डक्टर्स आर्टिकल

जाडोमा बच्चामा देखिने समस्या र बच्ने उपाय 

डा अन्वेश भट्ट 

जाडो महिनामा मानिसमा विभिन्न शारीरिक समस्या देखिने गर्छन्। जाडोमा बच्चालाई झन् धेरै शारीरिक समस्याले सताउँछ, किनभने बच्चामा रोगसँग लड्ने क्षमता कम हुन्छ। 

५ वर्षभन्दा कम उमेरको बच्चालाई जाडोमा फोक्सोसम्बन्धी, स्वासप्रस्वासका समस्या बढी देखिन्छन्। जाडोमा यो समस्या ५ वर्षभन्दा माथिका बच्चामा पनि देखिन्छ तर यो ५ वर्षभन्दा सानो बच्चाको तुलनामा कम हुन्छ।

जाडोमा बच्चामा धेरै देखिने समस्या 
आस्थमा, रुघाखोकी, सिजनल फ्लु, इन्फ्लुएन्जा, मौसमी पखाला, ब्रोङ्काइटिस, पेट र स्वासप्रस्वाससम्बन्धी समस्या, हातखुट्टा फुट्ने र छाला खस्रो हुने समस्या बढी मात्रामा देखिन्छ। 

आस्थमा : आस्थमालाई नेपालीमा दम भनिन्छ। आस्थमा भनेको एलर्जीको समस्या हो। चिसोले बच्चाको श्वासनली साँघुरिन्छ, जसका कारण बच्चालाई घ्यारघ्यार हुने तथा सास फेर्न गाह्रो हुने जस्ता समस्या निम्त्याउँछ। जाडोमा चिसो तथा रुघाखोकीले गर्दा स्वासनली साँघुरो हुने समस्या बढी हुन्छ। त्यसैले बच्चालाई आस्थमा हुन्छ। 

ब्रोन्किओलाइटिस : जाडोमा यो समस्या धेरैजसो दुई वर्षभन्दा सानो बच्चालाई हुने गर्दछ। ब्रोन्किओलाइटिस एक प्रकारको भाइरल इन्फेक्सन हो। यसलाई एक प्रकारको भाइरल निमोनिया पनि भन्न सक्छौं। यसले गर्दा घ्यारघ्यार हुने, ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या उत्पन्न भएर कुनै–कुनै बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि आउन सक्छ। 

इन्फ्लुएन्जा : इन्फ्लुएन्जा भनेको फ्लु हो। बच्चामा जाडोमा मौसमी इन्फ्लुएन्जा बेलाबेलामा देखिन्छ। कुनै बेलामा धेरै च्यापेर सताउने गर्दछ। सिजनल रुघाखोकीले एक हप्तासम्म दुःख दिने गर्दछ। 

भाइरल डायरिया : भाइरल डायरिया धेरैजसो रोटा भाइरसले गर्दा हुन्छ। यसलाई कोल्ड डाइरिया पनि भनिन्छ। जाडोको समयमा यो भाइरल बढी सक्रिय हुने हुँदा चिसो मौसममा डायरियाले दुःख दिने गर्दछ। 
हातखुट्टा फुट्ने समस्या : जाडोको समयमा हातखुट्टा फुट्ने समस्या पनि देखिन्छ। यस्तो समस्याबाट बच्न पानी खाने, छालालाई चिल्लो पारेर राख्नु पर्दछ। 

समस्या निम्तिने कारण 
जाडोको बेलामा बच्चामा यस्ता समस्या देखिनुको मुख्य कारण भनेको संक्रमण नै हो। त्यसैले जाडोको समयमा पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ। जाडोमा किटाणुहरु बढी सक्रिय हुँदा पनि यस्तो समस्या देखिन्छ। त्यसकारण जाडोमा तातो लुगा लगाउने, तातो खानेकुरा खानुपर्छ।    

