दाङ– नियमित सेवन गर्नुपर्ने सिकलसेल एनिमियाको औषधि अभाव हुँदा दाङका बिरामी मर्कामा परेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमित वितरण गर्नुपर्ने औषधि अभाव भएको भन्दै वितरण बन्द गरेपछि बिरामी समस्यामा परेका हुन्।
प्रतिष्ठानमा औषधि सकिएको २ साता बढी भइसकेको र सधँै खानुपर्ने औषधि नपाँउदा रोग बल्झिएको पीडितले गुनासो गरेका छन्।
नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि प्रतिव्यक्ति १ लाखसम्मको सुविधा उपलब्ध गराउँदै दाङको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिए पनि प्रतिष्ठानले औषधि वितरण गर्न सकेको छैन।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङको तथ्यांकअनुसार जिल्लामा १ सय ६० जना सिकलसेल एनिमियाका बिरामीका लागि प्रतिव्यक्ति १ लाख बराबरको रकम राप्ती उपक्षेत्रीय अस्पताल (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान)लाई हस्तान्तरण गरिएको थियो। सोही अनुरुप अस्पतालले पनि नियमित औषधि सेवन गर्नेहरूका लागि एक पटकमा एक महिनाको औषधि दिँदै आएको थियो।
तर, अहिले सिकलसेल एनिमियाका बिरामीले १५ दिनदेखि औषधि पाउन छाडेको बताएका छन्। एक महिनाको औषधि लिएर जाने र त्यो औषधि सकिएपछि फेरि अर्को महिना आएर लैजाने गरेको घोराही १७ कि कमला चौधरीले बताइन्।
‘मेरो औषधि सकिएको १५ दिन भयो। तर, अहिलेसम्म औषधि पाएको छैन,’ कमलाले गुनासो गर्दै भनिन्, ‘औषधि खान नपाउँदा हातखुट्टाको जोर्नी दुख्ने, लगातार ज्वरो आउने जस्ता लक्षण देखिएको छ।’
कमलासँगै उनको परीवारमा उनका ३ सन्तान पनि यही रोगले ग्रसित छन्। उनीहरु चारै जनाले नियमित रुपमा औषधि सेवन गरिरहेका छन्। गत चैतदेखि नियमित रुपमा औषधि सेवन गरिरहेका उनीहरूले औषधि नपाउँदा अस्पताल आफूहरूको स्वास्थ्यप्रति गम्भीर नभएको गुनासो पोखे। ‘हाम्रो नाममा आएको ४ लाख रुपैयाँ अस्पतालले सरकारसँग लिने तर हामीलाई भने औषधि नदिने, त्यो पैसा खोई?’ कमलाले प्रश्न गरिन्।
थारु समुदायमा देखिने यो रोगका बिरामी दाङमा प्रशस्तै रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। थारु बाहुल्य जिल्ला दाङमा यसको प्रभाव अन्य जिल्लाको तुलनामा बढी पाइएकोे छ। वंशाणुको आधारमा बढी प्रभाव पार्ने यो रोग थारु जातीमा बढी पाइने गरेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ।
दैनिकजसो बिरामीहरू औषधिको लागि अस्पताल आउने गरे पनि उनीहरूलाई रित्तो हात पठाउनु परेको अस्पतालका कर्मचारी बताउँछन्। ‘दिनुपर्ने औषधि हो तर के गर्नु? औषधी नै नभएपछि, छैन, आउँदै छ भन्नुको विकल्प छैन’ एक कर्मचारीले भने।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले प्रतिष्ठानमा मात्र नभई देशभरी नै औषधि अभाव भएको बताइन्।
‘हामी कहाँ मात्र होइन, देशभरीकै अस्पतालमा औषधि नभएको हो,’ उनले भनिन्, ‘स्टकिष्ट नै नभएकोले उपलब्ध गराउन नसकिएको हो, अरु औषधिजस्तो बजारमा किन्न पाइँदैन। तर जतिसक्यो चाँडो ल्याउने प्रयासमा छौँ।’
के हो सिकलसेल ?
सिकलसेललाई थारु समुदायले रगत खाने रोग भनेरसमेत चिन्छन्। चिकित्सकका अनुसार यो रोग मानिसको जीनमा हुने भएकाले जन्मसँगै आउने हुन्छ। यसले राता रक्तकोषमा असर गर्छ।
शरीरमा रहेका राता रक्तकोषमा हेमोग्लोविन हुन्छ। हेमोग्लोविनले कोषिकाहरुमा अक्सिजन तथा आवश्यक पोषकतत्व पुर्याउने काम गर्छ। तर, सिकलसेल भएपछि उक्त प्रक्रियामा असर गर्छ र शरीरमा विभिन्न समस्या उत्पन्न हुनेगर्छ।
फिजिसियन डा श्यामकुमार विकेका अनुसार स्वस्थ शरीरमा राता रक्तकोषको आकार गोलो सेलरोटीजस्तै हुन्छ र ती कोषहरु नरम र लचकदार हुन्छन्। तर, सिकलसेल भएका व्यक्तिको शरीरमा राता रक्तकोष निकै कडा भएर बस्ने र आकारसमेत फरक हुन्छ।
‘सिकलसेल भएपछि शरीरमा राता रक्तकोष घटेर नयाँ उत्पादनलाई प्रभावित बनाउँछ,’ डा विकेले भने, ‘जसका कारण शारीरिक कोषहरुमा आवश्यक पोषण र अक्सिजन पुग्न सक्दैन र शरीर खप्न नसक्ने गरी दुख्ने, छाती दुख्ने, रगत कम भएर पहेँलो हुने, निद्रा लागिरहने, जोर्नी बेस्सरी दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिन्छ।’ उनका अनुसार केही व्यक्तिमा पेट फुल्ने, प्यारालाइसिस हुने जस्ता लक्षण पनि देखिन्छन्।
सिकलसेल रोगको विशेष उपचार छैन। यसमा बिरामीको लक्षणका आधारमो उपचार गरिन्छ। यो रोगको आजीवन उपचार गर्नुपर्ने हुन्छ। यसले बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम गराउने भएकाले बिरामीमा अन्य संक्रमणसमेत देखिने डा विके बताउँछन्।
‘निमोनिया, ज्वरो, रुघाखोकीजस्ता समस्या बिरामीमा पटक–पटक देखिने गर्छ,’ उनले भने, ‘त्यसकारण लक्षण देखिनासाथ अस्पताल लगेर आवश्यक उपचार गराउनु नै उत्तम हुन्छ।’
उनका अनुसार रोगको समयमा नै उपचार नभएका बिरामीमा मुटु फेल भएर ज्यान जाने सम्भावनासमेत अधिक हुन्छ। शरीरमा रगत कमी हुँदा बिरामीलाई समय समयमा रगत चढाइरहनु पर्ने पनि हुन्छ। सामान्यतया शरीरमा हेमोग्लोविनको मात्रा १२ भन्दा बढी हुनुपर्ने हुन्छ। तर, यो रोगले बिरामीमा हेमोग्लोबिनको मात्रा ७ भन्दा तल भयो भने रगत चढाउनुपर्छ।