काठमाडौं– महिलाको स्वास्थ्य, जीवनका विभिन्न चरणमा देखिने स्वास्थ्य समस्या तथा त्यसबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले फ्रन्टलाइन अस्पतालले ‘द जर्नी अफ वुमेन’ कार्यक्रम आयोजना गरेको छ।
अस्पतालले १४ असोज २०८३ (३० सेप्टेम्बर २०२६) मा होटल बाराहीमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा स्त्रीरोग, पेल्भिक फ्लोर स्वास्थ्य, पिसाबसम्बन्धी समस्या तथा रजोनिवृत्तिका विषयमा विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए।
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य दिँदै अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अशोकवर्धनले अस्पतालले विभिन्न समूहलाई लक्षित गरी स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। युवालाई लक्षित स्वास्थ्यसम्बन्धी छलफलका क्रममा मानसिक स्वास्थ्यको आवश्यकता र महत्व महसुस भएपछि महिलाको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर ‘द जर्नी अफ वुमेन’ कार्यक्रम आयोजना गर्ने सोच बनेको उनले बताए।
महिलाको स्वास्थ्यसम्बन्धी विविध विषयमा खुला छलफल, विशेषज्ञ परामर्श तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमलाई आगामी दिनमा पनि विभिन्न विषयवस्तुसहित निरन्तरता दिने अस्पतालको योजना रहेको उनले बताए।
कार्यक्रमको सञ्चालन डा. सृष्टि धुतराजले गरेकी थिइन्। उनले विशेषज्ञ चिकित्सकका प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रलाई सहजीकरण गरेकी थिइन्।
-1791081376.jpeg)
कार्यक्रममा डा. निरा सिंह श्रेष्ठले कस्मेटिक गायनोकोलोजी तथा पेल्भिक फ्लोर, डा. उदिता मिश्रले अति सक्रिय मूत्राशय (ओभरएक्टिभ ब्लाडर), डा. अमिता राजेश्वरी थापाले पिसाब चुहिने समस्या तथा यसको उपचारात्मक हस्तक्षेप र डा. उना पन्तले रजोनिवृत्ति सम्बन्धी विषयमा प्रस्तुति दिएका थिए।
डा. मिश्रले अति सक्रिय मूत्राशयका कारण, लक्षण तथा व्यवस्थापनका विषयमा जानकारी दिँदै समयमै स्वास्थ्य परामर्श लिनुपर्नेमा जोड दिइन्। डा. थापाले महिलामा देखिने पिसाब चुहिने समस्याको पहिचान, उपचारका विकल्प तथा व्यवस्थापनबारे जानकारी दिइन्।
त्यस्तै, डा. पन्तले रजोनिवृत्तिका क्रममा महिलामा देखिने शारीरिक तथा स्वास्थ्यसम्बन्धी परिवर्तन, त्यसको व्यवस्थापन र यस अवधिमा आवश्यक स्वास्थ्य सचेतनाबारे जानकारी दिइन्। डा. श्रेष्ठले प्रजनन स्वास्थ्य तथा पेल्भिक फ्लोरसँग सम्बन्धित विषयमा आफ्नो अनुभव र विशेषज्ञता साझा गरिन्।
कार्यक्रममा सहभागी महिलाले विशेषज्ञ चिकित्सकसँग महिलाको स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी लिनुका साथै आफ्ना जिज्ञासा राखेका थिए। सहभागीहरूले स्वास्थ्यसम्बन्धी विषयमा खुलेर छलफल गर्ने अवसर पाएको अस्पतालले जनाएको छ।
महिलाको स्वास्थ्य, सचेतना र सशक्तीकरणलाई प्राथमिकतामा राख्दै ‘द जर्नी अफ वुमेन’ कार्यक्रमलाई आगामी दिनमा पनि विभिन्न स्वास्थ्य विषयमा निरन्तरता दिने अस्पतालले जनाएको छ।
