गाईघाट निवासी ८४ वर्षे वृद्घ विगत ५ वर्षदेखि हिपको दुःखाइले थलिएका थिए। उनलाई हिँड्डुल गर्न पनि अप्ठ्यारो हुन्थ्यो। सहनै नसक्नेगरी दुख्थ्यो। कसैले उनलाई हिपको प्रत्यारोपण गरे जोखिम धेरै हुन्छ भनेर सुनाइदिएको रहेछ। उनी प्रत्यारोपण गर्न डराइरहेका थिए। तर अन्तिममा अरु विकल्प नभएपछि परामर्श लिएर उनी प्रत्यारोपण तयार भए। अहिले उनको सफल प्रत्यारोपण भइसकेको छ र उनी २–३ दिनमै राम्ररी हिँड्न सक्ने भए। अहिले उनी रेगुलर फलोअपमा छन््। डाक्टरले नयाँ जीवन दिए भनेर खुसी छन् उनी।
000
७० वर्षे आमा विगत १० वर्षदेखि दुवै घुँडाको दुःखाइको पीडामा बाँचिरहेकी थिइन्। घुँडाको दुःखाइले उनी ह्विलचेयरमा बस्न बाध्य थिइन्। उनको दुवै घुँडा नराम्ररी खिइसकेको थियो। उनी अन्तिम स्टेजसम्म आइसकेकी थिइन्। एक–दुई पाइला पनि चाल्न नसक्ने स्टेजमा आइसकेकी थिइन्। उनले विभिन्न अस्पतालमा देखाइन्। सबै ठाउँमा उनलाई जोर्नी प्रत्यारोपण गर्नुपर्छ भनेर सल्लाह दिइएको रहेछ। तर उनले प्रत्यारोपण गराइहाल्ने माइन्ड मेकअप सेट गर्न सकिराखेकी थिइनन्। पछि उनको प्रत्यारोपण गरियो। अहिले उनी मज्जाले हिँड्न सक्ने भइसकेकी छिन्।
000
४० वर्षका नगेन्द्र विक विगत १०–१५ वर्षदेखि हिपको दुखाइबाट पिडित थिए। बाथ रोगले हिपको दुखाइ भएको थियो। उनको दुवै हिपमा खराबी आएको थियो। राम्ररी हिँड्नसमेत नसकेपछि उनी अन्ततः ह्विलचेयरमा बस्न बाध्य भए। यस्तो अवस्थामा उनकी श्रीमतीले पनि छाडेर गइन्। उनलाई एक संस्थाले उद्धार गर्यो। संस्थाले उनलाई राष्ट्रिय ट्रमा सेन्टर ल्यायो। गतवर्ष उनको एउटा हिपको प्रत्यारोपण गरियो। त्यसपछि उनलाई ह्विलचेयरबाट वैशाखीमा सारियो। उनको ६ हप्ता अगाडि अर्को हिपको पनि प्रत्यारोपण गरिएको छ। उनी वैशाखीबाट पनि निस्केका छन्। अहिले मज्जाले हिँड्न सक्छन्।
000
वीरगञ्जका १७ वर्षीय हरेराम पण्डित दुर्घटनामा परे। हड्डीहरुमा चोट लाग्यो। विभिन्न ठाउँमा उपचार गराउँदा उनलाई जोर्नी फेर्ने सुझाव दिइयो। नेपालमा प्रत्यारोपण गराउँदा धेरै पैसा लाग्छ भनेर विभिन्न मानिसहरुले भनेको उनले सुने। त्यसैले निर्णय गर्न सकिरहेका थिएनन्। दुःखाइ सहेर बसिरहेका थिए। उनी विगत एक वर्षदेखि वैशाखीमा हिँड्न बाध्य थिए। उनले ट्रमा सेन्टरमा प्रत्यारोपण गराए र ६ हप्तामा नै हिँड्न सक्ने भए।
000
यी सबै उदाहरण जोर्नी प्रत्यारोपण गराएका व्यक्तिहरुका हुन्। यस उदाहरणमा १७ वर्षे युवकदेखि ८४ वर्षे वृद्धको जोर्नी प्रत्यारोपण गराएको कथाक्रम छ। यसबाट के बुझ्न सकिन्छ भने, जोर्नी दुखाइबाट युवादेखि वृद्धसम्म पीडित छन्। जोर्नीको दुःखाइ मानिसले वर्षौंदेखि पनि सहिरहेका हुन्छन्। त्यसरी सहेर बस्दा धेरै जना वैशाखीको सहारा बन्न पुग्छन् भने ह्विलचेयरमा समेत बस्न बाध्य बन्न सक्छन्। तर समयमा डाक्टरको सल्लाह लिइयो भने निको हुन्छ, निदान पाउन सकिन्छ। फेरि ठमठमी हिँड्न सकिन्छ। नयाँ जीवनको अनुभत गर्न सकिन्छ।
के हो जोर्नी प्रत्यारोपण ?
