काठमाडौं- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि ८ जनाले आवेदन दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आह्वान गरेपछि तोकिएको समयसीमा हिजो सोमबार भित्र ती आवेदन परेको हो।
आवेदन दिनेमा डा. विश्वराम पौडेल, डा. विजयचन्द्र आचार्य, डा. लक्ष्मीनारायण सिंह, विकास आचार्य, डा. अजयकुमार झा, प्रा.डा. योगेन्द्रप्रसाद सिंह, डा. भावना वाग्ले र डा. जय श्रेष्ठ रहेका छन्।
मन्त्रालयले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै योग्यतापुगेका इच्छुक चिकित्सकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। सोही सूचनाअनुसार प्राप्त आवेदनहरूमध्येबाट छनोट प्रक्रिया अघि बढाइने मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्ले मन्त्रालयको सिफारिसमा सिधै अध्यक्ष नियुक्त गर्ने अभ्यास रहे पनि यसपटक भने प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको छ। अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान रहेको छ।
तीन वर्षे कार्यकाल रहने उक्त पदमा यसअघि डा. विजयराज न्यौपाने कार्यरत थिए। उनको कार्यकाल सकिएसँगै नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको हो।