काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपतिसहित अन्य पदाधिकारीले नियुक्ति पत्र बुझेका छन्। उपकुलपतिमा प्रा डा डिएन साह नियुक्त भएका थिए।
उपकुलपति सहित अन्य पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पत्र बुझेका हुन्। शुक्रबार राति बालुवाटारमा भएको कार्यक्रममा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा शाहलाई नियुक्त भएको पत्र दिएका हुन्।
नवनियुक्त उपकुलपतिलाई प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उपकुलपतिको सपथग्रहण गराएका थिए।
यसअघि नै अन्य पदाधिकारीको भागबन्डा मिलाइसकेका कारण उपकुलपतिले भागबन्डाअनुसार नै अन्य पदाधिकारीको नाम सिफारिस गरेका थिए। उपकुलपतिको सिफारिसमा प्रतिष्ठानका अरु पदाधिकारीहरुले समेत नियुक्ति पत्र बुझेका छन्।
प्रतिष्ठानको रेक्टरमा प्राडा सुवोध अधिकारी, रजिष्टारमा प्रा डा प्रमिला देवान र डिनमा प्रा डा पियुस दाहाल नियुक्त भएका छन्। रजिष्ट्रारमा डा दिलिप शर्माको नाम यसअघि सिफारिस भएको थियो। तर, अन्तिम समयमा उनको स्थानमा देवानलाई ल्याइएको हो।
पदाधिकारीसँगै वीर अस्पतालको निर्देशकमा डा केदार सेञ्चुरी र राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन्।