शरीरका जोर्नीमा विभिन्न कारणले गर्दा दुखाइ महसुस हुन्छ, जसले नियमित कार्य गर्न अप्ठ्यारो पार्छ। यस्तो अवस्थामा शरीरका बिग्रिएका जोर्नीहरु विशेषगरी (घुँडा र हिप) लाई अपरेसनको सहायताले कृत्रिम जोर्नी राख्ने कार्यलाई जोर्नी प्रत्यारोपण भनिन्छ।
किन बिग्रन्छ जोर्नी ? के हुन् कारण ?
उमेर बढ्दै गएपछि हड्डी खिइन थाल्छ। उमेर बढ्दै गएर हड्डी खिइनुलाई ओस्टियो आरथाइटिस वा जोर्नी खिइने समस्या भनिन्छ। त्यसका साथै यदि पहिले जोर्नीमा संक्रमण छ भने पनि यो बिग्रिन्छ। त्यसैगरी जोर्नीमा चोटपटक लागेमा, बाथरोग, क्षयरोग, युरिक एसिड आदिले पनि जोर्नी खिइने समस्या आउन सक्छ। व्यस्त जीवनशैली, अस्वस्थ्य खानपान, मोटोपन र नियमित शारीरिक अभ्यासको कमीले पनि जोर्नीमा समस्या आउन सक्छ।
लक्षण के हुन सक्छन् ?
जोर्नीको समस्यामा दुखाइ नै प्रमुख लक्षण हो। दुखाइको सुरुवाती दिनमा बिरामीलाई पलेंटी कसेर बस्दा, हिँडडुल गर्दा वा भ¥याङ ओर्लंदा पनि समस्या आउँछ। पछि दुखाइ बढ्न गई हर समय दुखिरहने र पछि दुखाइ एकदम बढ्न थालेपछि त मानिसलाई राति सुत्नसमेत निकै अप्ठ्यारो हुन थाल्छ। खुट्टा बाङ्गो हुने, जोर्नी सुन्निने जस्ता समस्या पनि यसका लक्षण हुन्।
जोर्नी दुख्ने समस्या जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ। प्राइमरी ओस्टियो आरथाइटिस उमेरअनुसार घुँडा खिइने समस्या हो। उमेरको कारणले आफैं स्वतः त्यो खिँइदै जान्छ, जसरी आफैं कपाल फुल्ने वा मुहारमा चाउरी परेजस्तै। घुँडा तथा हिप बिग्रने समस्या हाम्रो नियन्त्रणमा त हुँदैन, त्यसमा सावधानी अपनाउन भने सकिन्छ।
अहिले मानिस अल्छी भएको छ। धेरै खाने, मोटाउने तथा शारीरिक व्यायाम एकदम कम भएको छ।
एक्सरे गर्दा बिरामीको ४ वटा ग्रेड हुन्छ। १ गे्रड भनेको सुरुवाती अवस्था हो भने ४ ग्रेड भनेको अन्तिम अवस्था हो। १ र २ सम्ममा बिरामीलाई फिजियोथेरापी, जीवनशैली परिवर्तन, औषधि जस्तै नसा, जोर्नीको भिटामिन, क्यालसियम आदिले काम गर्छ भने ३ देखि ४औं स्टेजमा गइसकेपछि औषधिले काम गर्न छोड्छ। र, प्रत्यारोपण नै गराउनुपर्ने हुन्छ।
उपचार खर्च कति लाग्छ ? उपचार सेवा कहाँ लिने ?
जोर्नी प्रत्यारोपणको सेवा नेपालमा प्राइभेट तथा सरकारीस्तरमा उपलब्ध छ। अस्पतालपिच्छे शुल्क फरक छ। तुलनात्मक रुपमा सरकारीमाभन्दा प्राइभेटमा शुल्क अलि बढी छ। नेपाल अर्थोपेडिक अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती सेवा अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्रान्डी अस्पताल, स्टार अस्पताल, मेडिसिटी अस्पताल आदिले यो सेवा दिइरहेका छन्।
एउटा घुँडा वा हिपको प्रत्यारोपण गर्न नेपालमा साढे दुई लाखदेखि ६ लाखसम्म पर्छ। यस विषयमा नेपालमा त्यति अध्ययन गरिएको पाइँदैन, तर जोर्नी दुखाइ भई हस्पिटल आउने बिरामीको संख्याका आधारमा करिब १ लाख मानिसको जोर्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको चिकित्सक बताउँछन्। हाल नेपालमा वर्षमा ५–६ सय जोर्नी प्रत्यारोपण भइरहेको छ, जुन आवश्यक संख्याभन्दा एकदमै कम हो भनेर भन्न सकिन्छ।
प्रत्यारोपणपछि बिरामीले के सावधानी अपनाउनुपर्छ ?
