यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य शिक्षा प्रवर्धक विधामा टेकुस्थित स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा कार्यरत शिला श्रेष्ठले अवार्ड पाएकी छिन्।
देश संघीयतामा पुगेको छ। तीन तहका सरकार छन्। तीनै तहमा स्वास्थ्य शिक्षाका कार्यक्रम छन्, र ती कार्यक्रम सञ्चालन गर्ने अधिकारी तोकिएका छन्। तर, ती सबै कार्यक्रमका लागि आवश्यक सन्दर्भ सामग्री, प्रस्तुति, सन्देश र सूचना निर्माणका लागि सबैले सम्झिने पात्र बनेकी छिन्- शिला श्रेष्ठ।
उनले २०७१ साल वैशाख १० गतेबाट नेपाल सरकारको सेवामा स्वास्थ्य शिक्षा अधिकृतको रूपमा प्रवेश गरेकी हुन्। त्यसको दुई वर्षपछि, २०७३ सालमा स्वास्थ्य शिक्षा प्रशिक्षकमा नाम निकालेर उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा पुगेकी हुन्। त्यहीँ उनी अहिले दशौँ तहमा कार्यरत छन्, र उनको सुरुको पोष्टिङ पनि त्यहीँ थियो।
संघीयता लागू भएपछिको पहिलो वर्ष उनी स्वास्थ्य मन्त्रालयमा सूचना अधिकारीका रूपमा कार्यरत रहिन्। त्यसपछि समन्वय महाशाखा अन्तर्गत स्वास्थ्य शिक्षा, जनस्वास्थ्य तथा सूचना शाखा प्रमुखको जिम्मेवारी सम्हालिन्।
सन्देश उत्पादन, एउटा जटिल प्रक्रिया
सन्देश उत्पादनलाई सामान्यतया ‘गम्भीर’ रूपमा लिने गरिँदैन। साधारण दृष्टिले हेर्दा “त्यति त गर्ने त हो नि” भन्ने लाग्छ। तर मुखले नभने पनि त्यस्तो व्यवहारले उनलाई पटक–पटक भेटिएको छ। उनी भन्छिन्, “कुनै सन्देश प्रवाह गर्नु भनेको एउटा प्रक्रिया मात्र होइन, मानिसको व्यवहार परिवर्तन गर्ने कार्य हो। जुन ठूलो कुरा हो।”

हरेक सन्देश निर्माणमा धेरै पक्ष विचार गर्नुपर्छ। त्यसमा मान्छेको रुचि, रीतिरिवाज, शिक्षाको स्तर लगायतका विषयमा मिहिन अध्ययन आवश्यक हुन्छ। “कस्ता सन्देशले प्रत्यक्ष प्रभाव पार्छ भन्ने कुरा ध्यान दिनुपर्छ। त्यसपछि मात्रै हामीले कस्तो सामग्री बनाउने हो भनेर निर्णय गर्छौं,” उनले भनिन्।
कहिलेकाहीँ सन्देशको लक्षित समूहसँग प्रत्यक्ष छलफल गरेर, उनीहरुको प्रतिक्रिया लिएर मात्रै निर्णय गरिन्छ। त्यसमा भाषा, समावेशिता, अपांगमैत्रीता लगायतका पक्ष पनि समेटिन्छ।
सन्देश सञ्चारका बहुमाध्यम छन्- सामाजिक सञ्जाल, आमसञ्चार, प्रभाव समूह र समुदाय। कुन माध्यमबाट कसरी जानुपर्छ भन्ने निर्णय पनि जटिल हुन्छ। त्यसका लागि उनी निरन्तर सक्रिय छन्।
अध्ययन दृष्टिबाट स्वास्थ्य विज्ञान भए पनि, सन्देश उत्पादन र कार्यान्वयनको प्रक्रिया समाजशास्त्रको हिस्सा जस्तो देखिन्छ। त्यसैले स्वास्थ्य सूचना उत्पादन, प्रसारण र प्रभावकारिताको प्रक्रिया जटिल हुन्छ। त्यो जटिल विषयलाई कार्यान्वयन गर्नमा उनी निरन्तर सक्रिय छन्।
सूचनामा सबैभन्दा महत्वपूर्ण कुरा एकरुपता हो। त्यसमा पनि सञ्चारका स्वाभाविक अवरोधलाई न्युनिकरण गर्दै प्रापकसम्म पुर्याउनुपर्छ।
