पोखरा– अघिल्लो शनिबार।
मध्यान्ह १२ बजे।
पोखरा–९, नयाँबजारस्थित गण्डकी मेडिकल कलेज। मुलगेटको बायाँपट्टि क्यान्टिन, फार्मेसी र प्रयोगशाला भवन। सोही भवन अगाडि केही विद्यार्थीहरु भुइँमा कार्पेट बिच्छाउन तल्लीन देखिन्थे।
फराकिलो करिडोर हुँदै हामी भवनको पछाडिको भागसम्म पुग्यौं। कलेजका केही बस र मोटरसाइकल पार्किङ गरिएका थिए। बाँकी भाग खाली थियो। सो भागमा कलेजभित्र प्रवेश गर्न सकिने दोस्रो गेट पनि रहेछ।
फर्किंदाखेरि विद्यार्थीहरुले प्रयोगशाला ब्लक लेखिएको सटरमा कालो पृष्ठभूमिमा विरोध कार्यक्रम लेखिएको ब्यानर टाँग्न भ्याइसकेका थिए।
जसमा ४ मागहरु उल्लेख गरिएको थियो।
१) अतिरिक्त रकम तुरुन्त फिर्ता गरियोस्।
२) सरकारले तोकेको नीतिनियम अक्षरश: पालना गरियोस्।
३) विद्यार्थीले तिरेको सम्पूर्ण रकमको बिल, भौचर र रसिद उपलब्ध गराइयोस्।
४) मेडिकल कलेजभित्र रहिआएका विभिन्न विकृति विसंगतिको अन्त्य गरियोस्।
मागहरु पढेपछि मेरो नजर सोही ब्यानरको दायाँपट्टि मार्करले लेखेर टासिँएको पेपरमा पर्यो। जहाँ लेखिएको थियो– ३१औं दिन।
सजिलै थाहा लाग्यो, पछिल्लो ३१ दिनदेखि आर्थिक पारदर्शिता र अतिरिक्त रुपमा लिइएको शुल्क फिर्ताको माग गर्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु अनसनमा बसिरहेका छन्।
अस्पताल कम 'कारखाना' बढी
केही विद्यार्थीहरुसँग सामान्य भलाकुसारी भयो। तर, अन्य विद्यार्थीहरु पनि आइसकेपछि एकमुष्ट कुरा सुन्ने सोच भयो र हामी लाग्यौं अस्पतालको भित्री अवस्था अवलोकन गर्नतर्फ। प्रयोगशाला ब्लको ठिक अगाडिको करिडोरबाट अघि बढ्दा दायाँतर्फ टिकट काउन्टर, फार्मेसी, रक्त बैंक, लाइब्रेरी, मेसु कक्ष, बहिरंग सेवाअन्तर्गत स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी रोग, मानसिक रोग, छाला रोग, बाल रोग तथा इन्डोस्कोपी गर्ने कक्ष देख्यौं।
बीचमा राखिएका केही कुर्सी तथा बायाँपट्टि रहेका सर्जरी, आँखा, मेडिसिन, ड्रेसिङ, हाडजोर्नी, अर्बुद रोग, न्युरो सर्जरी लगायतको बहिरंग कक्ष छिर्ने ढोकातर्फ आँखा लगाउँदा वातावरण सुनसान थियो। थियो त केवल, टिकट काउन्टरदेखि सबै कक्ष प्रवेश गर्ने प्रत्येक ढोकामा ताल्चा। वरपरको धुलो हेर्दा लाग्थ्यो, जता नाम लेखे पनि स्पष्ट बुझ्न सकिने।
लगातार रुपमा आइरहको कर्कश ध्वनिले हामी अस्पताल छिरेका थियौं तर अनुभव कारखाना छिरेको भइरहेको थियो।
भुइँतलाको पछाडिपट्टि स्ट्रेचरलाई माथिल्लो तलामा आवतजावतका लागि व्यवस्था गरिएको थियो भर्याङ। सोही भर्याङको आडैबाट इसिजी, फिजियोथेरापी, एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई लगायतको कक्षतर्फ जान सकिन्थ्यो।
भर्याङको अवस्था देख्दा हामीलाई थाहा लाग्यो, आवाज कहाँबाट आइरहेको छ। खासमा अस्पताल मर्मतको काम हुँदै रहेछ। भुइँ तलादेखि माथिसम्म नै भर्याङमा बिछ्याइएको स्लेटलाई मेसिन प्रयोग गरी निकाल्नमा मजदुरहरु व्यस्त थिए।
अस्पतालभरि २ बिरामी मात्रै!
