काठमाडौं– नेपाली कांग्रेसका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पौडेल गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गुरुराज घिमिरेसँगै महामन्त्रीमा निर्वाचित भएका थिए। १५औँ नियमित महाधिवेशनमा पनि उनले महामन्त्री पदमै दोहोरिने आकांक्षा राखेका हुन्।
पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको क्रममा उनी सर्वसम्मत प्रतिनिधि चुनिएका हुन्।
जेनजी आन्दोलनअघि पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा थिए। उनी १४औँ महाधिवेशनसम्म तनहुँबाट महाधिवेशन प्रतिनिधि बन्दै आएका थिए। यसपटक भने काठमाडौं–५ बाट प्रतिनिधि चयन भएका हुन्।
पौडेल गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट कांग्रेसका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका थिए।
पौडेलले विशेष महाधिवेशनबाट आफूले सम्हालेको महामन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने तयारी गरेका हुन्।