डा.दीनदयाल घिमिरे र डा. सुनिता घिमिरे दुवै जना पेडियाट्रिसिएन (बालरोग विशेषज्ञ) हुन्। दीनदयाल त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत छन् भने सुनिता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा। यी दुई पेडियाट्रिसियन सहोदर दिदीभाइ हुन्। यी दुई मात्र होइन ३ जना सन्तान रहेको उनीहरुको परिवारका तीनैजना छोराछोरी मेडिकल फिल्डमा छन्। दिदी शशीकला घिमिरे चाँहि नर्स हुन्। आज हामीले यी दुवै डाक्टर दिदीभाइसँग तिहार विशेष कुराकानी गरेका छौं। तिहारको सम्झना उनीहरुका आफ्नै शब्दमाः
दिदीको डेलिभरी डेट नजिकिएकाले यस वर्ष टीका लगाउन पोखरा जाँदैछु
डा.दीनदयाल घिमिरे
हामी परिवारमा ३ जना छोराछोरी हौं। दुईजना दिदी र म। म परिवारको कान्छो सन्तान हुँ। ठूली दिदी नर्स हो भने सानी दिदी डाक्टर। ठूली दिदी त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी (इएनटी) विभागमा कार्यरत छ। सानी दिदी र म दुवैजना पेडियाट्रिसिएन हौं।
हामी ३ जनामा धेरै उमेरको अन्तर धेरै छैन। त्यसैले पनि हामीमा दिदीभाइभन्दा पनि बढी साथीको जस्तो सम्बन्ध छ। म सानैदेखि ज्ञानी स्वाभावको थिएँ रे। चकचके थिइँन रे। घरमा दिदीहरुसँग भाँडाकुटी खेल्थ्यौं। ठूली दिदीलाई टिभीमा सिरियल हेर्नुपर्ने तर मलाई स्पोर्टस् मनपथ्र्यो। तरपनि रिमोटका लागि झगडा गरिएन।
उहाँ आउँदा म चुपचाप बस्थें। उहाँलाई जे मन लाग्यो हेर्न रिमोट छोडिदिन्थें। सानो भएका नाताले पनि अलि बढी नै माया पाइन्थ्यो। दिदीहरुले हरेक कुरामा गाइड गर्थेे। अझसम्म पनि गर्दै आएका छन्। सुनिता दिदी ९ मा पढ्दा म ८ मा पढ्थेें। दुवै जनाले एउटै स्कुलमा पढेका हौं।
पढ्नमा हामी तीनैजना राम्रा विद्यार्थी थियौँ। हामीले आपसमा तँ भनेर सम्बोधन गर्छौँ।
एमबिबिएसका परीक्षा म भन्दा अघि दिदीले दिएको हो। उसले गरेको तयारी र पढाइले मलाई सजिलो भयो। त्यसैले पनि मेरो सुरुमै नाम निस्कियो। मेरो नाम निस्किएको कुरा उसलाई सुनाउँदा उ खुसीले गदगद भएकी थिई। हर्षले उसको आँसु नै आएको थियो।
बुवा सानैमा बित्नुभएको हो। सायद म त्यतिबेला ३–४ वर्षको थिएँ होला। मम्मी अनि हजुरबा÷आमाले हेर्नुभएको हो। मेरा लागि दिदीहरू जहिल्यै पनि अभिभावक जस्तै हो।
सानो दिदी राम्ररी पढ्थी। उसले प्लस टुमा नेपाल टप गरेको हो। ठूली दिदी घरकी अभिभावक थिई। बोल्ड स्वाभावकी थिई। सानी दिदी एकदम करियर केन्द्रित थिई। पढाइ भनेपछि कहिले दायाँबायाँ नगर्ने।
अहिले दुवैको बिहे भइसकेको छ ।
अहिलेसम्म भाइटीका लगाउन छुटाएको कुनै वर्ष नै छैन। अहिले सानो दिदी ‘प्रेग्नेन्ट’ छ। उसको ‘डेलिभरी डेट’ नजिकिँदै छ। त्यसैले ऊ आउन सक्दिन। दिदी पोखरा बस्छे। म टिका लाउन उतै जाँदैछु।
सबैभन्दा ठूलो त माया हो। उसले बनाएको भेज पनीर र मिक्स करी मनपर्छ। टमाटरको अचार त झन् कति हो कति। ऊ ‘भेज’ हो, त्यसैले मासुका परिकार बनाउदिन। खान मन लागे म आफैं बनाउँछु।
हामी संयुक्त रुपमा नै टीका लगाउछौं। दिदी भाइको विशेष दिन भाइटीका अझ विशेष लाग्छ मलाई। सानो हुँदा दसैंमा पाएको दक्षिणा दिदीहरुलाई नै दिन्थें। तिहारको रमाइलो मलाई मनपर्छ।
आफ्नो भाइ जहिल्यै पनि सानै लाग्ने रहेछ
डा सुनिता घिमिरे
उमेरमा धेरै अन्तर नभएपनि आफ्नो भाइ सँधै सानै लाग्ने रहेछ। हुन त ऊ पनि डाक्टर भइसक्यो तर पनि ठूलो भएको जस्तै लाग्दैन। भाइ सानैदेखि ज्ञानी स्वाभावको थियो जे भनेपनि मान्ने र कुरा नकाट्ने खालको थियो।
हामीले कहिल्यै झगडा गरेनौं। स्कूलबाट फर्कंदा म उसलाई चकहरु ल्याइदिन्थें। उसले बाटोभरी कोर्दै खेल्दै आएको सम्झना अझै ताजै छ।
आफूजस्तै भाइपनि डाक्टर पेसामा लागेको देख्दा खुसी लाग्छ। त्यसमा पनि एउटै विषयमा विशेषज्ञता हासिल गरेका छौँ। म सानैदेखि ‘फस्र्ट’ हुन्थें। ऊ चाँहि सानोमा मध्यम स्तरको विद्यार्थी थियो। कक्षा ९ देखि चाँहि ‘फस्र्ट’ हुन थाल्यो।
हामी तीन जनाबीच मात्र टीका हुँदैन, संयुक्त हुन्छ। ठूलोबुवाहरुको छोरीछोरी पनि सँगै हुन्छन्। हरेक वर्ष यसरी नै टीका लगाइरहेका छौं, अहिलेसम्म छुटेको छैन। मेरो डेलिभरी डेट नजिक आइसक्यो, यही मंसिर २ गते। भाइलाई नै यता आइज भनेकी छु। अब धेरै दिन छैन फ्लाइटमा जान पनि अप्ठ्यारो छ मेरो लागि।
मेरो एमबिबिएसमा नाम निस्किएपछि उसलाई पनि स्वतः नै मेरो फिल्डमा जाने इच्छा लाग्यो। पहिलो प्रयासमा नै नाम निकाल्न सफल भयो। त्यो देख्दा खुसी लाग्छ। हामीमा यतिसम्म हुर्केबढे पनि सम्बन्ध झन् प्रगाढ हुँदै गएको जस्तो लाग्छ। दिदीभाइको सम्बन्ध भाइटीकाले मात्र प्रगाढ बनाइदिन्छ, सार्थकता थपिदिन्छ। हुन त राम्रो सम्बन्ध भयो भने हरेक दिन विशेष हुन्छ। सँधै घरमा लगाइराखेको टीका यो वर्षसँगै नहुने हुँदा खल्लो हुन्छ होला।
प्रस्तुति : बुनु थारु