हामी सरासर माथिल्लो तलातर्फ अघि बढ्यौं। भर्याङ उक्लिनेबित्तिकै दायाँतर्फ पिआइसियू, आइसियू, सिसियू वार्ड थिए। एक जना पाले दाइसँगै केही व्यक्ति बाहिरै बसिरेहका थिए। हामी विश्वस्त भयौं, आइसियूमा कोही बिरामी उपचाररत छन्। आइसियू कक्षबाहिर बोर्डमा एक जना बिरामीको मात्र नाम उल्लेख थियो– धनबहादुर...।

भर्ना भएर उपचारका लागि राखिने विभिन्न वार्डहरुमा हामी पुग्यौं। तर त्यहाँको अवस्था हेर्दा चालू अवस्थामा रहेको अस्पताल जस्तो लाग्दैनथ्यो। अस्तव्यस्त र धुलाम्मे बेड, सरसफाइ भएको पत्याउनै नसक्ने अवस्था, न त अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी न त बिरामी नै। त्यतिबेला हामीले अवलोकन गरेका आइसियू र सर्जरीबाहेक अन्य कुनै पनि वार्डमा बिरामी थिएनन्। हामी पुगेको केहीबेरमा केही वार्डका चेन्जिङ रुम र रेस्ट रुममा रहेका स्वास्थ्यकर्मी र कर्मचारी बाहिर निस्किए। हामीले सोध्यौं, 'अस्पतालमा बिरामी किन छैनन्?'
–विद्यार्थीको आन्दोलनले।
कहिलेदेखि खाली छ अस्पताल?
–२८/२९ दिनदेखि।
पहिले पनि बिरामीको चाप यस्तै हुन्थ्यो?
–यसअघि त बिरामी धेरै भएर सम्हाल्न गाह्रो हुन्थ्यो। कुनै पनि बेड खालि हुँदैनथ्यो।
तपाईंको वार्डमा कति वटा बेड छन् र अहिले कति बिरामी छन् भनेर वार्डमा भेटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सोध्यौं।
जवाफ आयो–
स्त्री तथा प्रसुति वार्ड : क्षमता– ४६ बेड, बिरामीको संख्या– शून्य।
मेडिसिन वार्ड : क्षमता– ८० बेड, बिरामीको संख्या– शून्य।
आइसियू, पिआइसियू र सिसियू वार्ड : क्षमता– २० वार्ड, बिरामीको संख्या– एक।
बालरोग वार्ड : क्षमता– ४० बेड (करिब), बिरामी संख्या– शून्य।
पोस्टअप वार्ड : बिरामी संख्या– शून्य।
सर्जरी वार्ड : बिरामी संख्या– एक।
इमर्जेन्सी वार्ड : क्षमता– २५ वार्ड, बिरामी संख्या– शून्य।

अस्पतालमा ५ सय ५० भन्दा बेड रहेको दाबी गरिएको छ। तर, ५ सय ५० बेड क्षमता भएको अस्पतालमा बिरामीको संख्या २ जना मात्र!