“विभिन्न दिवस र रोग प्रकोपका अवसरमा विभिन्न क्षेत्रबाट फरक–फरक प्रकारका सूचनाहरु जाने गर्छन्। यसले आमजनमा कुन सन्देशमा विश्वास गर्ने भन्ने द्विविधा उत्पन्न गर्छ। त्यसैले सन्देशमा एकरुपता जरुरी हुन्छ,” उनले जोड दिइन्।
तर भुगोल, भाषा र सञ्चार माध्यममा असमानता छ। त्यसैले बुझाइमा विविधता स्वाभाविक हुन्छ। सुन्न र हेर्न सकिने सामग्री तयार गर्न आवश्यक छ, किनभने केवल पढ्न मिल्ने सन्देश पर्याप्त हुँदैन। उनका अनुसार स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले ३१ भाषामा सन्देश निर्माण गर्ने गरेको छ।
बजेट कटौती तर जिम्मेवारीमा बढोत्तरी
देश संघीयतामा गएपछि केन्द्रको बजेट र जनशक्ति कटौती गरिएको छ। तीन तहका सरकारले स्वास्थ्य शिक्षाका कामहरूमा पनि जिम्मेवारी बाँडेर सञ्चालन गर्नुपर्ने संघीयताको भावना छ। तर, तल्लो तहका सरकारहरूले अझै आफ्नो जिम्मेवारीका लागि डेडिकेटेड जनशक्तिको व्यवस्थापन गर्न सकिरहेका छैनन्।
त्यस्तो अवस्थामा, भरथेग केन्द्रले नै भूमिका निर्वाह गर्छ। ‘लोड’ थाम्ने कार्य शिला श्रेष्ठले निरन्तर गर्दै आएकी छिन्।
उनी भन्छिन्- “विभिन्न रोग थपिने र महामारी आउने क्रम जारी छ। यस्तो अवस्थामा पछि हट्ने विकल्प छैन। सीमित बजेट र जनशक्तिलाई अधिकतम प्रयोग गरेर काम गरिरहेका छौं। विभिन्न स्थानीय तहहरूलाई इमेलमार्फत् सामग्री पठाउँदै आएका छौं। उपलब्ध स्रोत साधनबाट अधिकतम फाइदा उठाउँदै काम गरिरहेका छौं। समयमा सूचना नपुग्दा विभिन्न भ्रमहरू सृजना हुन सक्छ। कोभिड–१९ महामारीले हामीलाई यसै पाठ सिकाएको हो।”
प्राथमिकतामा पार्न निरन्तर जोडबल
सरकारहरूले स्वास्थ्य सूचनालाई त्यति धेरै महत्व दिएको जस्तो उनलाई लाग्दैन। धेरैजसोमा “यसका लागि भिन्नै बजेट आवश्यक छैन” भन्ने सोचाइ देखिन्छ। यसको परिणाम केन्द्रले पनि भोगिरहेको छ। सूचना क्षेत्रलाई अत्यन्तै न्यून बजेट दिइएको देखिन्छ।
स्वास्थ्य सम्बन्धी सामग्री विद्यालय तहका पाठ्यपुस्तकमा समावेश गर्न केन्द्रले निरन्तर प्रयास गर्दै आएको छ। शाखा प्रमुखको रूपमा शिला श्रेष्ठले यसमा विशेष जोड दिइरहेकी छन्। उनी भन्छिन्- “२०७८ सालदेखि नै हामीले सुरुवात गरेका छौं। त्यतिबेला कक्षा ८ को पाठ्य सामग्रीमा स्वास्थ्य विषयवस्तु समावेश गर्न सफल भएका थियौं। हाल कक्षा ९ र १० मा पनि समावेश गर्ने प्रयास भइरहेको छ।”
नसर्ने रोग, धुम्रपान, सूर्तीजन्य पदार्थजस्ता विषयसहित मानसिक स्वास्थ्य, आत्महत्या जस्ता संवेदनशील विषय पनि पाठ्यक्रममा राख्न उनी निरन्तर सक्रिय छिन्। “यदि यी विषय समावेश भए, ८० हजारभन्दा बढी विद्यार्थीलाई सामग्री पुग्नेछ। विद्यार्थीमार्फत घर–घरमा पनि स्वास्थ्य सन्देश पुर्याउन सकिने अपेक्षा छ,” उनले भनिन्।
विद्यालय तहको पाठ्यक्रम लेखनमा उनको सक्रिय सहभागिता रहेको छ। पाठ्यक्रम त तयार भइसकेको छ र त्यसमा उनीलगायतले धेरै मेहनत गरेका छन्। यसको प्रभावकारितामा शंका छैन। तर, कक्षा ९ र १० मा स्वास्थ्य शिक्षा अनिवार्य नबनाइएसम्म अपेक्षित उपलब्धि हासिल नहुने चिन्ता छ। उनले जोड दिइन्- “कक्षा ९ र १० मा स्वास्थ्य शिक्षा अनिवार्य नभएकोले अध्ययन गर्ने विद्यार्थीको संख्या अत्यन्त कम छ। आगामी दिनमा स्वास्थ्य शिक्षालाई अनिवार्य बनाउनु पर्छ। स्वास्थ्य जीवनोपयोगी शिक्षा हो, त्यसकारण यसलाई अनिवार्य गर्नुपर्छ।”
