पोखरा- विद्यार्थीको आन्दोलनका कारण डेढ महिनादेखि बन्द रहेको गण्डकी मेडिकल कलेजको ताला खुलेको छ। विद्यार्थीहरुले प्रहरीको रोहबरमा शनिवार कलेजमा लगाएको ताला खोल्न सहमति जनाएका हुन।
कलेजले एमबिबिएस र बिडिएस अध्ययनरत विद्यार्थीसँग मनपरी रुपमा शुल्क उठाएको विरोधमा विद्यार्थीले ४६ दिनदेखि कलेजमा ताला लगाएका थिए। लामो छलफल, अदालतको आदेश, प्रहरी र जिल्ला प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाउने र १६ औं ब्याचका विद्यार्थीको एमबिबिएसको परीक्षा चैत २१ गतदेखि हुने भएपछि विद्यार्थीहरु ताला खोल्न सहमत भएका हुन्।
कलेजमा १६ औं ब्याचमा एमबिबिएसमा ५३ जना विद्यार्थी अध्ययनरत छन्। परीक्षामा सहभागि हुन विद्यार्थीले फर्म भर्ने लगायतका प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ।
प्रहरीको रोहबरमा ताला खुले पनि उक्त समयमा कलेज प्रशासनका तर्फबाट कोही पनि सहभागि थिएनन्। विद्यार्थी अनति सिन्हाका अनुसार शुक्रबार नै ताला खोल्ने सहमति भएको थियो। शुक्रबार पनि कलेजका तर्फबाट कोही नआएपछि ताला खुलेको थिएन।
तर, शनिबार पनि कलेजका तर्फबाट कोही सहभागि भएका थिएनन्। प्रहरीले आस्वासन दिएपछि ताला खोलिएको हो। ताला खुले पनि विद्यार्थीहरु परीक्षाको फर्म भर्न पाउने हो वा होइन भन्नेमा ढुक्क हुन सकेका छैनन्।
परीक्षाका लागि त्रिविले चैत ८ गतेसम्म फर्म भर्ने र १२ गतेभित्र परिक्षा नियन्त्रण कार्यालयमा पठाउनु पर्ने सूचना निकालेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले शुक्रबार नै त्रिविसँग परीक्षाका विषयमा समन्वय गर्न सहयोग गर्ने बताएका थिए।

