नेपालका अस्पतालमा हुने मृत्युको प्रमुख कारणमध्ये अस्पतालजन्य संक्रमण पर्दै गइरहेको र यो दर बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ।
अस्पतालजन्य संक्रमण नियन्त्रणका विषयमा राजधानीमा आयोजित राष्ट्रिय सम्मेलनमा संसारमा चिकित्सा विज्ञानमा भएका आविस्कार र अभ्यासले अस्पतालजन्य संक्रमण घटाउँदै लगेको भएपनि नेपालमा भने अस्पतालमा हुने मृत्युको प्रमुख कारण नै अस्पतालजन्य संक्रमण बनेको भन्दै यसलार्इ नियन्त्रण गर्न राष्ट्रिय रुपमा नै नीतिगत व्यवस्था गर्न माग गरिएको छ।
स्वास्थ्य संस्थामा हुने संक्रमण नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय रणनीति बनाउन आयोजित उक्त सम्मेलनमा सहभागिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सुझाब समेत दिएका छन्। सम्मेलनमा आएका सुझाबका आधारमा रणनीतिका प्रारम्भिक खाका समेत बनाइएको छ।
स्वास्थ्य मन्त्रालयको सहयोगमा सहिद गंगालाल हृदय केन्द्र, रोटरी क्लब अफ दरबारमार्ग र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ले संयुक्त रुपमा उक्त सम्मेलनको आयोजना गरेका हुन्। सम्मेलनमा जापान, भुटानसहित नेपालका विभिन्न अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी सहभागि थिए।
सम्मेलनमा उठेका विषयपछि तयार पारिएको सुझाबमा नेपालका अस्पताल तथा स्वास्थ्य संस्थामा हुने संक्रमण नियन्त्रणका लागि राष्ट्रिय स्तरको अस्पतालजन्य संक्रमण नियन्त्रण समिति बनाउन सुझाब दिइएको छ। यस्तै, हरेक अस्पतालमा अनिवार्य रुपमा संक्रमण नियन्त्रण समिति बनाउन पनि सुझाब दिइएको छ।
अस्पतालमा हुने मृत्युको १५ देखि २५ प्रतिशत कारण संक्रमण हो भन्ने अध्ययनले पुष्टि गरिसकेको छ। त्यतिमात्रै होइन यसले बाँचेको अवस्थामा पनि बिरामीका लागि अस्पतालको बसाई मात्रै लम्ब्याएको छैन र खर्च र अपांगतासमेत बढाउँदै लगेको छ।
11 संगठनका अनुसार विकसित देशमा अस्पताल बसाइका क्रममा हरेक एक सय जनामा ७ जनालाई र विकासोन्मुख देशमा हरेक एक सय जनामा १० लाई कम्तिमा पनि कुनै एक प्रकारको अस्पतालजन्य संक्रमण देखा पर्दछ। १४ देशका ५५ वटा अस्पतालमा गरिएको अनुसन्धानले अस्पतालमा भर्ना भएका बिरामीहरुमा अस्पतालजन्य संक्रमणको दर ८ दशमलब ७ प्रतिशत पाइएको देखाएको थियो। जसमध्ये अधिकतम संक्रमण दक्षिण-पूर्वि एसियाली देशमा पाइएको थियो।
डा सरद गजुर्यालका अनुसार अस्पताल बसाइका क्रममा बिरामीमा देखा पर्ने संक्रमण ९जुन भर्ना हुने समयमा हुँदैन० लाई नै अस्पतालजन्य संक्रमण भनिन्छ। विशेषगरी अस्पताल भर्ना भएको ४८ - ७२ घण्टापछि देखिने यस प्रकारको संक्रमणले बिरामीको अवस्था झन् जटिल बनाउने, अपांगता गराउने, रोग बल्झेर मृत्युदर बढाउने हुन सक्छ। साथै बिरामीलाई आर्थिकभार समेत थपिने गर्छ।
अस्पतालको अव्यवस्थित तथा अस्वस्थ वातवरण, अनुचित उपचार पद्धति, अनावश्यक एन्टिबायोटिक प्रयोग, साँघुरा भवन तथा भौतिक संरचना जस्ता कारणले अस्पतालजन्य संक्रमण फैलिन्छ। अस्पतालभित्र फैलिएका ब्याक्टेरियाहरु श्वासप्रश्वासको माध्ययमबाट, बिरामीको छालासँग सम्पर्कमा आएका वस्तुको माध्यमबाट ९थर्मोमिटर, ढोका, धारा, व्हिल चेयर आदि०, उपचारका क्रममा राखिने क्याथेटर, क्यानुला, इटिट्युब, मास्क, भेन्टिलेटर पाइप लगायत साधन तथा उपकरण आदिबाट सर्ने गर्दछ।
डा ऋषिकुमार काफ्लेका अनुसार डाक्टरले एउटा बिरामी छोएपछि अर्कोलाई छुँदा हात धुने बानीको अभाव हुनु, शल्यकक्षमा हावा फिल्टर उपकरण नहुनु, बिरामीका आफन्त भेटघाटका लागि धेरै भन्दा धेरै आउनु, अस्पतालकै आफ्नै संरचना, उपकरण लगायतका कुरा सफा नहुँदा पनि संक्रमण बढीरहेको बताए।
क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालका अनुसार किमो थेरापी दिएका, मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका तथा मुटु र मस्तिष्कको शल्यक्रिया गरेका बिरामी संक्रमणको उच्च जोखिममा हुन्छन् । उनका अनुसार यस्ता बिरामीको शल्यक्रिया सफल भए पनि संक्रमणका कारण ज्यान गइरहेको छ। ‘उपचारका क्रममा डाक्टरहरुले शल्यक्रिया सफल भयो तर केही समयपछि बिरामीको मृत्यु भयो भन्नुको पछाडि पनि यही कारण हो,’ उनले भने, ‘विकसित देशले संक्रमणको दरलाई घटाउँदै गइरहेको अवस्थामा हामीले पनि यो विषयमा तत्कालै काम अगाडि बढाउनु पर्ने अवस्था आएको छ।’
उनका अनुसार अस्पतालजन्य संक्रमणका कारण अधिकांश बिरामीमा जटिल खालका निमोनिया, रगतमा संक्रमण हुने गरेको छ। इस्तो संक्रमणमा कडा खालको एन्टिबायोटिक्सले समेत काम नगर्ने सम्भावना बढी रहन्छ।
रोटरी आरआइडिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर सञ्जय गिरीले बिरामीको मृत्यु र अस्पताल बसाई घटाउन अस्पतालजन्य संक्रमण नियन्त्रण गर्नुपर्ने बताए। उनले सरसफाईसँगै अस्पतालमा अनावश्यक रुपमा आफन्तको भिडलाई समेत कम गर्नुपर्नेमा जोड दिए।