अर्कोतर्फ भएका २ बिरामीको उपचार पनि अस्पताल कम कारखाना बढी लाग्ने वातावरणमा भइरहेको थियो। खासमा अस्पतालमा उपस्थित कर्मचारी र विद्यार्थीहरुसँग बुझ्दा बन्दको मौका छोपी केही दिनदेखि मर्मतसम्भार र रंगरोगनको काम थालिएको रहेछ।
सुनसान र अस्तव्यस्त अस्पतालको हालत देखेका हामीलाई सो अवस्था कसरी हुनपुग्यो, अन्तर्यमा पुग्ने चाह भयो। खुला रहेको भनिएको आकस्मिक कक्षमा पुग्यौं। अन्य वार्डभन्दा सफा तर सुरुमा न बिरामी देख्यौं न स्वास्थ्यकर्मी नै। गुनगुन आवाज सुनेपछि हामीले चेन्जिङ रुमबाट बाहिर आउन आग्रह गर्यौं। एक जना डाक्टर बाहिर आए।
‘१७/१८ दिनभन्दा बढी भयो बिरामी नआएको, काउन्टर बन्द छ, काउन्टर बन्द हुनु भनेको हाम्रो हातखुट्टा नहुनु बराबर रहेछ,' नाम नबताउने सर्तमा उनले भने, ‘सेन्ट्रल बडी बन्द हुँदा इमर्जेन्सी वार्ड खुल्नुको कुनै अर्थ छैन।'
पछिल्लो समय आकस्मिक कक्ष पनि पूर्ण रुपले बन्द गरिएको हो या बिरामी नै नआएका हुन्?
हामीले गरेको प्रश्नमा उनी इमानदार जवाफका साथ उभिए। भने, ‘कुनै विशेष या रेफर नै गर्न नमिल्ने केस छ भने हेर्छौं नत्र धेरैजसो केसहरु रेफर भाको छन्।’
त्यसमाथि हाल आएर धेरै जनालाई अस्पताल बन्द छ भन्ने जानकारी भएका कारण पनि बिरामी आउन छाडेको उनले दाबी गरे।
अस्पतालको यो स्थिति भइसक्दा पनि सञ्चालक समिति तथा कलेज प्रशासनको स्थानबाट के प्रयास भइरहेको छ त? हामीले अस्पतालबाटै कलेजका प्रिन्सिपिल रवीन्द्रप्रसाद श्रेष्ठलाई भेटेरै यो जिज्ञासा राख्ने मनसायका साथ फोन गर्यौं। तर, फोन उठेन। सञ्चालक समितिका अध्यक्ष खुमा अर्याल भने काठमाडौं रहेको कारण सम्पर्क गरेनौं। काठमाडौं फर्किएपछि सम्पर्क गर्दा उनी पनि सम्पर्कमा आउन चाहेनन्।
आफ्ना असन्तुष्टि तथा विभिन्न माग राखी आन्दोलनरत विद्यार्थीहरु माझमा हामीले प्रश्न गर्यौं– यस्तो किन?
सटरकोठामा एमबिबिएसको पढाइ
जब यसको उत्तर मिल्न थाल्यो, हामीलाई लाग्यो साँच्चै कुनै पनि चिज टाढाबाट हेर्दा सुन्दर देखिए पनि नजिकबाट केही न केही खोट त अवश्य देखिन्छ। गण्डकी मेडिकल कलेजको अवस्था देख्दा र विद्यार्थीको भनाइ सुन्दा हामीले त्यस्तै नसोची धरै पाएनौं। सायद सरकार पनि टाढाबाटै हेरिरहेको छ र त्यहाँ के भइरहेको छ भन्नेबारे स्पष्ट देख्न सकिरहेको छैन या त अन्देखा गरिरहेको छ।

गण्डकी मेडिकल कलेजमा एमबिबिएसको पठनपाठन सटर कोठामा हुन्छ।
यहाँसम्म कि अस्पताल छिर्नेबित्तिकै देखिने प्रयोगशाला भवन खासमा प्रयोगशाला भवन नभएर ‘डाक्टर उत्पादन गर्ने कारखाना’ पो रहेछ। लस्करै जोडिएका ५ वटा सटर कोठामा झन्डै ९० देखि १ सय १० जना विद्यार्थीले एकैपटक पढ्ने रहेछन्।
विद्यार्थीको आन्दोलनका कारण सटर कक्षामा ताला लगाइएको थियो। त्यसकारण कक्षाकोठाको अवस्थाबारे भने हामीले नजर लगाउन पाएनौं।
तर, त्यतिबेला एउटै मात्र प्रश्न दिमागमा घुमिरह्यो– के यसले सरकारको मापदण्ड ‘मिट’ गर्छ?
नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसार एमबिबिएस पढाइ हुने कक्षाकोठा इन्टरनेटको सुविधा, कम्प्युटरराइज्ड रुपमा पढाउन मिल्ने लगायतका सुविधायुक्त हुनुपर्छ।
तर, हामी पुग्दा उक्त कलेजमा काउन्सिलको उक्त मापदण्डको कुनै पनि कुरा पूरा भएको देखिएन। विद्यार्थीहरु साँघुरो कोठामा कोचिएर पढ्नुपर्ने अवस्था रहेको बताइरहेका थिए।
स्वेटरको एक छेउबाट धागो तान्दै जाँदा पूरा स्वेटरको धागो पुरापुर खुलेजस्तै एकपछि अर्को गर्दै गण्डकी मेडिकल कलेजको गैरजिम्मेवारीपन प्रकाशमा आउन थाल्यो।
एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत मंगलराज थिङले एउटै कक्षामा यति धेरै विद्यार्थी बसेर पढेको आफ्ना लागि पहिलो अनुभव भएको बताए। ‘एमबिबिएस पढिरहेका छौं त? भन्दै आफैंमाथि प्रश्न गर्न मन लाग्छ,' थिङले भने, ‘सरकारी विद्यालयमा पढ्दा पनि यस्तो अवस्था थिएन।’
एउटै कक्षामा ३ ब्याचको पढाइ, एक ब्याचको परीक्षा हुँदा अर्को बिदा
थिङले अस्पतालमा ३ ब्याचको पढाइका लागि एक मात्रै कक्षा कोठा रहेको बताइरहँदा पढ्दाको सकस उनको अनुहारमा स्पष्ट झल्किन्थ्यो। ‘एउटा क्लास छ, एमबिबिएसको थर्ड ब्याचदेखि फिफ्थ ब्याचसम्मको लागि, एउटा ब्याचको इक्जाम हुँदा अर्को ब्याचको बिदा हुन्छ,' उनले भने।

गुनासोका क्रममा केही खरो सुनिएका थिङलाई हामीले कलेजका अन्य पूर्वाधार र प्राविधिक सामाग्रीको अवस्थाबारे जानकारी माग्दा उनले भने, ‘टियूको सिलेबसअनुसार एउटा ब्याचलाई १० वटा शव चाहिन्छ। तर, यहाँ एउटाले काम चलाइन्छ। विद्यार्थी आफैंले चिरफार गर्न पाउनुपर्नेमा हेरेर चित्त बुझाउनुपर्छ। फार्मेसी, ल्याब, बिडिएसका सबै प्राक्टिकल सामाग्रीहरु जहिल्यै विद्यार्थीले किन्नुपर्छ। सामान नभएर राम्रोसँग ल्याब पनि प्रयोग गर्न पाइँदैन।’
विद्यार्थीको गुनासो र अस्पतालको अवस्था हेर्दा सत्यताको तहमा निमेषमात्रैको पनि अन्तर छ जस्तो लाग्दैनथ्यो। पढाइका क्रममा उपलब्ध गराइनुपर्ने पूर्वाधारमा समेत कलेज प्रशासन झारा टार्ने दाउमा रहेको बुझियो। ‘के यस्तै अवस्थामा अध्ययन गरेर हामी सबल स्वास्थ्यकर्मी बन्न सकौंला?’ आडैमा रहेकी रविना मिश्रको आवाज सुनियो।
एक शिक्षकद्वारा ४ वटा विषयको पढाइ
मिश्र गण्डकी मेडिकल कलेजमै बिएससी नर्सिङको पहिलो ब्याचकी विद्यार्थी हुन्। दोस्रो वर्षमा अध्ययनरत उनले पूर्वाधार र प्राविधिक सामग्रीका हकमा कलेजमा भएको अवस्था हेर्दा कुनै पनि मापदण्ड ‘मिट’ नगर्ने दाबी गरिन्।
उनले कलेज प्रशासनमाथि गम्भीर प्रश्न तेर्स्याइन्, ‘उहाँहरु गुणस्तरीय शिक्षा दिएको बताउनुहुन्छ। तर, हामीलाई पढाउने शिक्षकको संख्या नै अपर्याप्त छ। चिकित्सा शिक्षामा जुन बेसको पढाइ हो, त्यही बेसमा दखल राख्ने शिक्षक हुनु जरुरी रहन्छ। यहाँ हामीलाई एकै शिक्षकले ४ वटासम्म विषय पढाउनुहुन्छ। यस्तो अवस्थामा गुणस्तरीय शिक्षा कहाँबाट भयो?’
