काठमाडाैं- एमबिबिएस अध्ययनरत विद्यार्थीबाट तोकिएको भन्दा बढी लिएको रकम गण्डकी मेडिकल कलेजले ३० दिन भित्र रकम फिर्ता गर्ने भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री गिरीराजमणि पोखरेलसहित शिक्षा सचिव, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिष्ट्रार, आइओएमका डिन, गण्डकी मेडिकल कलेजका सञ्चालक र विद्यार्थी संघसंगठनबीच शिक्षा मन्त्रालयमा बसेको छलफलमा पैसा फिर्ता गर्ने सहमति भएको हो।
त्यसैगरि विद्यार्थीहरुको एकेडेमीक कार्यतालिका तलमाथी नहुनेगरि फर्म भराई परिक्षा गराउने,आन्दोलनरत गण्डकी कलेजका विद्यार्थी उपर कसैले पनि कुनै पुर्बाग्रही मानसिकताले नहेर्ने, आवस्यकता महशुस भए सरकारद्वारा सुरक्षा प्रबन्ध मिलाउने तथा अनेरास्ववियु अखिल क्रान्तिकारि र स्वतन्त्र बिद्यार्थी युनियन महाराजगन्ज क्याम्पसद्वारा लगाईएको तालबन्दी फिर्ता गर्ने समेत सहमति भएकाे छ।
विद्यार्थीको परीक्षा नियमित रुपमा सञ्चालन गर्ने र अदालती प्रक्रिया जारी राख्ने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए। गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले सरकारले तोकेकोभन्दा बढी शूल्क लिएको विरोधमा आन्दोलन गरेका थिए भने कलेज विरुद्ध ठगी मुद्दासमेत दायर भएको थियो। विद्यार्थीसँग ४२ लाख रुपैयाँमात्र लिनुपर्ने ठाउँमा सो कलेजले ५२ लाख लिएको थियो।
उनीहरु उक्त अवैधानिक रुपमा असुली भएको रकम फिर्ता हुनुपर्ने माग गर्दै गत माघ १७ गते देखि कलेजमा तालाबन्दी गर्दै आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा उनीहरुले कलेज परिसरमा रिले अनशस बसेका थिए ।
सो क्रममा प्रहरी हस्तक्षेपसमेत भएको थियो। विद्यार्थीहरुले शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्क पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल,भौचर तथा रसिद उपलब्ध गराउनुपर्ने उनीहरुको माग थियो।
उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले ४२ लाख ४२ हजार शुल्क तिर्नुपर्ने सरकारी प्रावधान छ। तर, विद्यार्थीले ५५ लाख सम्म तिर्नुपरेको उनीहरुले दर्ता गरेको जाहेरीमा उल्लेख छ। गण्डकी मेडिकलसँगै ग्वार्काेस्थित किष्ट मेडिकल कलेजले पनि ताेकिएकाेभन्दा बढी रकम लिएकाे एमबिबिएस अध्ययनरत विद्यार्थीले बताएका छन् ।