काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन्। मन्त्रालयबाट नियुक्तीको पत्र लिएलगत्तै उनले अस्पतालमा पुगेर आफ्नो जिम्मेवारी सम्हालेका छन्।
निर्देशकको जिम्मेवारी सम्हाले लगत्तै डा यादवले अस्पताललाई बिरामीमैत्री बनाउने बताए। उनले अस्पताललाई डिजिटलाइज्ड गर्दै बिरामीले सहज रुपमा सेवा पाउने वातावरण बनाउने तर्फ आफू लाग्ने प्रतिक्रिया दिए।
उनले ट्रमाको आकस्मिक कक्षमा उपचारका लागि आइपुगेका बिरामीको पैसा नभए पनि उपचार हुने व्यवस्थाको सुरुवात गर्ने पनि जानकारी दिए।
'आकस्मिक उपचारका लागि आइपुगेका बिरामी पैसा नभएका कारण फर्कनु हुँदैन,' उनले भने, 'त्यसकालागि आवश्यक व्यवस्था मिलाउने छौं।'
उनले दुर्घटनाका घाइतेको उपचारको कुरा आउने वित्तिकै सबैभन्दा पहिला ट्रमा सेन्टरमा नै बिरामी आउने वातावरण बनाउन तर्फ पनि आफू लाग्ने जानकारी दिए। अस्पतालमा आइसियूको संख्या बढाउन पनि आफू लागिपर्ने उनले बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगर्तको ट्रमा सेन्टरको निर्देशक यादवलाई बनाउने विषयमा केही दिन अघि नै प्रधानमन्त्री र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवबीच सहमति भएको थियो।
प्रतिष्ठानको उपकुलपति नियुक्तीकै दिन डा यादवलाई ट्रमाको निर्देशक दिने सहमति भएको थियो।
तर, उनले नियुक्तीको पत्र भने पाइसकेका थिएनन्।
उनी आज पत्र बुझे लगत्तै अस्पतालमा पुगेर निर्देशकको कुर्सीमा बसेका हुन्। डा यादव १० औँ तहका जनरल सर्जन हुन् ।
यसअघि ट्रमाका निर्देशक डा प्रमोद उपाध्याय थिए। उनले गत २४ असोजमा व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए। डा उपाध्यायले राजिनामा दिएपछि ट्रमामा निमित्त जिम्मेवारी डा विनोद शेरचनलाई दिइएको थियो।