जोरपाटी, नारायणटारस्थित शंकरापुर एकडेमीको एक कक्षा कोठामा शिक्षिका बिनिसा घिमिरे एनाटोमी फिजियोलोजीको क्लास लिँदैछिन्। क्लासमा विद्यार्थी भरिभराउ छन्। सेतो सुरुवाल, कुर्ता र कालो स्विटरमा छात्राहरु पढिरहेका छन्। पोशाक हेरेरै उनीहरु नर्सिङका विद्यार्थी हुन् भनेर सहजै खुट्याउन सकिन्छ।
पहिलो बेन्चमा ३ जना छात्र पनि छन्। छात्रको पोशाक भने अलिक फरक छ। उनीहरुले गाढा निलो टाइ, बैजनी रङको सर्ट र कालो प्यान्ट लगाएका छन्। हेर्दा लाग्छ, उनीहरु अरु कक्षाका विद्यार्थी होलान्। तर ती छात्र पनि छात्राहरुकै सहपाठी हुन्। उनीहरु पिसिएल नर्सिङ पहिलो वर्षका विद्यार्थी हुन्।
विवेक खड्का, सागर रानापाल र सरोज हजारी गरी ३ जना अहिले शंकरापुर एकडेमीमा नर्सिङ अध्ययन गर्दैछन्। १०औँ ब्याचको पहिलो वर्षमा ४० जना विद्यार्थी रहेका छन्।
हाल सल्लाघारीमा बस्दै आएका रामेछापका १७ वर्षीय विवेक खड्काले मन्थली हायर सेकेन्डरी स्कुलबाट एसइई पास गरेका हुन्। एसइईपछि के पढ्ने भनेर अन्योलमा रहँदा उनका अंकलले केटाले पनि नर्सिङ पढ्न पाउने कुरा बताए। विवेकलाई नर्सिङ त केटीले मात्र पढ्छन् भन्ने लागेको रहेछ।
‘मेरो अंकल आर्मी हो, उहाँले आर्मी तथा पुलिस अस्पतालमा केटा नर्सको राम्रो स्कोप छ भनेर भन्नुभयो अनि मलाई पनि रुची जाग्यो, उनी भन्छन्।’
विवेक भन्छन्, ‘खासमा मैले त इन्जिनियरिङ पढ्ने सपना देखेको थिएँ तर अंकलले यसमा पनि भविष्य छ, राम्रो स्कोप छ भनेर सम्झाउनुभयो, अनि मैले यही पढ्ने निधो गरेँ।
त्यसैगरी विवेकसँगै पढिरहेका १८ वर्षीय सागर राना पाल पुरुषले पनि नर्सिङ पढ्न पाउने कुरा आफ्नो आमाबाट थाहा पाएको बताए।
उनकी आमा शंकरापुर अस्पतालमै नर्सको रुपमा कार्यरत छिन्। मनकामना हायर सेकेन्डरी स्कुल दक्षिणढोका थलीबाट एसइईमा जिपिए ‘ए’ ल्याएर पास गरेका सागर आफूले नर्सिङ पढेको सुनाउँदा साथीहरुले पनि राम्रो प्रतिक्रिया दिएको बताए।
सानैदेखि चित्रकलाका सोखिन सागरलाई एसइईपछि कम्प्युटर साइन्स नभए आर्टस्तिर जाने धोको थियो। तर अहिले उनको इच्छा मोडिएको छ। उनी नर्स बन्ने धुनमा छन्।
२७ वर्षीय सर्लाहीका सरोज हजारी पनि विवेक र सागरसँगै नर्सिङ पढिरहेका छन्। श्रीराम मोहित सिंह जनता माध्यमिक विद्यालयबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले दस जोड दुई र स्नातक विज्ञान विषयमा गरेका छन्।
३–४ वर्षदेखि लोकसेवा पढिरहेका उनले नर्सिङमा पुरुषको लागि पनि कोटा खुलेको गोरखापत्रमा थाहा पाएपछि पढ्ने इच्छा जागेको बताए।
‘यो विषय पुरुषले पनि पढ्न पाउने सुन्दा मैले फारम भरिहालेँ र नाम निस्कियो पनि। म लोकसेवाको तयारी पनि गरिरहँदा यो सिप सिकाइ हुन्छ भनेर पढेको हुँ,’ सरोज भन्छन्।
विवेक र सागर दुवैलाई अस्पतालमा नर्स बनेर सेवा गर्ने मन छ भने सरोजलाई अध्यापन गर्न। सरोज भन्छन्, ‘अस्पतालमा गएर अभ्यास गर्नुभन्दा मलाई नर्सिङ पढाउनमा रुची छ। म प्रध्यापनतिर लाग्छु होला।’