न करिकुलम, न आइडी कार्ड
गण्डकी मेडिकल कलेजमा एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिपिएच, ल्याब लगायतको कक्षा सञ्चालन हुन्छ। पूर्वाधार, पठनपाठन र कलेजले विद्यार्थीमाथि गर्दै आएको व्यवहारलाई लिएर सबै तहका विद्यार्थीमा गुनासो तीव्र सुनियो। कक्षा सञ्चालन भएको २ महिनासम्म पनि वर्षभरिमा केके पढ्नुपर्छ भन्ने उल्लेख भएको ‘करिकुलम’ उपलब्ध गराइएको रहेनछ।

‘क्लास सुरु भएको २ महिना भइसक्यो, तर हामीले अहिलेसम्म पनि करिकुलम पाउन सकेका छैनौं,' बिएससी नर्सिङको फ्रेस ब्याचमा पढिरहेकी अश्मि विकले भनिन्, ‘फि बुझाइसक्यौं, तर हामीलाई कलेजले आइडी कार्डसम्म पनि दिएको छैन।’
कलेजको हेलचक्र्याइँबारे खुलेरै बताइरहेकी नेपालगन्जकी विकले समयमै रकम बुझाए पनि पाउनुपर्ने सुविधामा कलेजले गैरजिम्मेवारीपन देखाइरहेको गुनासो गरिन्। तोकिएको मापदण्डअनुसार कुनै पनि सुविधा पूर्ण रुपमा उपलब्ध नभएको बताएकी उनले बुँदागत रुपमै आफ्ना थप समस्या सुनाइन्–
–विद्यार्थीका लागि चेन्जिङ रुम छैन।
–क्लासरुम र बेन्च थोरै छन्।
–छुट्टै नर्सिङ लाइब्रेरी छैन। भएको लाइब्रेरीमा पनि खोजेको पुस्तक भेटिँदैन।
–टिचरहरु पनि थोरै हुनुहुन्छ।
विकले आफ्ना समस्या सुनाइरहँदा उनीसँगै बसेकी एलिसा श्रेष्ठले उनको कुरामा सहमति जनाइन्। विक र श्रेष्ठ एकै कक्षामा अध्ययनरत विद्यार्थी हुन्।
बिडिएसको २०१८ ब्याचकी एलिसा रिजालले केही महिनाअघि मात्रै कलेजमा भर्ना भएको र कलेजबाट खासै केही नपाएको गुनासो गरिन्। ‘२ महिना भयो केही दिन मात्रै पढाइ भएको छ। कम मात्रै बुझिएको छ। अहिलेसम्म कलेजबाट केही पनि पाएको छैन,' उनले गुनासो गरिन्, ‘यसअघिका दिदीदाइहरुले प्रयोगात्मक कक्षा सन्तोषप्रद नरहेको बताउने गर्नुभएको छ। सुन्दा चिन्ता कस्तो पढाइ हुने हो भन्ने चिन्ता लागिरहन्छ।’
मोटर शोरुम भएको घरमा मेडिकल कलेज!
अर्कोतर्फ अस्पतालको अवस्थिति र स्वरुप पनि अस्पतालमैत्री नभएको स्पष्टै देखिन्थ्यो। राजमार्गसँगै जोडिएको भवनमा अस्पताल सञ्चालन गर्दा ध्वनि तथा वायु प्रदूषणबाट बिरामीमा पर्ने असरप्रपति अस्पताल प्रशासन सचेत नरहेको प्रस्ट हुन्छ। पुरानै भवनलाई तोडमोड गरेर अस्पतालको संरचना खडा गरिँदा पनि बिरामी तथा कुरुवालाई सहज स्वस्थ्य पहुँचमा कठिनाइ हुनेतर्फ पनि ध्यान पुर्याइएको देखिएन।
यसै सन्दर्भमा हामीले सो भवनबारे सोधखोज गर्यौं।
कर्मचारी सञ्चय कोषले हाल गण्डकी मेडिकल कलेज रहेको भवन करिब २० वर्षअघि निर्माण गरेको हो। निर्माणपश्चात् झन्डै ४ वर्ष ‘अटो वेज’ नामक मोटर शोरुम सो भवनमा सञ्चालनमा आएको देखिन्छ। सोपश्चात् चरक अस्पतालले लामो समय सोही भवनबाटै सेवा दिएको सञ्चय कोषको अभिलेखमा उल्लेख छ।
सञ्चालक समितिमा खटपटपछि चरक अस्पताल चोइटिएको स्थानीय जानकारहरु बताउँछन्। चरकबाट चोइटिएको एक खेमाले सोही भवनमै गण्डकी मेडिकल कलेजको रुपमा सेवा प्रवाह गर्दै आएको छ।
मेडिकल कलेज सम्बन्धनमा केके मापदण्ड चाहिन्छ?
