जनकपुर- हुनेखाने उमेरमा घरपरिवार मात्रै होइन, छरछिमेकी र गाउँ समाजले पनि राम्रो नजरले हेर्छ। जब उमेर ढल्दै गई रोगव्याधीले सताउँछ, सबै परपर हुन थाल्छन्।
आज यस्तै अवस्थामा बाँचिरहेका छन्, सिरहा नगरपालिका– ६ बसबिटाका ४४ वर्षीय गुञ्जन यादव। सबैका प्यारा उनलाई अहिले परिवाले नै छिःछिः दुरदुर गर्न थालेका छन्।
उनको अनुहारको दाहिने भागमा ठूलो ट्युमर पलाएको छ। उनको यो ट्युमर जन्मजात पलाएको भने होइन। चिकित्सकका अनुसार यो ट्युमर उपचार गराएपछि निको हुन्छ। उनको उपचारमा कसैले पहल गरेको छैन। आफ्नै घरपरिवारबाट पनि उनी हेलाको पात्र बनेका छन्।
उपचार त परै जाओस् घरपरिवारले उनलाई खानसमेत दिँदैनन्। उनी अहिले 'भिक्षा' मागेर आफ्नो जीवन गुजारा गरिरहेका हुन्छन्।
जनकपुरका डा दीलिपकुमार भन्छन्, 'उनलाई उपचारको लागि पहल गरियो भने रोग निको हुन्छ। हामीबाट हुने सहयोग निःशुल्क गर्न तयार छौँ। सुरुमा उनको घरपरिवार तयार हुनुपर्छ।'
यादवका छिमेकी वरुण साह भने परिवारले हेला गरेका कारण उपचारमा समस्या भएको बताउँछन्। 'उनी गरिब परिवारका होइनन्। हुनेखाने नै हुन्,' साहले भने, 'परिवारले उपचार नगरे उनीहरुलाई सामाजिक कारबाही गर्नुपर्छ।'
डाक्टरका अनुसार उनको ट्यमुटर काटेर फाल्नुपर्ने हुन्छ, जसका लागि शल्यक्रिया आवश्यक छ। यसमा परिवारको सहमति चाहिने भए पनि उनीहरुले नै चासो देखाएका छैनन्।
स्थानीय शिला दिनेश सिंहले आफूहरु उपचारका लागि जागरुक भए पनि परिवारले साथ नदिएको बताए। आफ्नो फेसबुकमा समेत उनले लेखेका छन्, 'उनलाई उपचार गर्न कति पटक प्रयास गरेँ। तर, उनको घरपरिवारले मानेका छैनन्। हामीले निःशुल्क उपचार गराउन तयार भए पनि परिवारले चासो नदिएकोले उनी जीवनमरणको दोसाँधमा बाँचिरहेका छन्।'