ऊ
जवानीको रसहरूमा
केही गरुँला र केही भरुँला
भनी
अपार मायाको भकारी भर्न
तम्तयार बस्छे,
ऊ
दिव्य परीजस्तै
सुकुमाराङ्गिनी भएर
मेरै वरिपरि नाच्छे,
ऊ
मानव मूर्तिको रचना गरेर
प्रेमको वरदानहरु माग्छे,
ऊ
सहज सामर्थ्यभित्र
आँखा भएर पनि प्रेम अन्धो हुन्छ भन्दै
कल्पनामा मात्र दृश्यमान हुन खोज्छे,
ऊ
मौलिकता बुझ्दिन
नक्कल मात्र गर्छे,
ऊ
प्रेम नै दिव्य शक्तिको मानव आभास हो भन्छे,
यो जुनीमा तिमी संग जोडिनु
परमेश्वरको हुकुम हो भन्छे,
ऊ
मेरो उपस्थितिलाई प्रतिबिम्ब मान्छे
अनि
समाजका सीमाहरु उल्लङ्घन गर्छे,
ऊ
एक चुट्कीमा
ऐना अगाडि
आफूमा सुन्दरताहरू भर्छे
अनि नजरहरूलाई मात खुवाउँछे,
ऊ
हिपोक्रेत्सका ओथहरूमा
मुनामदनका भाकाहरू मिसाउँछे,
ऊ
मेरो सेतो एप्रोनको खल्तीमा
आफ्नो सपना लुकाउँछे,
इस्थेत मेरो कानमा घुसारी
आफ्नो ढुकढुकी सुनाउँछे,
ऊ
मलाई भेट्न बिरामी भएको
नाटक गर्छे
अनि हस्पिटल धाउँछे,
ओपिडीमा डेटिङ गरेर
भ्यालेन्टाइन डे मनाउँछे,
बिरामीको हिस्ट्री लिने कागजमा
प्रेम पत्र छपाउँछे,
मैले पढ्ने
ह्यारिसन र डेभिड्सनमा
आफ्ना तस्बिर लुकाउँछे,
ऊ
मसँग
बिरामीले भन्दा बढी प्रश्न गर्छे,
डाइरेक्टरले भन्दा बढी
खबरदारी गर्छे,
एचओडीले भन्दा बढी
रेखदेख गर्छे,
औषधिले भन्दा बढी
रियाक्सन गर्छे,
नाइट ड्युटिले
भन्दा बढी ह्यांग गराउँछे,
बिरामीका आफन्तले झैँ
घरि घरि हप्काउँछे
कहिलेकाहीँ त
एमआरहरूले जस्तै मिठो फकाउँछे
साँच्चै
ऊ
स्वर्गका अप्सराहरूजस्तै
वैराग्य मेरो पेसामा
रहरलाग्दा रंगहरु फिजाउँछे,
ऊ अर्थात
मेरी प्रेमिका
डाक्टरकी प्रेमिका!
(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानका जुनियर इन्टर्न हुन्)