धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४१ औं सिनेट बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। सिनेट बैठकमा आज उठाइएको विषय र भएका निर्णय लगायतका विषयमा प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारसँग गरिएको कुराकानी:
प्रतिष्ठानको आज बसेको ४१ औं सिनेट बैठकले के–के निर्णय गरेको छ?
झण्डै तीन वर्षसम्म सिनेटको बैठक नभएको अवस्था थियो। यो बीचमा पटकपटक मन्त्री परिवर्तन भएका थिए। अहिलेको सिनेटमा खासगरी बजेटका कुराहरु थिए। योभन्दा पहिलाका सिनेटका निर्णय र पुरानो नेतृत्वले सिनेटको निर्णय बिना नै बनाउन सुरु गरेको भवनका विषयहरु पनि यो पटकको सिनेटका एजेन्डा थिए। यी विषयलाई स्वीकृत गराएर लैजाने र आर्थिक विषयका एजेन्डाहरु नै थिए र यिनै विषयमा निर्णयहरु भएका हुन्।
सिनेटको बैठकमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउने निर्णय पनि भयो भन्ने कुरा बाहिर आइरहेको छ नि! खास कुरा के हो?
सबभन्दा पहिला यो प्रतिष्ठानका रुपमा आयो। ३ सय ५० शय्याको हिसाबले। त्यसपछि यसलाई डिम्ड विश्वविद्यालय बनाइयो। यसको क्षमता विस्तार हुँदै गयो। आज यो ८ सय शैय्याभन्दा बढीको भइसकेको छ। हामीसँग डिएम एमसिएच परीक्षा लिने, अध्यापन गराउने लगायतका काम भइरहेको छ। अनुसन्धान पनि हुन्छ। यसको पूर्वाधार र फ्याकल्टी पनि छ। हामीले पनि पूर्ण विश्वविद्यालय होस् भन्ने चाहेका थियौं। काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको सम्बन्धन धेरै भयो भन्ने पनि आइरहेको छ। यो अवस्थामा सबै पूर्वाधार र क्षमता भएको हामी पनि किन सम्बन्धन नदिने त भन्ने कुरामा छलफल चलिरहेको थियो।
२०७१ सालमा भएको ३६ औं सिनेटको बैठकमा नै यसलाई पूर्ण विश्वविद्यालय बनाउने निर्णय भएको थियो। त्यतिबेलामा नै पूर्ण विश्वविद्यालय बनाएर सम्बन्धन दिने विषयमा निर्णय भएको हो। त्यतिबेला नै पारित भएको विषयमा किन प्रक्रिया अगाडि बढेन भनेर सरकारसँग हामीले अनुरोध गर्ने प्रस्ताव यो पटकको सिनेटमा राखेका थियौं। यो कुनै नयाँ एजेन्डा होइन। हामीले ३६ औं सिनेटको निर्णयलाई कार्यान्वयनमा लैजाऔं भनेका हौं। यसमा स्वास्थ्यमन्त्रीज्यूले ध्यानाकर्षण भयो भन्नुभएको छ। त्यसपछि प्रक्रियागत रुपमा अगाडि बढाउने विषयमा निर्णय भएको छ।
भनेपछि तपाईं प्रतिस्ठान अब पूर्ण विश्वविद्यालय बन्छ भन्नेमा आशावादी हुनुहुन्छ?
यो प्रतिष्ठानका सबैको चाहना हो। त्यहाँका प्राध्यापक, फ्याकल्टी, शिक्षक सबैको चाहना हो। हामी अब संकुचित भएर किन बस्ने? जहाँ कि देशमा यति ठूलो पूर्वाधार र जनशक्ति सहितको संरचना छ। हामी सबै रुपमा सक्षम छौं। यो विषयमा निर्णय पनि भएको छ। हामी सतप्रतिशत आशावादी छौं। आजको बैठकमा भएका सबै सभासदले पनि सकारात्मक रुपमा यसलाई लिनुभएको छ। अब यसलाई पूर्ण विश्वविद्यालय बनाउन सरकारले ऐन ल्याउनु पर्छ। सरकारले जति छिटो ऐन ल्याउन सहयोग गर्छ हामी त्यही अनुसार काम अगाडि बढाउन सक्छौं।
यो प्रतिष्ठान अहिले पनि आन्तरिक राजनीतिले अल्झिरहेको छ भन्ने गुनासो छ। अब झन् पूर्ण विश्वविद्यालय हुने भएपछि झन् राजनीतिक हस्तक्षेप वा वाधा सिर्जना हुने हो की?