उनको एउटै कुरामा निरन्तर जोड छ- स्वास्थ्य कार्यक्रम र स्वास्थ्य शिक्षा सँगसँगै लैजानुपर्छ। उनी भन्छिन्- “स्वास्थ्य मानिसको जीवनको व्यवहारिक पाटो हो। ज्ञान नहुँदा व्यवहार परिवर्तन सम्भव छैन। त्यसकारण ज्ञान दिन जरुरी छ। जस्तै खोप लिन जाने व्यक्तिको व्यवहार र बुझाइले पनि फरक पार्छ। त्यसका लागि सहयोगी वातावरण आवश्यक छ।”
संघीय मन्त्रालयको संरचनामा भए पनि उनी प्रदेश र स्थानीय तहमा पुग्ने आवश्यकतालाई अटुट मान्छिन्। स्वास्थ्य शिक्षा प्रवर्द्धन र प्रभावकारिता परीक्षणका लागि पनि स्थानीय तहसम्म पुग्नुपर्ने उनी बताउँछिन्। उनी भन्छिन्- “केन्द्रमा बनाएका सामग्री स्थानीय तहले कसरी लिइरहेका छन् भन्ने बुझ्नका लागि पनि हामी पुग्छौं। अन्तरक्रियाबाट प्राप्त सुझाव संकलन गर्न स्थानीय तहसम्म जाने गरेका छौं।”
स्वास्थ्य क्षेत्रमा लाग्ने रुचि
उनले अध्ययन थाल्दा बीएस्सी नर्सिङ नयाँ कार्यक्रम थियो। यसले उनलाई एक प्रकारको आकर्षण पनि दिएको थियो। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी सातौं व्याचकी विद्यार्थी हुन्। बाल्यकालदेखि उनीमा सेवा भाव थियो, र करियरको राम्रो अवसर हुने ठानेर नर्सिङ रोजेकी थिइन्।
उनले खुलाइन्- “मानिसहरूसँग नजिक पुग्दा र प्रत्यक्ष रूपमा दुखमा सेवा गर्दा मनमा शान्ति मिल्छ। त्यसैले मैले नर्सिङ विषय रोजेकी हुँ।” नर्सिङ अध्ययनका क्रममा उनले बिरामीसँग प्रत्यक्ष काम गर्ने अनुभव पाइन्। तर त्यसपछि उनको बाटो शिक्षणतर्फ मोडियो। उनी भन्छिन्- “पढाइ सकिने बित्तिकै पढाउने जागिर पाइएकोले त्यसतर्फ लागें। विद्यार्थीलाई अस्पताल लैजाँदा फेरि बिरामीसँग नजिक आइयो, तर अस्पतालमा प्रत्यक्ष काम गर्ने अवसर पाइन।”
पछि उनले मास्टर्स इन हेल्थ एजुकेशन, ढाका विश्वविद्यालयबाट अध्ययन पूरा गरिन्। त्यसपछि एसिस्टेन्ट लेक्चररका रूपमा ओम हेल्थ क्याम्पसमा काम गरिन् र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ नर्सिङमा साढे ३ वर्षसम्म कम्युनिटी हेल्थ नर्सिङ पढाइन्।
त्यस क्रममा उनलाई अनुभव भयो- “काम गर्दा भन्दा विद्यार्थीलाई आफूले जानेको ज्ञान दिनु अझ प्रभावकारी हुन्छ। जनस्वास्थ्यको विषयले अझ धेरै मानिससम्म पुग्न सक्छ।”
अझै फराकिलो दायरामा प्रभाव पुर्याउने सोचले उनलाई स्वास्थ्य शिक्षातर्फ मोडायो। स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्य साक्षरता बढाउने क्षेत्रमा काम गर्नका लागि पढाउने अनुभवले उनलाई प्रेरित गर्यो। उनी भन्छिन्- “मान्छेहरुलाई ज्ञान र सीप दिँदा व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने कुरा कम्युनिटी हेल्थ नर्सिङ पढाउँदा महसुस भयो। हेल्थ प्रमोसन पढ्न छात्रवृतिको अवसर पनि आयो। त्यसैले म हेल्थ प्रमोसनतर्फ लागें।”