बुटवल, सुख्खानगरका ५९ वर्षीय रुमकान्त अधिकारी तीन वर्षदेखि बुटवलस्थित गौतम बुद्ध मुटु अस्पतालमा डायलाइसिस गराइरहेका छन्। मलेसियामा रोजगारी गर्दागर्दै मिर्गौला फेल भएपछि अधिकारी नेपाल फर्केर डायलाइसिस गर्न थालेका हुन्।
डायलाइसिस सेवा निःशुल्क पाए पनि औषधि, रक्तपरीक्षण र अन्य औषधोपचार गराउन निकै समस्या भएको उनको गुनासो छ। ‘डायलाइसिस सेवा त निःशुल्क छ तर औषधि तथा अन्य चेकजाँच पनि निकै महँगो भएकोले उपचार गराउन गाह्रो परेको छ,’ अधिकारीले भने।
यस्तै १० वर्ष वैदेशिक रोजगारीमा बिताएकी नवलपरासी दाउन्नेकी मनकुमारी विक पनि कुवेतमा रोजगारी गर्दागर्दै दुवै मिर्गौला फेल भएर नेपाल आएकी छिन्। उनी पनि अहिले बुटवलमा डायलाइसिस गराउँदै छिन्। औषधोपचार खर्च र जीवन निर्वाहका लागि सरकारले आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको माग छ।
स्याङ्जाका ईश्वरकुमार श्रेष्ठ पनि वर्षदेखि डायलाइसिस गर्दैआएका छन्। डायलाइसिसका लागि स्याङ्जाबाट बुटबल आउने गरेका श्रेष्ठले औषधि, चेकजाँच र बाटा खर्चले निकै समस्या भएको उनको गुनासो छ।
डायलाइसिस गराइरहेका ३ जना मिर्गौलापीडितको एउटै माग छ– सरकारले डायलाइसिस मात्र निःशुल्क गरेर पुग्दैन, औषधि, रक्त परीक्षणका साथै निर्वाह भत्ता पनि दिनुपर्छ।
साउदी अरबमा १० वर्ष काम गरेर फर्केका मिर्गौला रोगी पाल्पाका चुडाबहादुर रुचाल भन्छन्, ‘९ लाख खर्च भयो, साढे ५ वर्षदेखि डायलाइसिस गराउँदै छु। डायलाइसिस गर्दा सबै सम्पत्ति सकियो, श्रीमतीले मिर्गौला दिइन्, औषधि किन्ने पैसाको अभावमा त्यो पनि फेल भयो। सरकारले जीवन निर्वाहका लागि सहयोग गरिदिए हामीजस्ता काम गर्न नसक्नेलाई राहत हुने थियो।’
तिलोत्तमा– १५ का गोपाल गुरुङ, पाल्पा– १ बडाचौरका कमल बगाले, बुटवल– १० रामनगरका यामबहादुर छन्त्याल, नवलपरासीका जीवकुमार नापित र नवलपरासीकी कृष्णबहादुर अनुरागीको समस्या उस्तै छ। उनीहरुको एउटै गुनासो छ, ‘सरकारले डायलाइसिस त निःशुल्क दियो, अब औषधोपचार र जीवन निर्वाह भत्ताको पनि व्यवस्था गरिदिए हामीजस्ताको उद्धार हुने थियो।’
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा अहिले ३ सय जनाले डायलाइसिस गर्दै आएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए। अहिले २० वटा मेसिनबाट यो सेवा भइरहेको र अझै मेसिन थप गर्न लागेको उनले बताए। बिरामीको चापका कारण अस्पतालमा २४ घन्टा नै डायलाइसिस भइरहेको उनको भनाइ छ।
दाङदेखि गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, स्याङ्जासम्मका बिरामी गौतमबुद्ध अस्पतालमा डायलाइसिस गर्न आउने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ। अस्पतालले १२ जनाको रगत र औषधि निःशुल्क गरेको आलमले बताए।
गौतम बुद्ध मुटु अस्पतालमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डा रजत कायस्थ भन्छन्, ‘वैदेशिक रोजगारी खाडी मुलुक जाने कामदारको मुख्य समस्या भनेको वातावरण हो। अत्यधिक तापक्रमका कारण शरीरलाई चाहिने आवश्यक पानीको मात्रा कम हुँदा मिर्गौलामा समस्या हुने उनले बताए।
‘भएको पानी पसिनाबाट जान्छ, पिसाप लाग्दैन,’ डा कायस्थले भने, ‘शरीरमा बेकारको चिज फाल्ने पिसाब नै नभएपछि मिर्गौलामा समस्या आउँछ।’ सुरुमै थाहा नहुनाले पनि मिर्गौला रोगी थप समस्यामा पर्ने उनको भनाइ छ। वैदेशिक रोजगारीमा जानुअघि जनचेतनाका लागि तालिम दिनु आवश्यक रहेको डा कायस्थले बताए।
जनचेतना नै रोग रोकथामको मुख्य उपाय भएको भन्दै उनले मिर्गौला फेल भएका बिरामीको लागि सरकारले प्रत्येक जिल्लामा डायलाइसिस सेवा दिनुपर्ने बताए।
मिर्गौला रोग रोगथामको लागि ६–६ महिनामा जाँच गराउने, दैनिक एक घन्टा हिँडडुल गर्ने, खानामा ध्यान दिने र चिकित्सकको निर्देशन बेगर औषधि सेवन गरेन भने मिर्गौला रोग लाग्नबाट बच्न सकिने डा कायस्थको सुझाव छ।