त्यहाँ केही व्यक्तिले उपकुलपति बन्न पाइएन भनेर व्यक्तिगत रुपमा वाधा अड्चन निकालिरहेका छन्। उपकुलपति फेर्न तथा बनाउन भन्दै त्यहाँ एउटा गिरोह नै लागिरहेको छ। कसैको व्यक्तिगत स्वार्थका लागि संस्थालाई अप्ठेरोमा पार्नु हुँदैन। त्यहाँ अहिले धेरै विकासका काम भएका छन्। त्यहाँको आवश्यकता के हो? त्यो कुरा बुझेर त्यसलाई विस्तार गर्नुपर्छ। त्यहाँ मुटुको, मातृशिशुको भवन बन्नुपर्छ। विकासमा लाग्ने हो। वाधा तथा अप्ठेरालाई चिर्दै अगाडि बढ्नुपर्छ।
प्रतिष्ठानमा आएका बिरामीले उपचार नपाई फर्कनु पर्ने अवस्थाको अन्त्यका लागि के काम भएका छन्?
प्रतिष्ठानमा किन धेरै बिरामी आउँछन्? किनभने हामी राम्रो सेवा दिइरहेका छौं। सबैले त्यहीँबाट उपचार लिन चाहन्छन्। तर, अब हामीले दुई तीन कुरा गर्न आवश्यक छ। अब हामीले सुपरस्पेसियालिटी सेवा विस्तार गरिरहेका छौं। त्यहाँ काम गर्ने डाक्टरले बाहिर काम गर्न पाउँदैनन्। त्यसो हुँदा बिरामीले जति बेला पनि विशेषज्ञ सेवा पाउनेछन्। तर, यसका कारण डाक्टर टिकाउन गाह्रो छ। यसलाई समाधान गर्नुपर्छ। हामी यो संस्थालाई जिरो रेफर सेन्टरका रुपमा अगाडि बढाउन लागिरहेका छौं। हामी प्रत्यारोपण सेवा किन सुरु नगर्ने? प्रदेश १ र २ का बिरामी काठमाडौं किन आउने? हामीले छाताचोकमा रहेको पुरानो भवनमा विस्तारित सेवा सुरु गर्न लागेका छौं। आधारभुत सेवा त्यही पाउँछन्। बिपीको चाप यसले धेरै कम गर्छ। स्याटेलाइट क्लिनिक चलाउँदैछौं। जिल्लाका अस्पतालमा हामीले विशेषज्ञ सेवा विस्तार गर्दै जाने भनेका छौं। यसमा सरकारले हामीलाई सहयोग गर्नुपर्छ। हामी सेवा बढाउँदै लैजान खोजिरहेका छौं। हामी त्यो क्षेत्रका सबै जिल्ला सम्हालन सक्ने छौं।
पूर्ण विश्वविद्यालय बन्ने भनेर सिनेटले निर्णय गरेको छ। यसो गर्दैगर्दा बिपी प्रतिष्ठानको भौतिक चुनौति, आर्थिक चुनौति लगायत अन्य कस्ता चुनौति तपाईंले देख्नुभएको छ?
