हरेक उमेरसमूहका लागि योग आवश्यक हुन्छ। आजको भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो। योगीहरुका अनुसार, योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ।
योगको महत्व र योग कसले गर्ने, कुन–कुन रोगीले गर्न हुने र कुन समयमा गर्ने आदि विषयमा पतञ्जलि योग समितिका प्रमुख लवदेव मिश्र र पतञ्जलि योग समितिका ट्रष्टी शालीग्राम सिंहसँग स्वास्थ्यखबरकी सिर्जना खत्रीले गरेको कुराकानी उनीहरुकै शब्दमाः
शारीरिक र मानसिक स्वास्थ्यका लागि योग
लवदेव मिश्र, प्रमुख, पतञ्जलि योग समिति
योग कसलाई आवश्यक पर्छ भन्नुभन्दा पनि कसलाई पर्दैन भन्ने मुख्य कुरा हो। बालकको शारीरिक विकास र विद्यार्थीको बौद्धिक विकासका लागि योग आवश्यक हुन्छ। वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक÷मानसिक सुसंगठनका लगि पनि योग चाहिन्छ।
घरायसी कामकाजमा व्यस्त गृहिणीलाई पनि सन्तुलन बनाइराख्न योग आवश्यक हुन्छ। कामकाजी मानिसलाई मानसिक शान्तिको निम्ति योगले औषधिको काम गर्छ। यसका साथै, कतिपय रोग उपचारको दृष्टिकोणले पनि योग आवश्यक छ।
योगका विभिन्न प्रक्रिया छन्। यी प्रक्रियामध्ये शरीरको बाह्य सन्तुलनका लागि व्यायाम, रोगका दृष्टिकोणले केही आसन र शरीरका अंग–प्रत्यंग स्वस्थ राख्न र मानसिक शान्तिका लागि प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ। अहिले अष्टांग योगमा आधारित भएर संसार चलिरहेको छ। त्यसमध्ये आसन र प्रणायामप्रति धेरैको आकर्षण छ।
एउटा व्यक्तिले एकैचोटि कुनै नियमको पालन गर्न नसके पनि आसन र प्रणायामलाई समात्न सक्छ। त्यसपछि भने उसले नियमको बिस्तारै पालन गर्न थाल्छ। त्यसपछि एउटा ध्यान उत्पत्ति हुन्छ र मुक्तिको बाटो प्राप्त गर्न सक्छ।
प्राणायाम श्वासका माध्यमबाट गरिन्छ। श्वास कसरी लिने, श्वासलाई कसरी रोक्ने, कसरी छोड्ने, रोकेर कतिबेर राख्ने, देब्रे नासिकाबाट लिएको श्वासको प्रभाव के हुन्छ, दायाँबाट लिएको श्वासको प्रभाव के हुन्छ? श्वास नियन्त्रणका यी विविध विधिले फरक–फरक प्रभाव हुन्छ।
प्राणायाम एक हिसाबले अक्सिजन थेरापी हो। अक्सिजन नलियो भने मानिसको मृत्यु हुन्छ, थोरै लियो भने बिरामी हुन्छ, पर्याप्त मात्रामा लियो भनेर शरीर सन्तुलित हुन्छ। पर्याप्त अक्सिजनले शारीरिक र मानसिक रोग समेत निको हुन्छ। त्यसैले शरीरमा पर्याप्त अक्सिजनको आपूर्ति गराउने प्राणायाम सबैका लागि आवश्यक छ।
प्रणायाम मानसिक सन्तुलनका लागि अचुक औषधिसरह हो। कुनै पनि विधिबाट सन्चो नभएका बिरामीलाई पनि नियमित योगले लाभ मिल्छ।
बिरामी पर्नुअघि नै योगलाई अपनाऔं
शालिग्राम सिंह, ट्रष्टी, पतञ्जलि योग समिति
मानिसलाई खाना र लुगा जरुरी भए जस्तै स्वस्थ जीवनयापनका लागि योग आवश्यक हुन्छ। हाम्रो शरीरमा अक्सिजनको मात्रा कमी भयो भने बिरामी परिने भएकाले आवश्यक अक्सिजन उपलब्ध गराउन योग प्रभावकारी हुन्छ। यसले शरीरमा भएका तन्तुहरुलाई सवल पार्छ।
अर्को दृष्टिले हेर्दा योगले हाम्रो धन र समय पनि जोगाउँछ। हामी बिरामी भएर अस्पताल गयौं भने समयका साथै धन पनि खर्च हुन्छ। योगले विभिन्न रोग लाग्ने सम्भावनाबाट टाढा राख्ने भएकाले धन र समयको बचत हुन्छ। बिरामी पर्नुभन्दा पहिले नै योग ग¥यौं भने धेरै रोगबाट मुक्ति पाउन सकिन्छ। नेपालमा योगबाट निको भएका मानिसहरु हजारौंको संख्यामा छन्।
योगले हामीभित्र सकारात्मक सोचको विकास गराउँछ। यसका लागि हरेक बिहान योग गर्नुपर्छ। बिहानै खाली पेटमा योग गरेमा शरीरलाई धेरै फाइदा मिल्छ। ब्रह्ममुहूर्त अर्थात् बिहान ४ देखि ५ बजेको समयमा पृथ्वीमा अक्सिजनको मात्रा बढी हुन्छ। त्यसैले उक्त समयमा खुला ठाउँमा बसेर योग गरियो भने धेरै लाभ प्राप्त हुन्छ।
प्राणायाम कति समयसम्म गर्ने भन्ने अन्यौल धेरैमा हुने गर्छ। सामान्यतया हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ। आफ्नो शरीरका लागि एकदेखि डेढ घन्टा समय दिन सक्यौं भने हामी निरोगी हुन्छौं। यदि कोही बिरामी छ भने कति समयसम्म योग गर्ने र कुन प्रकारको गर्ने भन्ने विषयमा योग शिक्षकसँग परामर्श लिनु उचित हुन्छ। किनकि मानसिक रोगी, मधुमेह, रक्तचाप, मुटुरोगका लागि रोगको प्रकृति अनुसार नै फरक–फरक आसन हुन्छन्।
योगको महत्ता देखेरै हुनुपर्छ, संयुक्त राष्ट्र संघले हरेक वर्ष जून २१ लाई विश्व योग दिवसका रुपमा मनाउने घोषणा गरेको छ।