'कान्छा सुतिराछौ ? '
आफ्नै भाइलाई जस्तै मायालु स्वरमा कोठाभित्र पस्दै उनी हालखबर सोध्छिन् । यति सुन्नेलाई लाग्छ- एउटा दिदि आफ्नै भाइलाई भेट्न गइरहेकी छे।
त्यसपछि उनी सोध्छिन्- तिम्रो नाम के हो भन त ?
घरठेगाना, खानापानी, औषधिऔउपचार सोधेपछि उनी सहयोगीतिर संकेत गर्छिन्। सहयोगीले पैसा झिकेर दिन्छन्।
मनकारी उनी सोध्छिन्- कति छ २५ हजार । ३० हजार पुग्दैन। उताबाट नपुग्ने बताउँछन्। अहिले बैंक खुलेको छैन । एटिएम लिमिट भयो। केही पर्यो भने भन्नू । यो भिडियो राखेपछि अरुले पनि सहयोग गर्लान् !
फेरि उनी सोध्छिन्- पानी चाहिन्छ ? दिदिले मिनिरल वाटर किनिदिन्छे नि !
चामलको बोरा राख्न लगाउँदै उनी थप्छिन्- खाद्यान्न केही महिनालाई पुग्ला । गोली त झिक्यो नि ! औषधि खाँदैछौ ?
आशिका तामाङको फेसबुकमा फलो गर्ने २ मिलियनका लागि पछिल्लो एक हप्तादेखि यो आम दृष्य बनेको छ। देशको नेतृत्व र प्रणालीमाथि प्रश्न गर्दै यूवाहरुले सडक आन्दोलन गरे। आन्दोलनमा सयौं घाइते भए।
घाइतेको सरकारले नि:शुल्क उपचार गर्ने घोषणा गर्यो र पुरानो सरकार आफैं ढल्यो । नयाँ सरकार 'उठ्न' बाँकी छ।
सरकार 'विहिनता'को अवस्थामा 'आशिका दिदि' बेसहारा घाइतेहरुको भरोसा बनेकी छिन्। उनी घाइते युवाको कोठा खोज्दै पैसा र खाद्यान्न सहयोग गरिरहेकी छिन्। अस्पतालको बेड खोजेर उपचारबारे सोधीखोजी गर्दै आर्थिक सहयोग गरिरहेकी छिन् र अरुलाई पनि सहयोगका लागि भन्दै उनीहरुको नाम, नम्बर र ठेगाना सामाजिक सञ्जालमा राखिरहेकी छिन्।
कोमल हृदयकी यी समाजसेवी नर्सको निस्वार्थ सहयोग र आत्मीय स्वभावको अहिले सर्वत्र प्रशंसा भइरहेको छ।
आशिका पछिल्लो केही वर्षदेखि 'चर्चा'मै छिन्। उनले देशमा रहेका अनेक विकृतिमाथि प्रश्न उठाएकी छिन्। सुधार्न लगाएकी छिन्। त्यसबाफत उनले 'जेल-जरिवाना' समेत खेप्नुपर्यो तर उनी विचलित नभइ सक्रिय छिन्।
सहयोग गर्ने अवसर छाड्न नहुने उनको पुरानो मान्यता हो । सन् २०१३ तिर 'मोडेल'का रुपमा गरिएको एउटा अन्तर्वार्तामा उनले भनेकी थिइन्, 'मलाई सक्ने सबै काम गर्नुपर्छजस्तो लाग्छ। म कसैको नजरमा नपरेकी भए आज यो ठाउँमा हुँदैनथेँ। मलाई जसले यहाँ पुर्यायो, उहाँले भन्ने कुरा के हो भने सहयोग गर्ने अवसर सकेसम्म गुमाउनु हुँदैन।'
यो अन्तर्वार्ता गर्दा उनी बागबजारको पद्मकन्या क्याम्पसअघिको घरको पहिलो तलामा एउटा जर्मन भाषा पढाउने र पठाउने 'कन्सल्टेन्सी' चलाइरहेकी थिइन्। उनलाई फिल्ममा हिरोइन बन्ने ठूलो रहर थियो। नारीप्रधान फिल्म खेल्न उनको चाहना पछि उनी आफैंले फिल्म सुश्री बनाएर पूरा गरिन्।
उनले त्यही अन्तर्वार्ताका क्रममा आफूलाई यहाँसम्म आउन एकजना जर्मन नागरिकको भूमिका रहेको बताएकी थिइन्। त्यसैले नाम कमाउने र समाज सेवा गर्ने चाहना रहेको उल्लेख गरेकी थिइन्। उक्त अन्तर्वार्तामा अर्को प्रश्न थियो- यहाँसम्म चाहिँ कसले पुर्यायो ?
उनको उत्तर रहेछ, 'म धादिङ विकट तामाङ गाउँमा जन्मिएकी हुँ । सानै उमेरमा आमा गुमाएर बुवाले अर्कैसँग बिहे गरेपछि चितवनमा गएर अर्कैको घरमा काम गर्न थालेकी थिएँ । अझै याद छ, तातो घाममा साइकलमा घाँस बोक्दाका क्षण । काम गर्दै पढे पनि म जेहेन्दार विद्यार्थी थिएँ । त्यसैले जर्मन नागरिक त्यो स्कुलमा गएका बेला मलाई छोरी मानेर पढाउने निर्णय गर्नुभो । नर्सिङसम्म उहाँले नै पढाउनुभएको हो।'
त्यसपछि उनी जर्मनी गइन्। केही समय त्यहीँ बसिन् र विवाह पनि गरिन्। दुई सन्तानकी आमा बनेपछि उनी फेरि नेपाल नै फर्किइन्। उनी सन् २०१३ कुरा गर्दा जर्मन जाने तयारीमा थिइन्। तर फर्केर नेपालीमै केही सामाजिक कार्य गर्ने योजना रहेको सुनाउँथिन्। त्यहीबेला उनीसँग अर्को प्रतिप्रश्न गरिएको रहेछ- अहिले नेपाल फर्किने गफ दिएर जर्मनी पुगेपछि बेपत्ता हुने होला ?
उनको उत्तर रहेछ- 'आफ्नो देश भनेको आफ्नै हो । जोक गर्दा पनि हाँस्न नसकिने ठाउँमा के बसिएला र धेरै ? म त नामका लागि केही फरक गर्न खोज्ने केटी हुँ।'
उनले फरक मात्र होइन, अर्थपूर्ण काम गरिरहेकी छिन्। देशमै फर्केर केही गर्ने उनको सपनाले गति लिएको छ।
भाइटिका नजिकिँदै गरेको समयमा उनी धेरै बेसहारा भाइहरुका लागि 'आशिका दिदि'का रुपमा प्रकट भएकी छिन्।