काठमाडौँ– नारी दिवसका अवसरमा देशभरका महिला सर्जनहरू राजधानीमा भेला भएर आफ्ना अनुभव साटासाट गरेका छन्। ‘वुमन इन सर्जरी नेपाल’ नाम दिइएको सो भेलामा सर्जरी विभागअन्तर्गत देशका विभिन्न अस्पतालमा कार्यरत ३३ जना महिला सर्जन तथा महिला रेसिडेन्ट सर्जन उपस्थित थिए।
भेलामा राजधानीका प्रायः सबै अस्पतालमा कार्यरत महिला सर्जन उपस्थित थिए।
वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पताल, मेडिसिटी अस्पताल, चितवन टिचिङ हस्पिटल, काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल, बि एन्ड बि अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, किष्ट टिचिङ हस्पिटलका महिला सर्जनको उपस्थिति अधिक मात्रामा देख्न सकिन्थ्यो। विशेषगरी यी अस्पतालका पनि प्लाष्टिक सर्जरी, न्युरो सर्जरी, जिआइ सर्जरी, हेपाटोबिलियरी सर्जरी, कार्डियक सर्जरी, पेडियाट्रिक सर्जरीलगायत विषयमा विशेषज्ञता हासिल गरेका महिला सर्जन उपस्थित थिए।
कार्यस्थल तथा सामाजिक परिप्रेक्ष्यमा समेत भोग्नु परेका चुनौती, लैङ्गिक विभेद, बिरामीले हेर्ने दृष्टिकोण आदि विषयमा महिला सर्जनले धारणा व्यक्त गरेका थिए।
त्रिवि शिक्षण अस्पतालको जिआई एन्ड जेनेरल सर्जरी विभागीय प्रमुखमा हालै मात्र नियुक्त भएकी डा पलेस्वाँ लाखेले आआफ्नो क्षेत्रमा कार्यरत महिला सर्जनहरुको कुरा आदनप्रदानले जुनियरलाई सल्लाह सुझावको टेवा मिलोस् भनेर भेला आयोजना गरिएको बताइन्।
पारिवारिक जिम्मेवारी तथा करिअरलाई महिला सर्जनले सन्तुलन मिलाएर लगेको बताउँदै महिला हरेक क्षेत्रमा अब्बल प्रमाणित हुन सक्ने दाबी गरिन्।
चितवन मेडिकल कलेजमा कार्यरत हेपाटोबिलियरी तथा लिभर ट्रान्सप्लान्ट सर्जन डा छेतेन योञ्जन तामाङले सर्जनका कर्तव्य प्रकाश पार्दै यस्ता प्रकृतिका भेलाले महिला सर्जनका अनुभव आदानप्रदान गर्न सहयोग हुने बताइन्।
महिलाका समस्या महिलाले नै बुझ्न सक्ने भएकाले आपसी सहयोग महत्वपूर्ण रहेको बताइन्।
त्यसैगरी सुष्मा मेमोरियल अस्पतालमा कार्यरत प्लास्टिक एन्ड रिकन्सट्रक्टिभ सर्जन डा रोजिना शिल्पकारले पुरुषभन्दा महिलाहरुमा आगोको जोखिम बढी रहेको प्रकाश पारिन्। विशेषगरी गाउँका महिलाहरुमा आगोले पोल्ने घटना बढी रहेको बताउँदै महिलाहरुको पहिरनले पनि आगोको जोखिम वृद्धि गरेको बताइन्।
गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत सर्जन डा दिक्षा जोशीले जीवनमा कार्डियक सर्जरी बन्ने मात्र सपना देखेको बताउँदै सपना देख्ने मात्र नभएर त्यसका लागि काममा जोड दिनुपर्ने धारणा राखिन्।
पाटन एकेडेमी अफ हेल्थ साइन्समा कार्यरत न्युरो सर्जन डा माया भट्टचनले नेपालमा महिला सर्जन बढ्दै गएकोले यो विषय सुखद भएको बताइन्। उनले नेपालमा ७.९ प्रतिशत महिला न्युरो सर्जन रहेको बताउँदै परिवार र बालबच्चा भएपनि नेपाली महिला सर्जनले पश्चिमा देशका महिला सर्जनभन्दा अब्बल प्रमाणित गरेको रहेको प्रष्ट्याइन्।
करियर अघि बढाउन विवाह र बालबच्चाको छेकबार नहुने उनको भनाइ छ। उनी भन्छिन्, 'हामी महिलाहरुमा अलि आत्मविश्वासको कमी छ, नेतृत्व लिन डराउँछौ, तर हामी चलाख बन्नुपर्छ।'
त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा आकृति शर्माले कार्डियाक थोरासिक एन्ड भास्कुलर सर्जन बन्छु भन्दा तिमी धेरै महत्वकांक्षी नहोउ भनेर धेरैले भन्ने गरेको कुरा स्मरण गरिन्। 'आज मैले गरेर देखाएकी छु। सपनाको कुनै पनि लिंग हुँदैन। पुरुष सहकर्मीले हिसाबले हामीलाई भेदभाव गर्थे। तर मैले उनीहरुबाट नै अझ मिहनेत गर्न सिकेँ,' उनले भनिन्।
काठमाडौँ मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा कार्यरत रेसिडेन्ट डा एरिना प्रधानले महिला उच्च ओहोदामा पुग्ने क्रम बढ्दै गएको बताइन्। 'सर्जरी महिलाको लागि सजिलो छैन भनिन्छ तर दृढ इच्छाशक्ति र मेहनत भएमा केही पनि असम्भव छैन,' उनले भनिन्।
वीर अस्पतालमा कार्यरत रेसिडेन्ट डा प्रतिभा धौभडेलले विश्वमा एक तिहाइ मात्र महिला सर्जन रहेको बताइन्। 'त्यसमा पनि नेतृत्व तहमा एकदम कम मात्र महिलाको उपस्थिति छ। विश्वमा ६७ प्रतिशत पुरुष डाक्टर रहेका छन् भने ३३ प्रतिशत महिला डाक्टर छन्। महिला सर्जन प्रति विश्वास दिलाउन जनचेतना, शिक्षा तथा नीतिनिर्माणमा पहुँच बढाउन आवश्यक छ,' उनको भनाइ थियो।
कान्ति बाल अस्पतालकी कन्सलटेन्ट पेडियाट्रिक सर्जन डा रमना राजकर्णिकारले महिलाहरु राम्ररी काम गर्न सक्ने बताइन्। 'कामको चाप, पुरुष भेदभाव, तलब समयमा नआउने, सम्मान नदिने, यौन दुर्व्यवहार आदि कारणले महिला सर्जनमा तनाव हुने गर्छ। उनले अरुको मात्र होइन आफ्नो पनि ख्याल राख्न सिक्नुपर्छ,' नवआगन्तुक महिला सर्जनलाई उनको सुझाव छ।
हाल नेपालमा कन्सल्टेन्ट महिला सर्जन ३० जना, रेसिडेन्ट महिला सर्जन १८ जना रहेका छन्।