विश्वविद्यालय बन्ने क्रममा भनौं कि, हामीलाई सिनेटले मान्यता दिइसक्यो नेपाल सरकारलाई। नेपाल सरकारले प्रक्रिया, ऐन संशोधन भएपछि पूर्ण विश्वविद्यालय बन्नेछ। यसले हाम्रो अन्तर्राष्ट्रिय मूल्य मान्यता बढ्ने छ। कार्यक्षेत्र बढ्ने छ। क्षमता बढ्ने छ। यदि हामी सम्बन्धन दिने क्रममा पनि प्रत्येक कलेजको कार्यविधि बनाएर कुन कलेजलाई दिन वा नदिने कार्यविधि बनाएर मापदण्ड तयार गर्नुपर्यो। त्यसमा हाम्रो फ्याकल्टीहरु पनि बढी संलग्न हुने भए। त्यहाँ पनि टिचिङ गर्ने, उताको यता आउने सहकार्य पनि सुरु हुनसक्छ। तिनीहरुले आफ्नो आम्दानी बढाउन सक्छन्। आफ्नो काम विस्तार गर्न सक्छन्। जहाँसम्म मलाई लाग्छ, पूर्ण विश्वविद्यालय बनाउँदा हामीलाई कुनै आर्थिक चुनौति त लाग्दैन। र अरु कुनै चुनौति मैले देखिरहेको छैन। अब नेपाल सरकारको नीतिमा निर्भर गर्छ कसरी यसलाई पूर्ण विश्वविद्यालय बनाउने।
हामीसँग पर्याप्त भौतिक पूर्वाधार छ। विश्वमा उपलब्ध साधनहरु छन्। परीक्षा तथा प्रशासनिक सेक्सनहरु छन्। काउन्सिल छ।
मैले भनिरहेको पनि छु। हामी आर्थिक रुपमा आत्मनिर्भर हुन खोजिरहेका छौं। नेपाल मेडिकल काउन्सिल आएर हाम्रो भौतिक पूर्वाधार हेरोस्, हामीले उहाँहरुले तोकेको मापदण्ड पूरा गर्छौं भने हामीलाई किन सय सिटमा सिमित गर्ने? मैले मन्त्रीजीसँग पनि यो कुरा गरेको छु। बाहिर जानेलाई हामीले यहीँ रोक्न सक्छौं। गरिब तथा जेहेन्दारलाई हामी छात्रवृत्ति दिन तयार छौं। केही सिट भारतीयलाई दिन सक्छौं। त्यो त हाम्रो लागि आयस्रोत हो। मेडिकल टुरिजमको कन्सेप्टमा हामी प्रतिस्ठित मेडिकल कलेज छौं कि हामीकहाँ सबै पढ्न चाहन्छन्। यसबाट हामीलाई आम्दानी भयो। यो सिटको कुरामात्रै होइन। यसबारे नेपाल सरकारले विचार पुर्याइदिनुपर्छ। हामी मापदण्ड पूरा गर्छौं भने किन २ सय सिट नदिने? किन प्राइभेट कलेजसँग तुलना गर्नुपर्यो?
तपाईं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई ठूलै रकम बुझाएर उपकुलपति बन्नुभयो भन्ने आरोप छ। के भन्नुहुन्छ?
यस्ता कुरा मिडियामा आउनु दुर्भाग्य हो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपकुलपतिको लागि मेरो नाम एक नम्बरमै सिफारिस भएको थियो। त्यतिबेला अर्कै व्यक्ति बन्नुभयो। यसपटक पनि मेरो नाम एक नम्बरमै परेको हो। उपकुलपति त प्रचण्डजीले बनाउने हो, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। यस्ता कुराहरु आधारहिन, कपोकल्पित र छबि बिगार्ने मनशायले आएका हुन्। आरोपमात्रै हो। म आफैंमा रेडियोलोजिस्ट हुँ। वाहिर प्राक्टिक्स गर्न छाडेर जीवनको अमूल्य समय बिपी कोइरालामा बिताएको छु। तर आरोपहिन आरोपमा मेरो ध्यानाकर्षण भएको छ। यसलाई म खण्डन गर्छु। म योग्यता र क्षमताले भिसी भएको हुँ। मलाई बदनाम गर्न एउटा गिरोह नै लागेको छ। म खण्डन गर्छु।