलि झसंग भए। अनि बल्ल रोकिए। बेलुकीको खाना खाने बेला भएछ। खाना ल्याउने महिलाको आवाज सुनेँ। होस्टल, क्यान्टिन र अस्पतालको खानामा कुनै फरक पाइनँ।
अस्पतालमा मैले एउटा अचम्मको कुरा देखेँ– ९० प्रतिशत बिरामीहरुको हातमा किताब। सबै शिक्षित भएकाले समयको मूल्य उनीहरुलाई थाहा थियो। समय त्यसै खेर फाल्न कोही चाहँदैनथे। बिरामी पर्दा पनि सकेसम्म पढ्ने कोसिस गर्थे।
नेपालमा छँदा अस्पतालमा भर्ना भएको बिरामी भन्नेबित्तिकै उठ्नै नसक्ने, हेर्नै नसक्ने, अत्यन्तै पीडाको अनुभव गरिएको मान्छेको सम्झना हुन्थ्यो। तर, यहाँ एक जना बिरामीलाई के भयो भनेर सोधेँ, रुघा लाग्यो भन्ने उत्तर दियो। अर्कोलाई सोधेँ, खोकी लाग्यो भन्यो। तेस्रोलाई ज्वरो आयो रे! सिकिस्त बिरामीहरु कोही भेटिएन।
अलिकति केही हुनेबितिकै अस्पतालमा बसेर उपचार गराउने भएकाले कसैको पनि रोग बढेर चिन्ताजनक अवस्थामा पुग्न नपाएको जस्तो लाग्यो।
फेरि औषधोपचार नि:शुल्क भएको र बिरामी बिदा जति पनि पाइने भएकाले सानो समस्या देखिए पनि अस्पताल बस्न सबै जना तयार हुँदा रहेछन्।
आफ्नो देश सम्झियो, स्वास्थ्य सेवा सर्वसुलभ छैन। जनता गरिब छन्, उनीहरुको गाँसबासको ठेगान छैन अनि कसरी औषधोपचारमा पैसा खर्च गर्न सकून्? बरु रोगलाई दबाएर बस्छन्, अस्पताल जाँदैनन्। यो ती गरिबहरुको मात्र गल्ती होइन, राज्यको पनि हो। हामीले सबैका लागि औषधोपचार नि:शुल्क गराउने कदम चाल्नुपर्छ। कुनै पनि ठूलो काम गर्न संर्घष गर्नुपर्छ। यसका लागि त्याग र तपस्या चाहिन्छ। जे गरेर भए पनि औषधोपचार कुनै पनि हालतमा नि:शुल्क बनाउनुपर्छ।
म अलि जोसमा आएको थिएँ। जुरुक्क उठेर यताउता हेरेँ। त्यो रात बित्यो।
सोभियत संघको स्वास्थ्य सेवा प्रणाली र अस्पतालको वातावरण देखेर म दंग परेँ– कति स्वच्छ र सुन्दर, मिजासिला नर्स र स्वास्थ्यकर्मी, सबै नागरिकलाई समान र नि:शुल्क उपचार व्यवस्था भएका ठूल्ठूला अस्पताल, रोग अनुसारका छुट्टाछुट्टै उपचार केन्द्र, बिरामीको सेवामा निस्वार्थ भावनाले दिनरात खट्ने डाक्टर, प्रत्येक विभागमा प्रोफेसरको सेवा, कडा रोग लागेमा अफिसबाट लामो समय तलबी बिदा, अस्पतालको उपचारपछि विश्राम स्थलमा पठाउने व्यवस्था, प्रत्येक नागरिकलाई स्तरीय नि:शुल्क र पूर्ण स्वास्थ्य उपचारको अधिकार। वाह!
मैले सोचेँ– सायद यही होला समाजवादी स्वास्थ्य सेवा।