काठमाडौं- केही दिनअघि मात्रै सिलिन्डर ग्यास-हिटर लिक भई आगलागी हुँदा इन्जिनियर दम्पती पुष्कर जोशी र अप्सरा श्रेष्ठको मृत्यु भयो। उनीहरुका डेढ वर्षका छोरा मात्र बाँच्न सफल भए। उनी हाल उपचाररत छन्।
उनीहरुको उपचारमा संलग्न कीर्तिपुर अस्पतालका डा शंकर राईका अनुसार श्रीमतीको ३५ प्रतिशत भाग जलेको थियो भने श्रीमान्को ४५ प्रतिशत। जुन 'मेजर बर्न' हो।
‘दुवैको फोक्सो तातो हावा र विषालु ग्यासले बिग्रिसकेको थियो। त्यसमाथि शरीरको भाग पनि जलेकाले ज्यान बचाउन एकदम कठिन भयो,' डा राई बताउँछन्।
उता काठमाडौंकै शंखरापुर नगरपालिकामा बन्द कोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरी विन्दु मगरको मृत्यु भयो। पाँच महिनाकी छोरीसहित सुत्ने बेला उनले कोठाभित्र दाउरा र कोइला बालेकी थिइन्। कोठाको झ्यालढोका बन्द गरेर सुत्दा निस्सासिएर उनको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ।
ओखलढुंगाकी २९ वर्षीया दृष्टिविहीन महिला आगो ताप्ने क्रममा जल्न पुग्दा उनको ३० प्रतिशत शरीरको भाग जल्यो। उनको खुट्टाको धेरै भाग जलेको छ। उनले गुहार त मागिन् तर श्रीमान् कान नसुन्ने भएकाले जोगाउन सकेनन्। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल रिफर गरिँदैछ।
राम्री हिँडडुल गर्न नसक्ने ७० वर्षीया वृद्धा सलमा सल्केको आगोबाट जल्न पुगिन्। वृद्धाले न त आगो निभाउन सकिन् न त भाग्न नै। उनको शरीरको ३५ प्रतिशत भाग जलेको छ।
OOO
यी त भए केही प्रतिनिधि घटना।
जाडो मौसममा ससाना होसियारी नअपनाउँदा माथि उल्लिखित दुर्घटना भएका हुन्। विशेषतः पुस–माघ बढी जाडो हुन्छ। आफ्नो गच्छेअनुसार न्यायो राख्न हामी विभिन्न विकल्प अपनाउँछौं। कोठा न्यानो राख्न हिटर, कोइला तथा दाउरा बाल्छौं। त्यसैगरी नुहाउँदा तातोपानीका लागि हामी गिजर प्रयोग गर्छौँ । यी सबै चिज प्रयोग गर्दा राम्ररी सावधानी अपनाइएन भने ठूलो दुर्घटना निम्तिन सक्छ।
कीर्तिपुर अस्पताल बर्न वार्डका डा शंकर राईका अनुसार गर्मीभन्दा जाडोमा तुलनात्मक रुपमा आगोले पोलिएका बिरामीहरु बढी आउने गरेका छन्। उनका अनुसार जनवरीको हालसम्म मात्रै कीर्तिपुर अस्पतालमा आगोले पोलेर एक सय जना भर्ना भएका छन्। पोहोर साल यो संख्या १२२ रहेको थियो। उनी भन्छन्, 'हामीले वर्षभरि ५ सयदेखि ६ सय बिरामी हेर्छौँ। जसमा जनवरीमा धेरै यस्ता केस आउँछन्।'
नेपालमा छाला दान संस्कृति छैन। केही सुरुवात भए पनि चेतना छैन। 'हामीसँग छाला भारतबाट ल्याउनुपरेको छ, जुन खर्चका हिसाबले एकदम बढी छ,' डा राई भन्छन्, 'यसका लागि कम्तीमा २ लाख हाराहारीमा खर्च हुन्छ।'
