काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगको पहिलो बैठकले आयोगको नियमावली, कार्यालयको संगठन संरचना तय गर्न समिति गठन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार राती बसेको बैठकले आयोगका सहअध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष र राष्ट्रिय योजना आयोगका प्रतिनिधी सदस्य रहनेछन्।
यस्तै, बैठकले आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार सिफारिस समितिमा लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव वा निजले तोकेको प्रधानमन्त्री कार्यालयका सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ।
बैठकको निर्णयपछि उक्त सिफारिस समिति गठन गरेर प्रस्ताव मन्त्रीपरिषद्मा पठाउने तयारी भएको बताइएको छ।
सामेबार राती १० बजेसम्म चलेको बैठकमा छलफलका ४ वटा एजेन्डा थिए। बैठकमा आयोगको कार्यप्रारम्भ, चिकित्सा शिक्षा कार्यहरुको निरन्तरता, आयोगको संगठन संरचना र विविध गरी ४ वटा एजेन्डामा छलफल भएको थियो।
बैठकमा आयोगका पदेन पदाधिकारी तथा सदस्यहरु सहभागि थिए। आयोगका उपाध्यक्ष तथा अन्य पदाधिकारी र सदस्यहरु नियुक्त भइनसकेका कारण पदेन मात्र बैठकमा सहभागि भएका हुन्।
ऐन अनुसार आयोगको अध्यक्षमा प्रधानमन्त्री, सहअध्यक्षमा स्वास्थ्य र शिक्षामन्त्री हुनेछन्। त्यसबाहेक स्वास्थ्य र शिक्षा सचिव, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, नेपाल चिकित्सक संघका अध्यक्ष, विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्का उपाध्यक्ष, आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष, नेपाल नर्सिङ परिषद्का अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष लगायतका पदाधिकारीहरु पदेन सदस्य हुनेछन्।