राष्ट्रिय मिर्गौला केन्द्र, बनस्थली काठमाडौंको अग्लो भवनको सबभन्दा माथि २० जनाजति अटाउने ‘कक्षा कोठा’ छ। केन्द्रले आफ्ना कर्मचारीहरुलाई ‘कन्टिन्यु मेडिकल एजुकेसन’ (चिकित्साबारे नयाँ जानकारी) दिने प्रयोजनले बनाएको देखिन्छ।
कक्षा कोठामा दुई रङको पहिरन (सेतो र खैरो) लगाएका नर्स छन्। सुरुको बेञ्चमाथि राखिएको छ, एउटा कृत्रिम मानव हात। माथि झुन्ड्याइएको पोकाबाट कृत्रिम ब्लड उक्त मानव हातमा रहेको कृत्रिमा नशामा झरिरहेको छ।
चिकित्सा (एमबिबिएस, नर्सिङ, प्यारामेडिक्स र पारामेडिक्स) विषय अध्ययन गरिरहेकाहरुलाई नशा पत्ता लगाएर सुई लगाउन सिकाउने डमी हात हो त्यो। चिकित्सा अध्ययन गराइरहेका कलेजहरुले समेत उपयोगमा नल्याएको त्यो डमी हात किनेर ल्याएर सही तरिकाले बिरामीको रगत निकालेर यथोचित तरिकाले ल्याबसम्म पु¥याउने तरिका सिकाइरहेका छन्, डा केयुर गौतम।
निजीस्तरबाट ल्याब सञ्चालन गरिरहेका यी प्याथोलोजिस्ट पछिल्ला दिनहरुमा यही डमी लिएर धाइरहेका छन् अस्पतालहरुमा। त्यही अभियानअन्तर्गत त्यो दिन त्यहाँ थिए उनी।
उनको उद्देश्य छ– सही ल्याब रिपोर्टका लागि ल्याब पुग्नुपूर्व हुने गल्तीहरुलाई न्यूनीकरण गर्नु। नेपालमा गुणस्तरीय ल्याब सेवाका लागि उनले आफू संलग्न सम्यक डायग्नोस्टिक ल्याब अन्तर्राष्ट्रिय स्तरको बनाउन कोसिस गरे। ‘आइएसओ’ प्रमाण पत्र प्राप्त गरेर भरपर्दो ल्याब रिपोर्ट प्रदान गर्ने प्रयोगशालाको पहिचान दिलाए। तर, यतिमै सन्तुष्ट हुन सकेनन् उनी।

विभिन्न अनुसन्धानले भन्छ– प्रयोगशालाले दिने गलत रिपोर्टको ७० प्रतिशत कारण त प्रयोगशाला पुग्नुअघिकै प्रक्रियामा हुने गल्ती हुन्। नमूना संकलन गर्नेदेखि ल्याबसम्म पुर्याइने गतिविधि यो बीचमा आउँछन्। यसलाई विस्तृतमा बताउँदा कसरी नशाको पहिचान गर्ने, कुन जाँचका लागि कति मात्रामा रगत झिक्ने, झिकेपछि कुनै जाँचलाई प्राथमिकता दिएर रगत राख्ने, रगत राखेको भाँडा कसरी हल्लाउने वा हल्लाउन नहुने र कुन तरिकाले ल्याबसम्म पुर्याउने जस्ता प्राविधिक प्रक्रिया यसमा पर्छन्। यति मात्रै होइन, जुन व्यक्तिबाट नमुना संकलन गरिन्छ, ऊसँग गरिने व्यवहार यसको सैद्धान्तिक प्रक्रियामा पर्छ।
यी विषयमा विस्तृतमा रमाइलो तरिकाले जानकारी दिइरहेका हुन्छन् नर्सलाई। उनी काम गरिरहेका नर्सलाई यो तालिम दिइरहेका छन्। किनकि काम गर्ने क्रममा भइरहेका साना गल्ती महसुस गराएर आफैंलाई सच्याउने तरिकाले उनले एक घन्टाको कोर्ष डिजाइन गरेका छन्।
हरेक स्टेपको सिकाइपछि उनले प्रश्न गर्छन्, ‘हामीले यो किन गरिरहेका छौं?’
सबैको उत्तर हुन्छ, ‘सही ल्याब रिपोर्टका लागि।’
उनी अध्यात्मिक उत्तर दिन्छन्, ‘होइन, घर गएपछि आनन्दसँग सुत्नका लागि। गल्ती गरियो भने अरुले थाहा पाउलान्÷नपाउलान् तर आफैंलाई निद्रा लाग्दैन नि हैन!’
फेरि अर्को तरिका सिकाउँछन् र प्रतिप्रश्न गर्छन्, ‘किन हामी सिकिरहेका छौं?’
सबैले फेरि अनुमान लगाउँछन्, ‘पक्कै पनि, सही ल्याब रिपोर्टका लागि।’
उनी फेरि व्यावहारिक उत्तर दिन्छन्, ‘आफूले गर्दा अरुलाई दुःख नहोस् भनेर।’

मानवीय स्वभाव हुन्छ, ठूला कुरामा एकदम ध्यान दिने तर झिनामसिना कुराहरुलाई नजरअन्दाज गर्दै जाने। जस्तैः बिरामीको रगत तान्ने विषयको कुरा गर्दा यहाँनेर महत्वपूर्ण भनेको सही तरिकाले रगत तान्नु हो। यसका लागि हरेक चिकित्साको विद्यार्थीले सुरुको दिनदेखि आफूलाई सचेत गराइरहेको हुन्छ। तर, रगत तान्ने ठाउँ कसरी सफा गर्ने? निकै थोरैको ध्यान गइरहेको हुन्छ। उनी यहाँनेर पनि सचेत गराउँछन्, ‘भित्रबाट सफा गर्दै बाहिरतिर बढ्ने।’
हेर्दा सामान्य लाग्ने तर कामका क्रममा भइरहने गल्तीले ल्याब रिपोर्टमा ठूलो गडबड गरिरहेका हुन सक्छन्। डा गौतम यही विषयमा रमाइलो तरिकाले आफ्ना ज्ञान र अनुभव सुनाउँछन् र सिकाउँछन्।
आफ्नो पेशाबाट समय उम्काएर यो ‘प्यासन’का लागि खटिइरहेका छन्। हरेक अस्पताल पुगेर नर्सहरुलाई निःशुल्क व्यावहारिक ज्ञान बाँड्ने उनको चाहना छ। आफूलाई यस विषयमा थप जान्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने वा आफ्नो अस्पतालका नर्सहरु यस विषयमा जानकार होउन् भन्ने चाहना राख्ने जोसुकैले उनलाई सम्पर्क गर्न सक्छ।
तपाईंहरुलाई सही ल्याब रिपोर्टका लागि सहयोग मिल्नेछ भने गुणस्तरीय ल्याबका यी अभियान्तालाई खुसी मिल्नेछ।