शुक्रबार जुम्लाका विभिन्न भेगबाट द्वन्द्व पीडित एकल महिलाहरुले र्यााली निकाले। उनीहरुले डा गोविन्द केसीको समर्थन मात्रै गरेनन्, उनीप्रति निकै आभार व्यक्त गरे। त्यो आभारभावमा दूरगाउँको गरिबका पनि गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको विश्वास जोडिएको छ। र, डा केसीको आन्दोलन सफल भएमा त्यसको सुनिश्चिता हुन्छ भन्ने उनीहरुलाई लागेको छ।
एकल महिलाहरुको मात्रै होइन, कालिकोटको तिला गुफा नगरपालिकाका जनप्रतिनिधि पनि अनसनस्थल पुगे। उनीहरुले पनि डा केसीको मागप्रति ऐक्यवद्धता व्यक्त गरे। दूर गाउँका मानिसमा पनि डा केसीको आन्दोलनप्रति आशा जाग्नु र सफलताको निम्ति दबाब दिन अभिप्रेरित हुनुले थप अर्थ राख्छ।
काठमाडौंमा भने प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अनेकथरि दाउपेच राखेर बोलिरहेका छन्। उनीहरुका बोलीमा प्राय डा केसीप्रति असन्तुष्टि देखिन्छ। सुशासन, विकास र समृद्धिका पर्याय बनिरहेका प्रधानमन्त्री नै डा केसीप्रति शत्रुतापूर्ण सोच राखिरहेका छन्। उनको अभिव्यक्तिमा घुलेर आउने दम्भले त्यसको महसुस गराउँछ।
यो यस्तो समय हो, जतिबेला देशमा पहिलोपटक 'कम्युनिस्ट'हरुको एकल सरकार बनेको छ। र, यी तिनै कम्युनिस्टहरु हुन्, जसले सपनामा पनि न्यायपूर्ण समाजको चित्र देखेका थिए। राज्यको संस्थागत बहिस्करणमा परेका, शिक्षा तथा स्वास्थ्य सेवाको अवसर नपाएका, समान वितरणको लाभ नपाएकाहरुको आशा बनेका थिए। तर आज उनीहरु बदलिए। सोच र स्वार्थ पनि बदलियो। हिजो उनीहरुलाई आशाले हेर्ने जनता आज उनीहरुका लागि एक भोटभन्दा बढी केही भएनन्।
जनताको शिक्षा र स्वास्थ्य सेवामा सुनौलो व्यापारको सपना देखेकाहरुको चक्रमा फस्दै गएपछि स्वास्थ्य शिक्षा डरलाग्दो मनपरितन्त्रको दोसाँधमा आइपुगेको छ। जुम्लाको जनताले देखाएको डा केसीप्रतिको ऐक्यवद्धतामा दोसाँधमा आइपुगेको स्वास्थ्य शिक्षालाई सही बाटोतिर लैजाने चाह बाहेक अरु केही पनि छैन।
कम्युनिस्ट राजनीति गरिरहेकाहरुले महसुस गर्ने हो भने, डा केसीले उठाइरहेका माग त उनीहरुको हुनुपर्ने हो। कोही कम्युनिस्ट नेता अनसन बसिरहेको वा सदनमा टेबल ठोकिरहेको हुनुपर्ने हो। तर, स्वार्थको जालोमा आफ्ना र अर्काका मुद्दाको पहिचान नहुँदो रहेछ। जनता आफ्ना कि माफिया आफ्ना भनेर खुट्याउने चेत गुम्दो रहेछ।
भूइँमान्छेहरुलाई समेत सरकार होइन, डा केसी आफ्नो पक्षमा छन् भन्ने महसुस भइसकेको छ। जसले कम्युनिस्ट भनिनेहरुलाई चुनावमा भोट दिएका थिए र जुन आकांक्षाले दिएका थिए, उनीहरुलाई पनि सरकार कसको पक्षमा र डा केसी कसको पक्षमा भन्ने स्पष्ट भइसकेको छ। सिंहदरबारको 'आँखिझ्याल'बाट यो सत्य चिन्न जति ढिलाइ हुन्छ, उति नै सरकारले कम्युनिस्ट पार्टीको सरकार हुनुको वैधता गुमाउँदै जान्छ।
बहुमतयुक्त कम्युनिस्ट सरकार भएको बेला जनमुखी मुद्दाकै लागि यति बढी संघर्ष गर्नुपर्छ भने भन्न करै लाग्छ, सरकारले विवेक गुमाएको छ। विगत गुमाएको छ। लाज लागोस्, कम्युनिस्ट सरकारलाई।