जोर्नी प्रत्यारोपण गराएपछि यसका फाइदा भनेको दुखाइ कम हुनु हो। हिँड्न तथा उठ्नसमेत नसक्नेहरु मज्जाले हिँड्न सक्छन्। र, सहज रुपमा नियमित कार्य गर्न सक्छन्। केही समयपछि उनीहरुले गाडी चलाउने, साइकल चलाउने, पौडी खेल्नेजस्ता नियमित कार्य गर्न सक्छन्। तर प्रत्यारोपणपछि केही सावधानी भने पक्कै अपनाउनुपर्ने हुन्छ।
अपरेसनपश्चात बिरामीलाई भुँइमा पलेंटी कसेर बस्नुहुँदैन, साथै गह्रुँगो भारी पनि उचाल्न हुँदैन। यो एउटा जटिल शल्यक्रिया हो। अपरेसनपश्चात संक्रमण हुन नदिन बिरामीको सम्पूर्ण जाँच गरेर मात्र अपरेसन गरिन्छ। सफल अपरेसनको ३–४ दिनमा नै बिरामीलाई वैशाखीको साहरामा हिँडडुल गर्न लगाइन्छ। त्यसैगरी ७–१० दिनसम्म अस्पतालमा राखी उपचार र फिजियोथेरापी गराइन्छ। पूर्ण रुपमा बिरामी ठिक हुन २–३ महिना लाग्छ।
अपरेसनपश्चात नियमित फिजियोथेरापी गर्नु पर्दछ। संक्रमण हुन दिनुहुन्न। पलेंटी कसेर नबस्ने, वजन घटाउने, उकालो–ओरालो नगर्ने, बाथको उपचार राम्ररी गर्नुपर्दछ। दुर्घटना भएको खण्डमा राम्ररी उपचार हुनुपर्छ। र, डाक्टरको सल्लाह उचित रुपमा पालना गर्नुपर्दछ।
नकारात्मक धारणाले प्रत्यारोपणमा असहज
नेपालमा अहिले उपचार सेवा सहज छ। विदेश धाइरहनुपर्दैन। जोर्नी प्रत्यारोपण नेपालमा सहज भइसकेको छ। विशेषज्ञ चिकित्सकहरुले प्रत्यारोपण गरिरहेका छन्। प्रत्यारोपणमा जोखिम नहुने होइन। हरेक सर्जरीमा हुन्छ, तर नेपालमा गरिएका जोर्नी प्रत्यारोपणमा एकदम कम संक्रमण दर पाइएको छ। विभिन्न प्रकारका भ्रमले यस प्रकारका बिरामी प्रत्यारोपण गर्नका लागि सहजै तयार हुँदैनन्।
यसको अपरेसन गरेपछि झन् बिरामीहरुलाई हिँडडुल गर्न गार्हो हुन्छ भन्ने भ्रम छ। डा.सुमनबाबु मरहठ्ठा भन्छन्, ‘बिरामीको दुखाइ कम गर्न र उसलाई पुनः आफ्नो नियमित जीवनमा फर्काउन यस अपरेसनले ठूलो भूमिका खेल्दछ। अपरेसनपछि झन् दुख्छ भन्नु गलत हो।’
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा ऋषि विष्ट भन्छन्, ‘१० जना बिरामीलाई प्रत्यारोपणका लागि परामर्श दिँदा १ जना मात्र तयार हुन्छन्, जसमा घुँडा प्रत्यारोपणको लागि सम्झाइ–बुझाइ गर्न झन् कठिन छ।’
सिभिल अस्पतालका डा दीर्घराज आरसी भन्छन्, ‘नेपालमा जोर्नी प्रत्यारोपण कम हुनुको प्रमुख कारण जनचेतनाको अभाव र गरिबी हो। दक्ष जनशक्तिको अभाव, उपयुक्त जोर्नी प्रत्यारोपणको सेन्टरको कमी अनि भ्रामक सोचाइले जोर्नी प्रत्यारोपण कम भइरहेको छ। अहिले प्रत्यारोपणका लागि कृत्रिम जोर्नी बिरामीले आफैं किन्नुपर्ने भएकाले यसलाई सबैले ‘अफोर्ड’ गर्न सक्दैनन्।’