ललितपुर- ‘विश्वभर थप १० लाख मिडवाइफ जनशक्तिको आवश्यकता’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै यस वर्षको अन्तर्राष्ट्रिय मिडवाइफ दिवस ललितपुरमा सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ।
मिडवाइफ्री सोसाइटी अफ नेपालद्वारा आयोजित प्रभातफेरी तथा सचेतनामूलक र्यालीमार्फत मिडवाइफ्री शिक्षा, सेवा तथा यसको महत्वबारे आम जनमानसमा जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।
कार्यक्रम बिहान ६:३० बजे पाटन अस्पताल परिसरबाट सुरु भएको र्याली जावलाखेल, पुल्चोक हुँदै मङ्गलबजारसम्म पुगेको थियो। र्यालीको समापन कृष्ण मन्दिर अगाडि गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मिडवाइफहरूको योगदानलाई उच्च सम्मान गर्दै मातृ तथा नवजात स्वास्थ्य सुधारमा मिडवाइफ्री सेवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।
मिडवाइफ्री सेवामा संलग्न जनशक्तिको ज्ञान, सीप र क्षमताको अभिवृद्धि आवश्यक रहेको कुरामा जोड दिइएको थियो। गुणस्तरीय सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न मिडवाइफ्री शिक्षा र सेवाको प्रभावकारी कार्यान्वयन, आवश्यक नीतिगत व्यवस्था तथा स्रोत–साधनको सुनिश्चितताका लागि नेपाल सरकार तथा सम्बन्धित दातृ निकायहरूलाई यस अवसरमा हार्दिक आह्वान गरिएको छ।
