काठमाडौं– मेडिकल शिक्षा र स्वास्थ्य सुधारका लागि निरन्तर संघर्ष गर्दा आएका डा गोविन्द केसीले कुनै पदाधिकारीले अनियमितता गरेको आरोप भएमा छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।
'सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई पदमुक्त गरेको भन्ने समाचार आएको छ। कुनै पनि संस्थाका कुनै पदाधिकारीप्रति अनियमितता वा भ्रष्टाचारको आरोप भएमा त्यसको तदारुकताका साथ छानबिन गरी कानुन बमोजिम कारबाही गरिनुपर्छ', शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।
सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारलाई पदबाट हटाएको छ।
डा केसीले सरकारले न्यायिक जाँचबुझ आयोगले दोषी किटान गरेर बर्खास्तीको सिफारिस गरेका पदाधिकारीहरुलाई कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाएको भन्दै अनसन्तुष्टि पोखेका छन्।
'सरकारसँगको मिलेमतोमा ती पदाधिकारीहरुले मेडिकल माफियाको स्वार्थमा काम गर्दै विश्वविद्यालयलाई नै धरासायी पारिरहेका छन्। जबकि यसअगाडि त्यस्ता पदाधिकारीहरुलाई सिफारिस अनुसार कारबाही गर्ने भनेर हामीसँग सरकारले सम्झौता नै गरेको छ', विज्ञप्तिमा भनिएको छ, 'मेडिकल शिक्षालगायत देशका सबै क्षेत्रमा भ्रष्ट र अपराधीहरुलाई संरक्षण र प्रोत्साहन गर्ने, दोषी प्रमाणित भएको अवस्थामा समेत उनीहरुलाई बचाउने अहिलेको सरकारको रवैयाले देशमा दण्डहीनतालाई चरम सीमामा पुर्याएको छ।'
डा केसीले सबै स्वास्थ्य र मेडिकल शिक्षा प्रदायक तथा नियमनकारी निकायहमा दलीय भागबण्डा नभई वरिष्ठ, योग्य र इमान्दार व्यक्तिहरुको नियुक्ति गर्न ध्यानाकर्षण गराएका छन्।