काठमाडौं– राजधानीमा जारी परिवार योजना सम्मेलन सकिएको छ। ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार साँझ सम्मेलन समापन भएको हो।
पहुँचबाहिर परेकाहरुलाई समेट्ने’ उद्देश्यले सोमबार र मंगलबार दुई दिनसम्म सम्मेलनको आयोजना गरिएको थियो। चार सयभ भन्दा बढी सहभागि रहेको उक्त सम्मेलनमा २४ वटा पेपर प्रस्तुत भएको थियो। यस्तै २८ वटा पोस्टर प्रस्तुति समेत भएको थियो।
परिवार कल्याण महाशाखाले आयोजना गरेको सम्मेलनले ६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।
यी हुन् घोषणा पत्रमा रहेका ६ बुँदा
१. परिवार योजना सेवाको पहुँच बाहिर रहेका जनसमुदाय तथा भौगोलिक क्षेत्र पहिचानका लागि नक्साङ्कन गरी लक्षित वर्गका लागि नविनतम कार्यक्रम मार्फत पहुँच विस्तार गर्ने।
२. प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गर्दै सन् २०२० अनुरुपको प्रतिवद्धता अनुसार परिवार योजना सेवामा लगानी अभिवृद्धि गर्ने।
३. संघीय प्रणाली अनुरुप प्रादेशिक तथा स्थानीय तहको सशक्तिकरण गर्दै परिवार योजना सेवा प्रणालीको पुनःसंरचना गर्ने।
४. विद्यालयको पाठ्यक्रममा अनिवार्य रुपमा बृहत्तर यौनिकता शिक्षा समावेश गर्न पैरवी गर्ने।
५. स्थानीय तथा प्रादेशिक सरकारको साझेदारीमा देशैभरी विद्यालय नर्समार्फत प्रजनन स्वास्थ्य सेवाको सुरुवात गर्ने।
६. परिवार योजना सेवामा सबैको पहुँच सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रका निजी संस्थाहरुसँगको प्रभावकारी साझेदारीमा सेवाको विस्तार गर्ने।
