नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आजबाट दुईदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन गर्दैछ। सम्मेलनका सम्बन्धमा परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झासँग स्वास्थ्यखबरले गरेको कुराकानीः
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनको आयोजनाको उद्देश्य के हो?
नेपालका स्वास्थ्य तथा जनसंख्या विज्ञलाई एउटै थलोमा भेला गरी बदलिँदो स्वास्थ्य प्रणालीमा समय सान्दर्भिक अनुसन्धानको आवश्यकताका विषयमा छलफल गर्न र जिम्मेवारीपूर्ण अनुसन्धान कार्यप्रति अभिप्रेरित गर्न यो सम्मेलनको आयोजना गरिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको अवसरमा विगत ४ वर्षदेखि यस्तो सम्मेलन आयोजना गर्दै आइरहेको छ। यसअघि भएका ३ वटा सम्मेलनले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सहयोग पुगेको छ। त्यही अनुसार नयाँ पुस्तालाई अनुसन्धान कार्यमा लाग्न प्रेरणा मिलोस् र स्वास्थ्यमा अनुसन्धानको विकास र विस्तार होस् भनेर नै शिखर सम्मेलनको आयोजना गरिएको हो।
अघिल्ला ३ वटा सम्मेलनभन्दा यो सम्मेलनमा के फरक छ?
अहिले देश संघीय संरचनामा गइसकेको छ। स्वास्थ्य अनुसन्धान परिषद् पनि सोही अनुसार अघि बढिरहेको छ। बदलिँदो परिस्थितिमा र बदिलिँदो स्वास्थ्य प्रणाली अनुसार अनुसन्धानको क्षेत्रलाई पनि अगाडि बढाउन यो सम्मेलन विगतभन्दा केही फरक छ। यसपटकको नारा पनि ‘नेपालको बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धान’ राखिएको छ। संघीयतामा स्वास्थ्य अनुसन्धन भन्ने विषयमा विज्ञहरुको प्रस्तुतीकरण र छलफल समेत राखिएको छ।
सम्मेलनमा के-के हुनेछ?
दुई दिने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताहरुले आफ्ना खोज तथा अनुसन्धानबारे ६५ वटा अनुसन्धानका मौखिक प्रस्तुति तथा ६७ पोस्टर प्रस्तुति गर्नेछन्। जसमध्ये ८ जना आमन्त्रित विज्ञबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य अनुसन्धान सम्बन्धी गतिविधिबारे जानकारी, नेपालमा नसर्ने रोग र गरिबीबारे प्रस्तुतीकरण तथा छलफल हुनेछ।
साथै, स्वास्थ्य तथा जनसंख्याका विभिन्न ८ विधामा प्रस्तुति हुनेछ। त्यसअन्तर्गत नसर्ने रोग; पोषण र खाद्य सुरक्षा; प्रजनन, लैङ्गिक र मातृ स्वास्थ्य; मानसिक स्वास्थ्य; वित्त, प्रशासन र स्वास्थ्य प्रणाली; नवजात शिशु; किशोरकिशोरीको स्वास्थ्य तथा लैङ्गिक हिंसा; वातावरणीय, पेशागत तथा सहरी स्वस्थ्य र सरुवा रोगका विषय छन्।
विगतका वर्षमा जस्तै यो पटक पनि अवार्डको कार्यक्रम छ कि?
यो वर्ष पनि हामीले सम्मेलनमा उत्कृष्ट ७ जनालाई अवार्ड गर्ने कार्यक्रम छ। उत्कृष्ट वैज्ञानिकलाई अनुसन्धान कार्यमा थप हौसला मिलोस् भनेर अवार्ड दिन सुरु गरिएको हो। अवार्ड वितरण गर्ने काम कार्यक्रमको समापन हुने समयमा हुन्छ। उत्कृष्ट वैज्ञानिकको छनोट प्रस्तुतीकरण तथा विषयवस्तुका आधारमा हुनेछ। यो सम्मेलनमा एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तिको उपस्थिति रहनेछ।
सम्मेलनमा उठेका अनुसन्धानका विषयवस्तु र सुझाबलाई के गरिन्छ?
सम्मेलनबाट प्राप्त सुझावहरु नीति निर्माण, योजना तर्जुमा, कार्यक्रम विकास तथा मूल्यांकन कार्यका लागि उपयोगी हुनेछन्। अनुसन्धानका विषयवस्तुले उठान गरेका विषयले हाम्रो देशमा देखिएका रोगको भार तथा प्रकृति र त्यसलाई समाधान गर्ने उपायहरुको खोजीमा समेत सहयोग मिल्नेछ।
परिषद्को अध्यक्षको नजरबाट हेर्दा नेपालमा स्वास्थ्य अनुसन्धानको अवस्था कस्तो छ?
हाम्रो देशको भौगोलिक, आर्थिक र जनशक्तिको अवस्थालाई मध्यनजर गरेर हेर्दा नेपालमा स्वास्थ्य अनुसन्धानको अवस्था सन्तोषजनक नै छ। पछिल्लो समयमा युवापुस्तामा अनुसन्धानप्रति रुची बढ्दै गएको छ। यो निकै खुसीको कुरा हो।
अनुसन्धानको दायरा पनि फराकिलो हुँदै गएको छ। साना-ठूला गरी नेपालमा निकै गुणस्तरीय अनुसन्धान भइरहेका छन्। विगतमा अनुसन्धान भएर पनि त्यसको उचित प्रचारप्रसार हुन सकेको थिएन। त्यही कुरालाई मध्यनजर गर्दै परिषद्ले शिखर सम्मेलनको सुरुवात गरेको हो। यसले अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुको खोज तथा अनुसन्धानलाई प्रचारप्रसारमा प्रेरित गर्ने र देशका कुनामा रहेका अब्बल वैज्ञानिकहरुले क्षमता बढाउने अवसर पनि प्रदान गर्नेछ।