काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार गठन भएको चिकित्सा शिक्षा आयोगको पहिलो बैठक बालुवाटारमा बस्ने भएको छ।
आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो बैठक बोलाएका हुन्। बैठक आज साँझ ७ बजे बालुवाटारमा हुनेछ। बैठकमा ४ विषयमा छलफल हुनेछ।
बैठकमा आयोगका पदेन पदाधिकारी तथा सदस्यहरु सहभागि हुनेछन्। आयोगका उपाध्यक्ष तथा अन्य पदाधिकारी र सदस्यहरु नियुक्त भइनसकेका कारण पदेन मात्र बैठकमा सहभागि हुने भएका हुन्।
बैठकमा आयोगको कार्यप्रारम्भ, चिकित्सा शिक्षा कार्यहरुको निरन्तरता, आयोगको संगठन संरचना र विविध गरी ४ वटा एजेन्डामा छलफल हुनेछ।
ऐन अनुसार आयोगको अध्यक्षमा प्रधानमन्त्री, सहअध्यक्षमा स्वास्थ्य र शिक्षामन्त्री हुनेछन्। त्यसबाहेक स्वास्थ्य र शिक्षा सचिव, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, नेपाल चिकित्सक संघका अध्यक्ष, विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्का उपाध्यक्ष, आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष, नेपाल नर्सिङ परिषद्का अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष लगायतका पदाधिकारीहरु पदेन सदस्य हुनेछन्।