विवेकलाई त धेरै साथीले ‘हेर हेर सिस्टर आयो’ भनेर जिस्काउने गर्दा रहेछन्। तर आफूलाई केही फरक नपर्ने उनी बताउँछन्। सागरलाई भने उनका साथीहरुले ‘मलाई यस्तो समस्या परेको छ के औषधि खानेहोला’ भनेर सोध्ने रहेछन्। उनी पनि आफूले जानेको कुरा मजाले साथीहरुलाई बुझाइदिन्छन्।
सागर भन्छन्, ‘मैले नर्सिङ पढ्न थालेपछि विभिन्न प्रयोगात्मक अभ्यासमा जान पाएको छुँ, रोगको बारेमा अनि मानिसहरुको स्वास्थ्य स्थितिको बारेमा पनि थाहा पाउन सक्छु।’
यी ३ जना विद्यार्थी अहिले निकै राम्रो साथी भइसकेका छन्। एकाधबाहेक कहिले पनि क्लास छुटाउँदैनन्। शिक्षकहरुको पनि प्यारा विद्यार्थी हुन्।
सागर, विवेक अनि सरोजका सहपाठी हुन् छिरिङमा शेर्पा र मनुषा ठटाल। उनीहरुले सुरुमा केटाहरु पनि नर्सिङ पढ्न आउने रहेछन् भनेर सुन्दा छक्क परेको बताउँछन्। छिरिङमा भन्छिन्, ‘केटाहरुले पनि पढ्छ होला र नर्सिङ?
एक/दुई दिन पढ्छन् होला र छोडेर जान्छन् भन्ने लागेको थियो। तर उनीहरु हामीसँग मिल्छन्, हामी पनि राम्रो व्यवहार गर्छौं। केटाहरु भनेर जिस्काउँदैनौँ।’ मनिषा हाँस्दै सुनाउँछन्, ‘हामीलाई त उनीहरुको युनिफर्म कस्तो हुन्छ भनेर खुल्दुली लागेको थियो। हामी कुर्ता सुरुवाल लगाउँछौँ, उनीहरु के लगाउलान् भनेर?’
सागर भन्छन्, ‘मलाई नर्सिङ पढेर कुनै पछुतो भएको छैन। मैले पिसिएल यहाँ सिध्याएर स्नातकको लागि बाहिर अप्लाई गर्ने सोच बनाएको छु।’
सरोज भन्छन्, ‘नर्सिङ सेवामुखी पेसा हो। मलाई त अरुको सेवा गर्न आनन्द लाग्छ। अध्यापन गर्नु पनि सेवा गर्नु नै हो।’
यत्तिका केटीहरुको बीचमा सुरुमा अलि अनौठो लागेको विवेक बताउँछन्। ‘हामीलाई केटीहरुले निकै साथ सहयोग गर्छन्’, उनी भन्छन्, ‘मलाई भविष्यमा आर्मी तथा पुलिस अस्पतालमा नर्स बनेर सेवा गर्न मन छ।’
सागरको बुझाइ अहिले पुरुष र महिला हरेक क्षेत्रमा बराबरी छन्। उनको विचारमा इच्छाशक्ति भयो भने महिला र पुरुष दुवैले उत्तिकै राम्रो सेवा दिन सक्छन्।
शिक्षक बिनिसा भन्छिन्, ‘सुरुदेखि नै केटीहरुलाई पढाइराखेको भएर केटाहरु कस्तो आउने होलान्, अनुशासित होलान्/नहोलान् भन्ने लागेको थियो तर ठिकै छन्। एनाटोमी पढाउँदा केटीहरुको बीचमा लाज मान्ने पो हुन् कि भन्ने लागेको थियो, तर रुचीपूर्वक नै पढिरहेका छन्।’
शंकरापुर एकडेमीकी प्रिन्सिपल रुपश्री थापा भन्छिन्, ‘सरकारले पुरुषलाई पनि नर्सिङ पढाउने जुन प्रावधान ल्याएको छ, त्यो एकदम स्वागत योग्य काम हो।’
‘नर्स भनेको केटी मात्र हो भन्ने आम बुझाइ छ तर यो सेवाको भावनाले गरिने पेसा हो । यसमा केटा र केटी फरक पर्दैन,’ उनी भन्छिन्, ‘मैले देखेअनुसार त केटीहरुको भन्दा पनि यी ३ जनाको भविष्य उज्वल छ। मेरो आशा त अर्को वर्ष पनि यसैगरी केटाहरु आउन् भन्ने छ।