नेपालगन्ज– पूर्वी तराईका जिल्लामा मात्रै देखिने गरेको कालाज्वर पछिल्ला दिनमा पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको छ।
नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल प्रमुख कल्सल्टेन्ट फिजिसियन डा राजन पान्डेका अनुसार २०७२ देखि हालसम्म अस्पतालमा ५६ जना कालाज्वरका बिरामी उपचारका लागि आएकामा करिब २० प्रतिशत बिरामी पहाडी तथा हिमाली जिल्लाका छन्।
अधिकांश बिरामी कामका लागि भारतको उत्तराञ्चंलका विभिन्न क्षेत्रमा पुगेका, प्रायजसो टेन्ट तथा झुपडीमा बस्ने गरिब तथा विपन्न वर्गमा मजदुर छन्। डोल्पा, हुम्ला, कालिकोट र बाजुरा घर भएका र तराई तथा भारतीय शहरमा नपुगेका मानिसमा पनि कालाज्वर देखिएको डा पान्डेले बताए।
२०७२ यता बर्दियाका १४, बाँकेका ११, सुर्खेतका १० र सल्यानका ४ बिरामी उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका छन्। त्यसैगरी, दैलेख र बाजुराका ३–३ जना कालिकोट, दाङ र कैलालीबाट २–२ जना बिरामी आएका छन्। कन्चनपुर, रोल्पा, हुम्ला, बाजुरा र दार्चुलाबाट १–१ बिरामी आएको अस्पतालले जनाएको छ।
इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियम र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको टोलीले २०७५ सालमा कालाज्वर सार्ने भुसुनाहरुको एउटा नयाँ प्रजाती नै डोल्पामा भेटाएको थियो। हिमाली क्षेत्रमा भेटिएको कालाज्वर सार्ने भुसुनाले टोकेका बिरामीमा ‘लेशोमानिया यति’ नामक जीवाणु भेटिएको छ।
तराइ क्षेत्रमा मात्रै देखिने गरेको कालाज्वर पहाडी तथा हिमाली क्षेत्रमा देखिएको बिषयमा व्यापक अनुसन्धान हुन बाँकी नै भए पनि जलवायु परिवर्तन यसको मुख्य कारण हुन सक्ने डा पान्डेले बताए। जलवायु परिवर्तनका कारण कालाज्वर फैलाउने भुसुनाका लागि पहाडी तथा हिमाली क्षेत्रको वातावरण अनुकुल बन्दै गएको हुन सक्ने उनले बताए।
हिमाली क्षेत्रमा पनि कालाज्वर भेटिने क्रम बढ्दै गएका कारण नेपालबाट सन् २०२० सम्ममा कालज्वर उन्मुलन गर्ने लक्ष्य चुनौतीपूर्ण बन्दै गएको डा पान्डेले बताए।
सरकारले कालाज्वरको उपचारलाई प्रभावकारी बनाउन यसको उच्च जोखिममा रहेका पूर्वी झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषासहित १२ जिल्लाहरुमा बर्षाैंदेखि विशेष कार्यक्रम चलाउँदै आएको छ। तर २०७२ देखि थप ६ वटा जिल्ला कैलाली, सुर्खेत, पाल्पा, मकवानपुर, भोजपुर र ओखलढुंगामा पनि कार्यक्रम थप गरी सञ्चालन गरेको छ।
सरकारले कालाज्वरका बिरामीका लागि निःशुल्क औषधिको व्यवस्था गर्नुका साथै उपचारका लागि अस्पतालमा आउने बिरामीलाई यातायात खर्चबापत एक हजार रुपियाँसमेत उपलब्ध गराउँदै आएको छ।
कालाजारका बिरामीलाई इन्जेक्सन लिमोसोमल एम्फोटेरिसिन बी दिने गरिन्छ। निक्कै प्रभावकारी मानिएको सो इन्जेक्सनबाट निको भएका बिरामीमध्ये करिब १५ प्रतिशत बिरामीमा पुनः कालाज्वर दोहोरिने समस्या देखिएको डा पान्डेले बताए। कालाज्वरका बिरामीलाई दिइने औषधि भारतको बिहारमा अनुसन्धान गरेर बनाइएको हो। त्यो औषधिले पहाडी तथा हिमाली क्षेत्रका बिरामीमा काम नगरेका कारण पनि कालाज्वर दोहोरिएको हुनसक्ने आशंका गरिए पनि त्यससम्बन्धमा थप अध्ययन तथा अनुसन्धान हुन बाँकी छ।
के हो कालाज्वर ?
यो प्रोटोजोवाअन्तर्गत पर्ने लेइसमानिया दोनोभानी नामक परजीवीका कारण सर्ने सरुवा रोग हो। यो एकप्रकारको भुसुनाको टोकाईबाट सर्छ। यो रोग लागेका बिरामीमा लामो समयसम्म ज्वरो आउने, रगतको कमी हुने, तौल घट्ने, कलेजो सुन्निने र छाला कालो हुने जस्ता लक्षण देखिन्छ। प्रयोगशालामा के ३९ टेस्ट गरेर कालाज्वर भए–नभएको सहजै पत्ता लगाउन सकिन्छ।
रोग लागेपछि निमोनिया, क्षयरोगजस्ता रोगको संक्रमण हुनुका साथै अत्याधिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ।
संक्रमण भएको २ हप्तादेखि एक बर्षसम्म रोगको लक्षण देखिन्छ। लक्षण देखिएको २ बर्षभित्र सही उपचार हुन नसके बिरामीको मृत्यु हुने सम्भावना ९५ प्रतिशतभन्दा बढी हुने डा पान्डेले बताए। पछिल्ला बर्षमा नेपालमा वार्षिक २ सय ५० देखि ३ सयसम्म कालाज्वरका बिरामी भेटिने गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको (नास्टको) आर्थिक सहयोगमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिट संयोजक डा शेरबहादुर पुन सहित नास्टका वरिष्ठ वैज्ञानिक डा. किशोर पाण्डे लगायतका वैज्ञानिकले गरेको अनुसन्धानले कालाज्वर हिमाल पुगेको तथ्य सार्वजनिक भएको थियो।