काठमाडौं– ‘पहुँचबाहिर परेकाहरुलाई समेट्ने’ उद्देश्यले राष्ट्रिय परिवार योजना सम्मेलन काठमाडौँमा सुरु भएको छ। सम्मेलनको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गरे।
सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको आयोजनामा सुरु भएको हो। सम्मेलन उद्घाटन गर्दै मन्त्री यादवले सम्मेलनले पहुँच बाहिर रहेका मानिसहरुलाई समेट्ने बताए।
सरकार र निजी क्षेत्रको प्रभावकारी समन्वय भएमा नेपालले परिवार नियोजनमा राखेको दिगो लक्ष्य हासिल गर्न सकिने उनले बताए। नेपालले परिवार नियोजन प्रयोग दर ७५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
परिवार कल्याण महाशाखाका प्रमुख डा आरपी विच्छाले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा परिवार नियोजनको कार्यक्रम सुरु भएको ६ दशक पुग्दा ठूलो उपलब्धि हासिल गरेको बताए।
उनले भने, ‘१९७६ को प्रजनन् दरको तथ्यांक हेर्ने हो भने ६ दशमलव ३ प्रतिशत थियो भने २०१६ मा आइपुग्दा २ दशमलव ३ मा झरेको छ। तर, यो उपलब्धि सन्तोषजनक छैन।’
उनले गर्भनिरोधन साधनको उपभोग गर्नेको संख्या २ दशमलव ९ प्रतिशतबाट अहिले ५३ प्रतिशत भएको बताउँदै यसलाई ७० प्रतिशतभन्दा बढी लैजाने लक्ष्य रहेको जानकारी दिए।
नेपालमा ८ प्रकारका गर्भनिरोधक साधन प्रयोगमा आएका छन्। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर सुशील प्याकुरेलले सबै स्वास्थ्य संस्थामा परिवार नियोजनका साधनहरु सहज रुपमा नै उपलब्ध हुने हो भने यसका प्रयोग दर बढ्ने बताए।
कार्यक्रममा राष्ट्रसंघीय परिवार योजना संघकी नेपाल प्रतिनिधि लुना वानकीले नेपालमा १५ देखि ४९ वर्षका महिलामा स्पष्ट जानकारी नभएको बताएकी थिइन्।
सरकारले विसं २०२० सम्ममा ७ प्रतिशत बजेट प्रजनन् स्वास्थ्यमा छुट्याउने लक्ष्य लिएको छ। हाल प्रजनन् स्वास्थ्यमा १ दशमलव ०९ प्रतिशत रहेको छ।
नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्या केही वर्षदेखि स्थिर रहेपछि सरकारले सम्मेलन गरी पहुँच बाहिर रहेकालाई समेट्ने तयारी गरेको छ।
नेपालमा हाल ५३ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको तथ्यांक छ भने त्यसमा पनि आधुनिक साधन प्रयोग गर्ने ४३ प्रतिशत मात्र छन्।
सम्मेलनमा २४ वटा पेपर प्रस्तुत हुने छन् भने २८ वटा पोस्टरको प्रस्तुति र चार प्लेनरी सत्र समावेश हुनेछन्। त्यस्तै देशभरबाट लगभग ४ सय जना सरोकारावालाको सहभागिता रहेको छ। सम्मलेलन भोलिसम्म चल्ने छ।