काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसार यसअघि बनाइएका संरचनामा समस्या देखिएपछि मन्त्रालय र माताहतका निकायको नयाँ संगठन संरचनाको खाका बनाउने काम अगाडि बढाएको छ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेलको अगुवाईमा नयाँ संरचनाको खाका बनाउनको काम भइरहेको छ। प्याकुरेलको नेतृत्वमा रहेको टोलीले मन्त्रालय, रोग नियन्त्रण महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको नयाँ संरचनाको मस्यौदा तयार पारेको हो।
नयाँ मस्यौदा अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक १२ औं तहका कर्मचारी हुनेछन्। विभागमा हाल ११ औं तहका महानिर्देशक छन्। नयाँ संरचना अनुसार १२ औं तहका महानिर्देशक अन्तर्गत ११ औं तहका दुई उपमहानिर्देशक हुनेछन्।
विभागमा आयुर्वेद चिकित्सा र वैकल्पिक चिकित्सा गरी दुई वटा महाशाखा रहने प्रस्ताव गरिएको छ। यस्तै नयाँ संरचनामा ९ वटा शाखाको प्रस्ताव गरिएको छ।
डा प्याकुलेरले नयाँ संरचनाको मस्यौदा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बुझाइसकिएको जानकारी दिए। उनका अनुसार आयुर्वेद र वैकल्पिक चिकित्साको अनुगमन, नियमन तथा विकासका लागि छुट्टाछुट्टै माहाशाखाको प्रस्ताव गरिएको छ।
नयाँ संरचना अनुसार विभागमा अब ३८ जनाको दरबन्दी हुने प्रस्ताव गरिएको छ।
हाल विभागमा ३१ जनाको दरबन्दी रहेको छ। हाल कार्यान्वयनमा रहेको नयाँ संरचना गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले पास गरेको थियो। त्यसअघि विभागमा ३३ जनाको दरबन्दी रहेको संरचना कार्यान्वयनमा थियो।
तर, गत वैशाख पारित भएको संरचनामा पनि समस्या आएको र मन्त्रालयको संरचना समेत परिवर्तन गर्नुपर्ने भएपछि विभागको संरचनामा पनि परिवर्तन गर्न लागिएको हो।
हेरौँ प्रस्तावित संरचनाको खाका