कलेजको अवस्था र विद्यार्थीको गुनासो सुन्दा लाग्यो, नेताहरु स्वास्थ्य उपचारका लागि विदेश जाँदा विरोध गर्ने हामीहरु यस्तै शिक्षा र ज्ञानका आधारमा नेपालमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिएला त? के सधैंका लागि विदेश जानुनपर्ने वातावरण सिर्जना होला भनेर विश्वस्त हुन सकिएला त? आफैंले बनाएको नीतिनियममा कलेजहरु सञ्चालनमा रहे/नरहेको शिक्षा मन्त्रालय र विश्वविद्यालयले अनुगमन गर्नुपर्दैन? चिकित्सा शिक्षाका बेथिति अन्त्यका लागि लामो समयदेखि संघर्ष भइरहँदा सोतर्फ सजग र जिम्मेवार रहन सम्बन्धित निकायलाई केले रोकेको छ?

यस्तै–यस्तै जवाफको खोजीका लागि हामी नेपाल मेडिकल काउन्सिल पुग्यौं। सुरुमा चिकित्सा शिक्षाका लागि सम्बन्धन दिँदा पुग्नुपर्ने मापदण्डका विषयमा चासो राख्दा काउन्सिलका एक सदस्यले विगतमा दबाब र पहुँचका भरमा मापदण्ड र पूर्वाधार नै नपुगे पनि कलेजलाई सम्बन्धन दिएको बताए।
एमबिबिएस अध्ययापन हुने कलेजमा २२ वटा विभाग, ९६ जना पढाउने डाक्टरहरु, एक विद्यार्थी बराबर ५ भन्दा बढी बिरामी, अस्पतालमा ६० प्रतिशत भन्दा बढी बेडमा सधैं बिरामी, २६ वटा स्किल ल्याब लगायतका काउन्सिलले तोकेका मापदण्ड पूरा गरेको हुनुपर्छ।
हेरौं काउन्सिलले तोकेका केही मापदण्डहरु

तर, गण्डकी मेडिकल कलेजले यो कुनै पनि मापदण्ड पूरा गरेको छैन।
एमबिबिएस र बिडिएस मात्र नभई उक्त कलेजमा नर्सिङका पनि कार्यक्रम सञ्चालनमा छन्। नर्सिङ कार्यक्रमका लागि कलेजले नर्सिङ काउन्सिलका थप मापदण्ड र पूर्वाधार पूरा गर्नुपर्ने हुन्छ। तर, यी कुरामा पनि उक्त मेडिकल कलेजले मापदण्ड पूरा गर्न सकेको छैन।
चिकित्सा शिक्षा र विद्यार्थीप्रति कलेजले अख्तियार गरेको पछिल्लो नीति र कदम तथा सरकारले तोकेको मापदण्ड पालना नभएको देख्दा सोही कलेजमा बिएससी नर्सिङमा अध्ययनरत रविना मिश्रको प्रश्न पटकपटक दिमागमा नाचिरह्यो– ‘सरकारले तोकेको नीतिनियम पालना पनि नगर्ने अनि चिकित्सा शिक्षालाई व्यापारको ढंगबाट मात्रै लिने मेडिकल कलेजलाई बन्द गर्न किन ढिलाइ गर्ने?’
(गण्डकी मेडिकल कलेजमा भएको भनिएको आर्थिक अनियमितता र विद्यार्थी आन्दोलनबारे अर्को शृंखलामा समेट्नेछौं।)