उनका अनुसार ५ वर्षमा कीर्तिपुर अस्पतालमा १४ जनाले छालादान गरेका थिए। दुई जनाको त छाला प्रयोग गर्न मिलेन। बाँकी १२ जनाको छालाबाट १२ सय बिरामीको उपचार गरिएको उनी बताउँछन्।
जाडोमा हिटर, कोइला, दाउरा बाल्दा सावधानी पुर्याउनुपर्ने उनी सुझाउँछन्। अहिले आगो ताप्ने क्रममा पोलेका, कोइला बाल्दा निस्सासिएका केस बढी आइरहेको डा राई बताउँछन्।
‘बूढाबूढी मान्छेलाई जाडोले अलि बढी असर पार्छ। नजिकै बसेर आगो ताप्ने अनि लुगामा आगो लाग्यो भने तुरुन्त निभाउन नसक्ने हुन्छन्,’ उनले भने, 'घाउ पनि धेरै गहिरो हुन पुग्छ। त्यसैले उनीहरुको स्याहारसुसारमा कुनै कमी राख्नुहुन्न।’
वृद्धवृद्धामा विशेषगरी ६० वर्ष नाघेको मान्छेलाई शरीरको २० प्रतिशत जल्दा मेजर बर्न मानिन्छ। त्यति जल्दा एकदम गाह्रो हुने चिकित्सक बताउँछन्।
राष्ट्रिय ट्रमा सेन्टरका डा पियुष दहाल वृद्धवृद्धाले आगो ताप्दा एकदम नजिकबाट ताप्नु नहुने सुझाव दिन्छन्। आगो ताप्दा सारीजस्तो फैलिएको लुगाभन्दा अलि कसिलो लुगा लगाउनुपर्छ। जसले गर्दा आगो लाग्दा पनि छिट्टै थाहा मिलोस् अनि जोखिम कम होओस्।
जाडोमा ग्यास तथा केरोसिन हिटर बाल्नु एकदम खतरापूर्ण हो। त्यसका साथै कोइला अनि मटिट्तेल प्रयोग गर्दा त्यसले कोठाको अक्सिजन खाइदिन्छ। झ्याल तथा ढोका बन्द गरेर कहिल्यै पनि हिटर, कोइला बाल्नु हुँदैन।
डा राई भन्छन्, 'सिलिन्डर र केरोसिन हिटरभन्दा बरु इलेक्ट्रिक हिटर अलि उपयुक्त छ तर एकदमै सुरक्षित छ भन्न मिल्दैन।' इलेक्ट्रिक हिटरले हावा एकदम सुक्खा बनाउने हुँदा नजिकै पानीको भाँडो राख्न उनी सुझाउँछन्।
अहिले पिकनिक ताथ क्याम्प फायरिङमा जाने मौसम भएकाले पनि यस्ता दुर्घटना हुने गरेका छन्। डा पियुष भन्छन्, 'अघिल्लो वर्ष कन्टेनरमा रक्सी, पेट्रोल, मट्टिटेल हाल्नाले कन्टेनरनै पड्केर मानिसको मृत्यु भएको धेरै केश आउँथ्यो। त्यो अलि कम भएको छ।'
उनका अनुसार झ्यालढोका लगाएर मानिसले हिटर बालेर बस्दा मानिस होस हराएको जस्तो लठ्ठ हुन भई बेहोस हुन पुग्छ। जसले गर्दा जलेर मृत्यु पनि हुन सक्छ। राति सुत्दा हिटर बन्द गरेर सुत्न सुझाव दिँदै उनी भन्छन्, 'ग्यास लिक भएको जस्तो लाग्यो भने सुरुमा झ्याल ढोका खोल्नुपर्छ। अध्याँरो छ भनेर बत्तीको स्वीच अन गर्नु हुँदैन। किनकि त्यो बत्तीको झिल्काले ग्यासमा लाइटरको जस्तो काम गरेर पनि आगो टिप्न सक्छ।'
ग्यास लिक भयो भने बत्ती बालेर नहेर्न पनि उनी सुझाव दिन्छन्। 'बरु पानी हाल्नुस्। कपडा पानीमा भिजाएर रेगुलेटरको ठाउँमा चेक गर्न सकिन्छ। ग्यासले गर्दा फोकाफोकी आयो भने लिक भएको बुझ्नुपर्छ।'
जाडोमा ग्यास गिजर प्रयोग गर्दा सिधै नुहाउनुअघि हातमा थापेर चेक गरेर मात्र नुहाउनुपर्ने उनी बताउँछन्।