जाडोमा देखिने समस्याबाट बच्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ :
मौसमी रुखाखोकीबाट बच्चालाई नियमित रुघाखोकी लागेको छ भने सिँगान जथाभावी नफाल्ने। रुघा लागेको मानिसको नजिक नबस्ने, तातो खानेकुरा खाने, धेरै मान्छे भएको ठाउँमा घुलमिल हुँदा मास्क लगाउने, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने र सिँगान फालिसकेपछि राम्रोसँग हात धुने गर्नुपर्छ। 

आस्थमा चिसोले गर्दा लाग्ने भएकाले सकिन्छ भने बिहान र बेलुकाको चिसो हावामा बाहिर खेल्न ननिस्कने। यदि स्कुल पढ्ने बच्चा बिहान स्कुल जानु परेमा न्यानो लुगा लगाएर हिँड्ने। 

रोटा भाइरलको कारणले गर्दा पेटसम्बन्धी विभिन्न समस्या आएर झडापखला लाग्ने हुन्छ, त्यसैले अन्य मानिसलाई संक्रमण नहोस् भनेर दिसा गरिसकेपछि राम्रोसँग हातखुट्टा धुनुपर्छ। 

६ महिनाभन्दा ठूला बच्चालाई इन्फुएन्जाबाट बच्नको निमित्त खोप लगाउनुपर्छ। हरेक वर्ष इन्फुएन्जाका नयाँनयाँ किटाणु देखिने भएकाले डब्लुएचओले वर्षैपिच्छे बेग्लाबेग्लै खोप लगाउन आग्रह गर्छ।

स्तो खोप लगाउनाले इन्फुएन्जा धेरै मात्रामा कम गर्न मद्दत गर्छ। सरकारले निःशुल्क रुपमा निमोनियाको खोप लगाउँदै आएको छ। यदि कहीं बच्चाहरु निमोनियाको खोप लगाउन छुटेका छन् भने खोप लगाएर निमोनिया हुने सम्भावनालाई कम गर्न सकिन्छ। 

नवजात शिशुको स्याहार कसरी गर्ने ?
चिसोले नवजात शिशुलाई धेरै साताउँछ। त्यसैले नवजात शिशुलाई न्यानो पारेर नराखिए शरीरको तापक्रम कम हुन सक्छ। शिशुहरुले शरीरको तापक्रम आफैंले नियन्त्रण गर्न सक्दैनन्, त्यसैले जाडोमा बच्चाहरु कठ्यांग्रिएर शरीरले काम गर्न सक्दैन। कतिपय अवस्थामा चिसोले गर्दा बच्चाको मृत्युसमेत हुनसक्छ। त्यस कारण बच्चालाई न्यानो पारेर राख्नु पर्दछ। तर न्यानो पार्ने निहुँमा गुम्स्याउनु भने हुँदैन। धेरैले बच्चा तातो बनाउन कोठामा आगो बालेर हावा जाने ठाउँ नराखी गुम्स्याउने गर्दछन्। त्यसो गर्दा झन् गुम्सिएर स्वासप्रस्वाससम्बन्धी समस्या बढेर आउँछ। जाडो याममा सानो बच्चा भइराख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ तर कोठमा हावा आवतजावत गर्ने ठाउँ हुनुपर्छ। 

नवजात शिशुलाई रुघा सर्ने डर हुन्छ, त्यसैले ठूलो मानिसलाई रुघाखोकी लागेको छ भने सानो बच्चाभन्दा टाढा बस्नु पर्दछ। बच्चालाई रुघा लाग्यो भने निकै सताउने गर्दछ। 

नेपालमा शिशुलाई घाममा तेल लगाएर मसाज गर्ने चलन छ, जुन वैज्ञानिक हिसाबले राम्रो देखिन्छ। तर तेल लगाएर बच्चालाई बिहानको समयमा आधा घन्टा वा ४५ मिनेटमात्र घाममा राख्दा राम्रो मानिन्छ। नेपालमा दिनभरि बच्चालाई घाममा राख्ने चलन छ, जुन गलत हो। दिनभरि घाममा राख्दा बच्चाको शरीरमा भएको पानी उडेर जान्छ र तौल नबढ्ने, ज्वरो आउने जस्ता समस्या हुन्छ।

-बालरोग विशेषज्ञ डा भट्ट काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्  

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live