सिरिन्जको खोल च्यात्दै थिएँ
अर्धबेहोसी आमाका आँखा पुलुक्क खुल्छन्
सायद जीवनका निराशा हराए होलान्
भविष्यमा बाच्ने आशा पलाए होलान्
हो तिनै हजारौं आमा
मेरा हातको भरोसामा बाँचे होलान्
अनि हजारौं नानी
मेरो हत्केलामा नाचे होलान्
त्यही सेतो कोटको प्रतीक्षामा
तिनै आमाका हर्षका टुसा उम्रिए होलान्
सलाइनको बोतल फेर्दै थिएँ
१९ नं बेडबाट लामो सुस्केरा निस्कन्छ
कठैबरा ती बूढा बाको
सायद बाँच्ने रहर जागे होलान्
भगवान्का आस्था पलाए होलान्
सन्तानका माया टलपल भरिए होलान्
थुप्रै अपुरा सपना बुनिए होलान्
त्यही सेतो कोटको नि:स्वार्थ स्याहारले
ममताको न्यानोपनाहरू फैलिए होलान्
चहराएका घाउमा मल्हमपट्टी लगाउँदै थिएँ
इमर्जेन्सी कोठाको कुनाबाट चिच्याहट सुनिन्छ
ती अबोध बालकको
सायद मेरा हातमा विश्वास बढ्यो होला
अलौकिक त्यो आमाको काख बिर्सियो होला
निर्दोष मष्तिसकमा शान्ति छायो होला
अनुपम त्यो बालापन फेरि मौलायो होला
हो, त्यही सेतो कोटको अनवरत सेवाले
स्वस्थ र सुन्दर जीवन फेरि फर्कियो होला
अक्सिटोसिन लोड गर्दै थिएँ
ऐया र अत्था एकैसाथ गुन्जिन्छ
ती दु:खी दिदीको
सायद मेरो ढाडसले पीडाहरू पखालिए होलान्
च्यातिएका घाउहरू पुरिए होलान्
सन्तानको रहर भरिपूर्ण भए होलान्
जीवन जिउने आधारहरू अग्लिए होलान्
हो अनि
त्यही सेतो कोटको सिप र दक्षताले
हजारौं बच्चा र आमाहरू जोगिए होलान्।